जीवन… बुझिनसक्नु !

खल्लो दशैं–तिहार, सङ्क्रमित गैरआवासीय नागरिक, धुमिल ब्रेक्जिट र अन्योल जीवन



■ प्रकाश केसी, लण्डन

…अनि दशैँ, त्यसपछि तिहार सकियो । यो वर्षको लागि दशैं र तिहार, क्यालेण्डरमा रातो रङ्गले कोरिइसकिएको छ । एउटा स्वघोषित उत्साह बोकेर, एउटा पारम्पारिकताको धरोहर धान्नु पर्दछ भन्ने भावनालाई निरन्तरता दिने प्रण, एउटा अलिकति भए पनि बाल्यकालको मीठो सम्झनामा अड्किएको मिठास र त्यसपछि पनि सँगालेर राखिएको चाडपर्वानुसारका रहरहरूले भर्खरै सबैको मनबाट यो वर्षको लागि विश्राम लिएको छ । शरदीय पवनमा अब ज्यादा स्याँठ थपिएको छ र त्यसले मन र शरीरलाई चिस्याएको छ, लाग्दछ ।

भर्खर उठेको छु, कुनै नयाँ दृढता र अभियानको लागि होइन, राम्ररी निन्द्रा नलागेर वा छटपटाएर भर्खर उठेको छु । बाहिर झलमल्ल घाम लागेको छ । घाममा शरीरलाई सेक्याउन सक्ने किसिमको ताप छैन, तथापि, खासगरी जाडोको महिनामा देख्न मुस्किल पर्ने नीलो फराकिलो आकाशमा लाग्ने चोख्खो घाम र त्यसले उज्यालेर लण्डनको आकाशलाई खोलेको पल यहाँ मानिसका अनुहारमा खुशीको नयाँ तेजिलो चमक चम्किन्छ, र स्वतः मेरो अनुहारमा त्यसरी चम्केको अनुभव गर्दैछु । त्यही चमकलाई चम्क्याउँदै घरबाहिरको गार्डेनमा उभिन्छु ।

सयपत्री फूल पँहेलिएर झमक्कै फुलेको छ । त्यो फूल, यो गलामा नपहिरिएको दशकौँ भएको छ । त्यसरी निधारमा सप्तरङ्गी टीका र गलामा मालाबाहेक, टाढा रहेका दिदीवहिनीहरूसँगको नातागत भावानात्मक सम्बन्धहरू चिसिएका भने होइनन्, तर फेसबुकमा पनि हामीहरूबीच दशैंतिहारको शुभकामनाहरू साटिँदैनन्, साटिएका छैनन् र अहिले सोच्दैछु, यो अनौठो हो, नेटको माध्यमले सेकेण्डमा जोडिन सकिने निरन्तरताहरू पनि सुचारु भएका रहेनछन् । म अफापिलो भएको हुँदो हुँ अनि त्यो अर्थले मेटिएको हुँदो हुँ । जे होस्, तथापि हामी छौँ, हाम्रा चाड–पर्वहरू अझै पनि जुन आगामी सालहरूमा पनि निरन्तर होलान्, सम्बद्ध होलान्, मौलिक नरहलान्, त्यो कुरा अर्कै, तर हामी अनि हाम्रा भोग र चलनहरूमा चाडपर्वहरू हुने नै छन् । जस्तै म छु, भाइ र दिदीबहिनीहरू परिवारसहित छन्, सिर्फ अभिभावहरू छैनन्, भौगोलिक सीमाको दूरतासँगै पनि ।

दाइँ गर्ने क्रममा मीयोको वरिपरि गोरुहरू घुमेको जस्तै गरी, बाबाआमाको उपस्थितिमा जीविकोपार्जनको क्रममा घुमिरहेका हुँदा हुन् छोराछोरीहरू । स्वतः एकआपासमा आवद्ध परिवार, त्यही मीयो अर्थात् बाबाआमाको अनुपस्थितिमा तितरबितर हुँदा हुन्, भएका हुन् या हुनसक्ने आभास लागेको होस् । बाबाआमाको यस संसारमा भएको उपस्थितिको अभावमा योपालि मेरो, हाम्रो परिवारको दशैं अनि तिहार धेरै–धेरै उदास भएर बितेर गयो । हाम्रोमा यता हामी मात्र रह्यौँ, कुनामा कतै जमरा फुलेनन्, अक्षताहरू रंगिएनन्, एकतमास दशैँ अँध्यारिएर बिताउँदा, लाग्यो म अझै त्यो तेह्र दिनभित्रझैँ कुना बसेको छु र त्यही कुना बस्दै गर्दै अन्यका खुशियालीका विज्ञापनहरू तिनका फेसबुक तथा इन्स्टाग्रामबाट हेर्दैछु । यस्तो महसुस गर्दैछु, सबैले एकैपटक सँगसँगै गिज्याएका छन् । तर त्यो पक्कै होइन ।

देश छोडेको २२ वर्ष बितिसकेको छ । नजन्मिएका केटाकेटीहरूले एक अर्थमा देश हाँकिरहेका छन्, हामीले छोडेको कुनाबाट अनि हामीले नभोगेका कुनाहरूबाट तिनीहरूले देश भोगेका छन्, जीवन धानेका छन् । कहिलेकाहिँ अनौठो लाग्छ, जीवनको यत्ति ठूलो भाग देशबाहिर बिताएको अनुभव भोग्दा । मानसपटलमा अड्किएको उही बाल्यकालको सम्झनाको धरोहरले धानेको छ नेपालको भोग । काठमाडौं, पोखरा, बुटवल वा धरान आदिका विकसित स्वरुप अनि जीवनशैलीले म र मेरोजस्तै अवधिले बाहिरिनेहरूका मनमा संग्रहित भएको नेपाल भोगलाई विस्थापित गर्न अझै सकेको छैन र सायदै सक्ला पनि । सो भावलाई, दशैँ र तिहारको उत्सवको सम्झनालाई अहिले बहिस्कार गर्ने, नमान्ने, धर्म परिवर्तन गरेर बेग्लै हुने अनि आधुनिकरण गरेर विकसित स्वरुपको दशैं तिहार मान्नेहरूको रमझमले मेटाउन सक्दैन ।


हामीहरू अझै पनि दशैंका लागि रातो माटो, बाबियो र कमेर खोज्न धेरै टाढा हिँडेको सम्झन्छौँ । रातो माटो र कमेरो लगाएर आ–आफ्नो घरलाई सिँगार्ने प्रतिस्पर्धा गरेको सम्झन्छौँ । दशैंको पिङको लागि भनेर घर–घरमा दुई–तीन मुठा बाबियो संकलन गर्न हिँडेको र त्यसरी गाउँको एक घरमा जम्मा भएर पिङको लट्ठा तयार गर्दा रमाइलो गरेको सम्झन्छौँ । दशैं तिहारको लागि सबै मिलेर सार्वजनिक स्थानहरू, बाटो तथा धाराहरूमा सरसफाइ गरेको सम्झन्छौँ । अझै पनि पहेँलो जमरा कानभरि अनि निधारभरि अक्षताहरू नयाँ लुगाको साथमा लगाएर पिङ खेल्न गएको सम्झन्छौँ र अझै त्यो नयाँ लुगाको सुगन्धलाई महशसुस गर्दछौँ । दिदीबहिनीहरूले लगाइदिएका सप्तरंगी टीका र गलाभरि माला बोकेर झण्डीबुर्जा खेलेको सम्झन्छौँ र साथमा सेलरोटीको स्वादिलो स्वादको अनुभव गर्दछौँ । यो बाईस वर्षको अवधिले अझै मेट्न नसकेको सम्झना योपालि एक्कासी धमिलिएको छ । मीयोबिना सर्वत्र फैलिरहेका दाइँका गोरु भएको ठान्दछु आफूलाई अचेल । पारम्पारिकताको अभावमा उश्रृङ्खल बन्दै गएको आधुनिक चाडपर्वहरू देख्दछु, समाजमा समान र सगोल व्यवस्था हराएर अव्यवस्थित अनि असमान समाज भएको लाग्दछ, वा ठान्दछु यस्तै ।

देशबाट बाहिरिएर गैरआवासीय नागरिक बनेकाहरूका चर्तिकलाहरूको पनि भुक्तभोगी भर्खरै बनेको छु । पचास–साठी लाख गैरआवासीय नेपालीहरूको एउटा ध्वाँस मात्र लगाएको लाग्दछ मलाई हाम्रा अर्थात् गैरआवासीय नेपाली संघका नेतृत्वकर्ताहरूले । वर्षौं विदेशिएर पनि तदनुरुप नभएका लाग्ने हाम्रा नेतृत्वहरूका मानसकिताले म यता आक्रान्त महसुस गर्दछु । गैरआवासीय नेपाली संघको उत्पत्ति एनआरआईकै सिकोको लागि मात्र भएको भान हुने गरेर हतारमा बनाइएको लाग्दछ । सही अनि सामर्थवान नेतृत्वको अभावमा पैसाले नै प्रवुद्धता दिन्छ भन्ने सोच, संस्थामा विद्यमान भएको लाग्दछ, त्यसैले संस्थाको मूल नारा तथा मर्ममा एकरुपको अडान कसैसँग भएको लाग्दैन । दुई वर्षमा एकपटक नेपालमा हुने चुनाव भनेको आम नेपालीहरूमाझ, हामी विशिष्ठ तथा धनी नेपालीहरू हौँ, हामीले प्रत्यक्ष नेपाल सरकारसँग उठबस गर्न सक्छौँ भन्ने खालका मात्र भावना राखेका लाग्ने विदेशिएका नेपालीहरूको जमघट होजस्तो लाग्दछ । त्यो तब ज्यादा दयनीय लाग्दछ जब, सो जमघटका लागि भनेर हङकङ, कतार, मलेसिया, दुबई आदिबाट अझै पनि नेपाली पासपोर्टको निरन्तरता दिनेहरू पनि भेला हुन तम्सिन्छन् ।

एक निश्चित अवधिबाट नेपाल छाडेका ती नेपालीहरू जो अर्को देशको कानूनअनुसार त्यहाँको नागरिक बनिसकेका हुन्छन्, हरूले एकपटकको नेपाली, सँधैको नेपाली भन्ने नारा राख्नु जायज होइन, म ठान्दछु । वास्तवमा गैरआवासीय नेपाली नागरिक भन्ने परिभाषालाई नै सच्याउन पर्दछ, जति नै वर्ष बसे तापनि नेपाली पासपोर्टको प्रयोगमा निरन्तरता ल्याउने तर अन्य देशको पीआर वा सो देशमा बस्न पाउने अधिकार बोक्ने र सो देशको नागरिकता लिई पासपोर्ट बोक्नेबाहेकहरू कुनै पनि हालातमा गैरआवासीय नेपाली नागरिक होइनन्, बनाइनु अनि भनाइनु हुँदैन । पीआर वा सो देशमा बस्न पाउने अधिकार बोक्नेहरूले नेपाली पासपोर्ट बोकेर नेपालमा नेपालीहरूसरह त्यहाँको सहुलियतहरूको हकदार बन्नलाई रोक लगाउनुपर्दछ जसको लागि राजनैतिक अधिकार बाहेकको गैरआवासीय नेपाली नागरिकताको विधेयकलाई कानूनअन्तर्गनको कार्यान्वयनमा पास गराउनतर्फ सम्वन्धितहरू लाग्नु पर्ने देखिन्छ नत्र, पार्टीगत, नातागत, जातिवादी, क्षेत्रवादी समूहहरूको संलग्नतामा आधारित गैरआवासीय नेपाली संघमा योपालि देखिएको खुल्लमखुल्ला राजनीतिक छापको चर्को चरणहरू देख्नुपर्ने हुन्छ ।

दशैं–तिहारको अनि त्यसले सँगालेको सम्झना र यही वर्षमा मैले गुमाएका अभिभावकहरूको अनुपस्थितिमा गुज्रेको पर्वहरूको प्रसंग ल्याउँदा पनि बेलायतमा गत साढे तीन वर्षबाट जेलिएर रहेको ब्रेक्जिटले ल्याएको तरङ्ग छुटाउन सकिने खालको छैन । सन् २०१९ को मार्चको २९ तारिखबाट ईयूबाट अलग हुने भनेको बेलायतले ब्रेक्जिटको दोस्रो म्याद अर्थात् यही वर्षको नोभेम्बर ३१ पनि टारेको छ । यसरी मुलुकमा अनिश्चितता ल्याउने अवस्थाको मुख्य कारकको रुपमा रहेको सांसदहरूको अन्तिम निक्र्योल भने अब यही वर्षको डिसेम्बर महिनामा हुने आम निर्वाचनले गर्ने भएको छ ।

म बरु मर्न तयार छु तर फेरि ब्रेक्जिटको लागि म्याद थप्न तयार हुने छैन भन्ने प्रधानमन्त्रीलाई संसदले वाध्य बनाएर म्याद सार्न लगाएको छ भने उनले पनि सांसदहरूलाई वाध्य बनाएर निर्वाचनमा जान लगाएका छन् । एउटा अर्को ठूलो तर सही किसिमको राजनीतिक चाल चालिएको छ बेलायतमा । यदि आउने निर्वाचनमा ईयूभित्र रहने सोँच बोक्ने बेलायती जनताहरूले सोही अनुरुपका आफ्ना नेताहरूलाई पठाए भने, ब्रेक्जिट नै नहुने सम्भावनाहरू एकातिर छन् भने अर्कोतिर, बेलायती आम नागरिकहरूलाई देशको वर्तमान हालातको जिम्मेवार सोही ईयूसमर्थक सांसदहरू भएकाले तिनको सफाइ गरी ब्रेक्जिटवालालाई बाटो खुल्ला गरिदिने आश अर्को पक्षलाई लागेको स्पष्ट देख्न सकिन्छ, जो अब तिनका प्रयासहरू र सोको नतिजाले यही वर्षभित्रै देखाउने पक्का छ ।

भर्खरै, यही भाइटीकाको दिनमा, मेरो एकजना परिचितले जिउनदेखि हात उठाएका छन् । रातको आठ बजेको नेपाल उड्न थालेका ती परिचितले झुण्डिएर आत्महत्या गरेका छन् । पारम्परिक रुपमा नेपाल गएर विवाह गर्ने विचारले उड्न थालेका ती व्यक्तिको जीवनप्रतिको मोह अनायासै कसरी टुट्यो होला ? कसरी अचानकै त्यसरी जीवनसँगको मोह भङ्ग हुन्छ होला ? अर्को झोला लिन गएका ती परिचित, केही मिनेटपछि झुण्डिएको हालतमा फेला परे । अन्यन्तै सोंझा र सरल देखिने तिनले आफ्नो मनभित्र कति धेरै पीडाहरू सँगालेर हिँडेका रहेछन् ?

आत्महत्या गर्नु पक्कै नै कायरता हो । उनको बिरामी हालातको आमाको अब कस्तो हाल रहला ? नयाँ जीवनको नयाँ उर्जाशील सपना बुन्न थालेकी श्रीमतीको हालत कस्तो रहला ? आफन्तहरूका मनमा कस्तो गहिरो टीस बस्ला ? उनलाई उनको कुनचाहिँ सोँचले गाल्यो आखिरमा ? मनभरि केही अनौठो मनाभास फैलिन थालेको छ । जीवन वास्तवमै सोँचे, काटेर काट्न नसकिने लामा अनि अनकण्टार पट्यारलाग्दो यात्रा हो भने क्षणभरकै विश्रान्ती पनि हो । बुझिनसक्नु छ जीवन । साँच्चै ।

प्रतिक्रिया