विश्वेन्द्र कारोबारी नै हुन्

विश्वेन्द्र कारोबारी नै हुन्


गत अङ्कमा घटना र विचार साप्ताहिकमा ‘पासवानमाथि अर्को आरोप’ शीर्षकको समाचार प्रकाशन भएपछि दलित जनजाति पार्टीका तर्फबाट संविधानसभाको निर्वाचनमा सप्तरीको कुनै क्षेत्रबाट उम्मेदवार भएका तथा दलित जनजाति पार्टीको केन्द्रीय सदस्यसमेत रहेका ‘राम’ थरका व्यक्तिले फोन सम्पर्क गरी भने, ‘अध्यक्ष विश्वेन्द्र पासवानले चुनावी खर्च भनेर मलाई पनि २० हजार भारु दिएका थिए । चुनाव प्रचार-प्रसार गर्ने क्रममा चलाउन खोज्दा त सो रकम नक्कली पो निस्कियो । त्यसपछि डरले मैले हजार र पाँच सयका एक-एक थान नोट नमुनाका लागि राखेर अरू सबै जलाइदिएँ । केही महिनाअघि पार्टीभित्र विवाद हुँदा मैले सो नक्कली भारुबारे सार्वजनिक गरिदिन्छु भन्दा पासवानले तराईका भूमिगत समूहका सुटर लगाएर मारिदिन्छु भनी धम्क्याएको हुँदा ज्यान जाने डरले त्यतिबेला कसैलाई भन्न सकिनँ । तर, प्रशासनले मलाई सुरक्षाको ग्यारेन्टी दिन्छ भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न तयार छु । मलाई जस्तै अरू उम्मेदवार साथीलाई पनि चुनाव खर्च भनेर विश्वेन्द्रले नक्कली भारु दिएका रहेछन् । तर, विश्वेन्द्रबाट जुनसुकै बेला जे पनि हुन सक्ने डरले उनीहरू पनि सो खुलासा गर्न डराउँछन् ।’
पङ्क्तिकारसँग रौतहटका पासवान थरका अर्का एक परिचितले पनि फोनमा यस्तै कुरा गरेका थिए । संविधानसभाको निर्वाचनमा दलित जनजाति पार्टीका तर्फबाट सप्तरीमा ‘राम’ थरका तीनजना र रौतहटमा ‘पासवान’ थरका तीनजना उम्मेदवार रहेका थिए । तीमध्ये सबैजसो व्यक्ति विश्वेन्द्रमार्फत नक्कली आईसीको सिकार बनिसकेको कुरा पत्रपत्रिकामार्फत सार्वजनिक भइसकेको छ ।
पासवानको सम्बन्ध ठमेलको गो-श्वा-आट वरिपरि सेल्टर बनाई नक्कली भारु. कारोबार गर्ने कास्मिरी पृथकतावादी समूहहरूसँग रहेकोे बुझिन्छ । पासवान बेला-बेलामा हुलिया परिवर्तन गरेर उनीहरूसँग भेटघाट गर्ने गर्दछन् । साथै भारत सरकारले नक्कली भारुको कारोबार गर्ने भनी कालोसूचीमा राखेका वीरगन्ज र कलैयातिरका अन्सारी थरका व्यक्तिहरूसँग पनि पासवानको गोप्य सम्बन्ध रहेको उनकै पार्टीका एक केन्द्रीय सदस्य दाबी गर्छन् । विराटनगरका देखावटी रूपमा पाकिस्तान छाला सप्लाई गर्ने मुस्लिम समुदायका नक्कली भारुका कारोबारीका साथै महोत्तरी र नेपालगन्जका नौसाद र हुसेन थरका नक्कली भारुका कारोबारीसँग पनि पासवानको गोप्य सम्बन्ध रहेको बुझिन्छ । त्यसैगरी सिराहाको सीमाभन्दा ४० किलोमिटर दक्षिण बिहारमा रहेका आफ्ना जेठान र सालाहरूमार्फत पनि उनले नक्कली भारुको कारोबार गर्दै आएका छन् भने पार्टीभित्रका आफ्ना पक्षधर र्सलाही र गोरखाका केन्द्रीय सदस्यलगायत केही बफादार कार्यकर्तालाई नक्कली भारुको कारोबारमा प्रयोग गर्ने गरेका छन् ।
– चन्द्रकिशोर यादव, सिराहा
शान्तिसचिवको नतिजामा प्रधानमन्त्रीको चासो ?
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जिल्ला शान्तिसचिवको नतिजा समयमै सार्वजनिक गर्न नसक्नुको अपजश प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि थोपरेको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा कार्यरत फणीन्द्र देवकोटाले प्रधानमन्त्री भट्टराईको नाम लिँदै रिजल्टमा हेरफेरको माग गरेपछि सो स्थिति आएको बताइन्छ ।
शान्ति तथा पुनर्निर्माणमन्त्री फम्फा भुसाल हुँदा लिइएको जिल्ला शान्तिसचिवको परीक्षाको रिजल्ट यतिबेलासम्म भइसक्नुपर्ने थियो । मन्त्रालय स्रोतले समयमै मन्त्री नपाउनुलाई उल्लेख गरेर टारे पनि स्थायी सरकारको रूपमा कार्यरत मन्त्रालयका सचिवको रोहवरमा परीक्षाको परिणाम सार्वजनिक गर्दा हुने काम पनि हुन सकेको छैन । स्रोतका अनुसार प्रधानमन्त्रीको गृह-जिल्लानिवासी देवकोटाले पटक-पटक शान्ति मन्त्रालयका सचिवलाई फोन गरी परिणाम हेरफेर गर्न दबाब दिँदै आएका छन् । शान्ति मन्त्रालयका सचिव ध्रुव पौडेल सो दबाबका कारण के गर्ने, के नगर्ने अवस्थामा पुगेको चर्चा मन्त्रालयभरि चलेको छ । शान्तिसचिवका लागि अन्तर्वार्ता लिन जाने अधिकारीहरूबीच सो चर्चा चल्न थालेको छ । सो प्रसङ्गमा एकजना अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यो दबाबले प्रधानमन्त्रीको सुशासन र राहत दिने अनुहार पनि देखियो, प्रधानमन्त्रीको आसेपासेहरूको चरित्रले खुट्टी हेरी चाल पाइयो भनेजस्तै भयो ।’
शान्तिसचिवका लागि लिइएको अन्तर्वार्ताको परिणाम सार्वजनिक गर्नका लागि लाहाछाप लगाएको खामबन्दी पत्र अहिलेसम्म खोलिएको छैन । अन्तर्वार्तामा प्राप्त अङ्कको आधारमा परिणाम सार्वजनिक गर्नुपर्नेमा प्रधानमन्त्री कार्यालयबाट अनुचित दबाब आएको कारण सार्वजनिक हुन सकेको छैन । सो परिणामको पर्खाइमा पचहत्तरै जिल्लाका परीक्षार्थीले दिनदिनै मन्त्रालय धाउन थालेको पनि बताइन्छ ।
– जनक शर्मा