अष्ट्रेलियालीमा मानसिक समस्याको विकराल अवस्था !

अष्ट्रेलियालीमा मानसिक समस्याको विकराल अवस्था !


हरेक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब दश लाख अष्ट्रेलियालीले उपचार नै नगराउने गरेका एक पछिल्लो अनुसन्धानमा देखिएको छ ।

यी मानसिक स्वास्थ्यका बिरामीहरु उपचार नगराइ बस्ने गरेको रहस्य पनि सो अनुसन्धानबाट पत्ता लागेको सम्बद्ध अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले खुलासा गरेको छ ।

प्रोडक्टिभीटी कमिसन नामक एक संस्थाको अनुसन्धानबाट मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिए पनि बर्सेनी यति ठूलो संख्याका अष्ट्रेलियालीले उपाचार नै नगराएको पाइएको हो ।
अनुसन्धान अधिकारीहरुका अनुसार अष्ट्रेलियामा अहिले पनि करिब ४० लाख मानिस मानसिक स्वास्थ्यको समस्याबाट पीडित छन् ।

उनीहरुमा कतिपयमा गम्भीर प्रकृतिको मानसिक रोग छ भने केहीमा डिप्रेसन, मानसिक त्रास, चिन्ता लगायतका समस्या रहेको पाइएको छ । यी बिरामीहरुमध्ये करिब ३० लाख नागरिक स्वास्थ्य उपचारका लागि पहूँचमा रहने गरेका छन् । उनीहरुलाई उपचारको पहूँच हुने गरेको बताइएको छ ।

अष्ट्रेलियामा मानसिक स्वास्थ्यको उपचार खर्चमा पनि भारी मात्रामा बृद्धि भइरहेको छ । न्यून स्वास्थ्य बजेटका कारण पनि उपचारको पहूँचसम्म मानिस पुग्न नसकेको उक्त अनुसन्धानबाट पत्ता लागेको छ ।

अनुसन्धानका अनुसार हरेक दिन कम्तीमा पनि ३४ करोड ५० लाख अमेरिकी डलर बराबरको खर्च मानसिक स्वास्थ्य समस्याको उपचारमा लाग्ने गरेको छ । यो खर्च महँगो भएकोले स्वास्थ्य उपचारसम्बन्धी नीतिमा परिमार्जन गर्नुपर्ने सुझाव पनि उक्त अनुसन्धान प्रतिवेदनले दिएको छ ।