राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रमुख पदमुक्त

राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रमुख पदमुक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई आज पदमुक्त गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषदको आज (१७ कात्तिक) को निर्णयअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१)को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ज्ञातव्य छ, प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ (धनकुटा), प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ (काठमाडौं), प्रदेश ३ मा अनुराधा कोइराला (काठमाडौं), गण्डकी प्रदेशमा बाबुराम कुँवर (अर्घाखाँची), प्रदेश ५ मा उमाकान्त झा (धनुषा), कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ल (कैलाली) प्रदेश प्रमुखको रुपमा काम गर्दै आएका थिए ।

यसैबीच नेपाली कांग्रेसले सातैवटा प्रदेश प्रमुख एकाएक बर्खास्त गरेर सरकारले द्वन्द्व सिर्जना गर्न खोजेको प्रतिक्रिया दिएको छ । सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले पूर्वाग्रही भएर यो निर्णय गरेको र यस निर्णयले राजनीतिक द्वन्द्व बढाउन सक्ने बताएका हुन् ।