बेलायतको लेबर पार्टी डिसेम्बरमा निर्वाचन गराउन सहमत

बेलायतको लेबर पार्टी डिसेम्बरमा निर्वाचन गराउन सहमत


प्रधानमन्त्री बोरिस जोनसनले गरेको आह्वानअनुरुप बेलायतको प्रमुख प्रतिपक्षी लेबर पार्टी डिसेम्बरमा निर्वाचन गर्नका लागि सहमत हुने देखिएको छ । प्रधानमन्त्री जनेनसनले डिसेम्बरमा निर्वाचन गर्नका लागि पहल थालेको बताइए पनि मिति भने तय गरिएको छैन ।

लेबर पार्टीका नेता जेरमी कोर्बिनले यूरोपेली यूनियनबाट बेलायतको बहिर्गमनका लागि थप तीन महिनाको मिति बढाउन इयू सहमत भएको अवस्थामा आफ्नो दलले निर्वाचनमा जान तयार हुने सङ्केत गरेका एएफपीले जनाएको छ ।

ब्रेक्जिटका लागि थप समयको माग आफ्नो पार्टीको नीतिअनुरूप भएको र यसबाट अस्तव्यस्त अवस्थामा मुलुकले बहिर्गमनमा जानुपर्ने अवस्था टरेकोले आफूहरू निर्वाचनमा सहभागी हुने नेता कोर्बिनले बताएका हुन् ।

बेलायतले अहिलेसम्म अनुभव नगरेको वास्तविक परिवर्तनका लागि आफूहरुले अति महत्वाकांक्षी तथा सुधारवादी अभियानमार्फत् कार्यक्रम सार्वजनिक गर्ने उनले बताएका छन् ।

यसअघि समयअगावै आमनिर्वाचन गराउने प्रस्ताव पारित गराउन बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन असफल भएका थिए ।

बेलायतको तल्लो सदन हाउस अफ कमन्सले अग्रिम निर्वाचनसम्बन्धी प्रधानमन्त्री बोरिसको प्रस्ताव मङ्गलबार अस्वीकृत गरेको थियो । प्रधानमन्त्री जोनसोनले डिसेम्बर १२ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए । संसदमा भएको मतदानमा प्रधानमन्त्रीको प्रस्तावको पक्षमा २९९ मत मात्र परेको थियो । प्रधानमन्त्रीको प्रस्ताव पारित हुनका लागि कुल ४३४ मत आवश्यक पर्नेमा २९९ मत मात्र परेको र उनको प्रस्तावको विपक्षमा ७० मत खसेको थियो ।

मतदानअघि संसमाद बोल्दै प्रमुख प्रतिपक्षी नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री जोनसोनलाई विश्वास गर्न नसकिने बताएका थिए । प्रधानमन्त्री जोनसोनले यसअघि युरोपेली सङ्घका नेताले बेलायत ईयूबाट बाहिरिने ब्रेक्जिटको समयसीमालाई आगामी जनवरी ३१ तारिखसम्मका लागि लम्बाउन सैद्धान्तिक सहमति दिएको सार्वजनिक भएको थियो ।

कुनै सम्झौता भए या नभए पनि ३१ अक्टोबरको समयसीमाभित्रै ईयूबाट बेलायत बाहिरिसक्ने दाबी गर्दै आएका प्रधानमन्त्री जोनसनले नयाँ ब्रेक्जिट प्रस्तावमा बेलायतको संसदमा सहमति जुट्न नसकेपछि समयसीमा लम्बाउन ईयूलाई अनुरोध गर्न बाध्य भएका थिए ।