साग तयारीका लागि फेन्सिङ टोली थाइल्यान्डमा

साग तयारीका लागि फेन्सिङ टोली थाइल्यान्डमा


नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई लक्षित गर्दै नेपाली फेन्सिङ टोली थाइल्यान्डको बैङ्कक पुगेको छ । थाइल्यान्ड रहँदा टोलीले एक प्रतियोगिता खेल्नेछ । त्यसपछि प्रशिक्षणमा सहभागी हुने कार्यक्रम छ । प्रशिक्षण नोभेम्बर ५ देखि २० तारिखसम्म चल्ने छ ।

नेपाली खेलाडीले नोभेम्बर १ देखि ३ तारिखसम्म हुने चुलालङ्कन युनिभर्सिटी ओपन फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छ । खेलाडीहरूमा ओमकार, दीपेन्द्र विष्ट, सागर थापा, जलिन्द्रबहादुर शाही, राजनराज खड्का, ज्ञानेन्द्र तिमिल्सिना, अमित भण्डारी, राजेन्द्र गजुरेल, पायास योञ्जन, गोमा आचार्य, अन्जु तामाङ, अनिता अधिकारी, रमा सिंह, कमला श्रेष्ठ, अस्मिता श्रेष्ठ, शिक्षा नापित, रविना थापा, इन्दिरा पौडेल, जानुका स्याङतान, अनिता कार्की, राजेन्द्र श्रेष्ठ, राकेश महर्जन, दिनेश पाण्डे र सीता पाठक रहेका छन् । प्रशिक्षकमा अभिषेक कार्की, सन्जिप लामा र जंग गिरी तथा टिम व्यवस्थापकमा अनुप कपाली छन् ।

खेलाडीमध्ये जलिन्द्र र इन्दिराले प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । दुवै हाल वल्र्ड मिलिटरी गेम्सका लागि चीनमा छन् । प्रशिक्षणमा भने उनीहरु सहभागी हुने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरेका थिए ।

सो अवसरमा नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठले सागमा व्यक्तितर्फ स्वर्ण, रजत र कांस्य जित्नेलाई क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे । त्यस्तै टिममा स्वर्णलाई २ लाख, रजतलाई १ लाख र कांस्यलाई ४० हजार दिने प्रतिबद्धता जनाए ।