यमनमा युद्धरत हुथी विद्रोहीले कम्तीमा चार हजार सुडानी सैनिक मारिएको दाबी गरेका छन् ।
साउदी नेतृत्वको गठनबन्धनमा रहेर हुथीविरुद्ध लड्दै आएका सुडानी सैनिक मारिएको हुथीका एक सैनिक प्रवक्ताले शनिबार जानकारी दिएका छन् । उनका अनुसार यो संख्या सन् २०१५ देखि अहिलेसम्मको मात्रै हो ।
‘लडाइँका क्रममा हाम्रा सेनाले सयौँ सुडानी सेनालाई नियन्त्रणमा लिएको छ,’ हुथी विद्रोहीले सञ्चालन गरेको अल मसिराह टेलिभिजनसँगको कुराकानीमा हुथी सैन्य प्रवक्ता यह्या सरेयले बताए ।
हुथी विद्रोहीको दाबीबारे सुडानी सरकार तथा गठनबन्धनको तर्फबाट भने कुनै जानकारी दिइएको छैन ।
सुडानले साउदी गठबन्धनलाई सहयोग गर्न सन् २०१५ देखि यमनमा सैनिक पठाएको छ । यस युद्धका क्रममा दशौँ हजार नागरिक मारिएका छन् भने दुई करोडभन्दा धेरै यमनी भोकमरीमा परेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएका छन् ।
यमनका लागि राष्ट्रसंघका विशेषदूत मार्टिन ग्रिफिथले सन् २०१८ मा युद्धरत पक्षहरूबीच स्टकहोममा भएको शान्ति सम्झौता कार्यान्वयन गर्न साउदी सरकार र हुथी विद्रोहीबीच निरन्तर सम्पर्क स्थापित गर्न प्रयास भइरहेको जानकारी दिएका छन् ।
रासस–सिन्ह्वा
प्रतिक्रिया