मन भन्छन्- ‘मनलगाएर दायित्व निर्वाह गर्नेछु’

मन भन्छन्- ‘मनलगाएर दायित्व निर्वाह गर्नेछु’


■ राजन घिमिरे, सिड्नी

यसपटकको दशैँ र तिहार मन केसीको जीवनमा नयाँ हौसला, जाँगर र उत्साह लिएर आयो । यसपटक दशैँ र तिहारबीचको एक महिना अवधि उनको जीवनमा विशेष र उल्लेखनीय रह्यो ।

एक महिनाअघि दशैँ मनाउन अष्ट्रेलियाबाट जन्मभूमि नेपाल पुगेका उनको तिहार मनाउन कर्मभूमि सिड्नी आइपुग्दा परिचय र जिम्मेवारी नै फेरिएको थियो ।

हुन त अष्ट्रेलियाको प्रवासी जीवनमा मन केसीले राम्रो पहिचान बनाएका छन् । यहाँको नेपाली समाज र परिवेशमा मनको उपस्थिति साँच्चै ‘वाह..’ गर्न लायककै छ। थुप्रै समय गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अगुवा भएर मनले यो सामाजिक अभियानलाई राम्रैसँग डोऱ्याए ।

अब भने उनी अष्ट्रेलियाको मात्र रहेनन्, समग्र गैरआवासीय नेपाली संघको साझा व्यक्तित्वव बन्न पुगे।

काठमाडौंमा हालै सम्पन्न संघको नवौँ अधिवेशनबाट उपाध्यक्षको जिम्मेवारी हात पारेपछि मन केसी प्रवासमा रहेका सबै नेपालीको आधार बन्न पुगेका छन् । ‘यो सफलतासँगै बढेको जिम्मेवारीका साथ तिहार मनाउन पाएको छु । मलाई विश्वास गरेर मत दिनुहुने र यो अभियानमा हिँड्नुभएका सबैमा तिहारको शुभकामना दिन चाहन्छुु’ – सिड्नीमा भेटिएका गैरआवासीय नेपाली संघका नवनिर्वाचित उपाध्यक्ष केसीले भने ।

‘गैरआवासीय नेपाली संघलाई बृहत बनाउन या विस्तार गर्न अष्ट्रेलियामा रहेका नेपालीहरुको योगदान, सहभागिता र सक्रियताको काठमाडौंमा सम्पन्न नवौं अधिवेशनमा पनि खुलेरै तारिफ गरिएको थियो भने यता संघमा पूर्वअध्यक्ष शेष घलेपछि माथिल्लो पदमा पुग्ने मन केसी अष्ट्रेलियानिवासी दोस्रा नेपालीमा पर्दारहेछन्, हामी अष्ट्रेलियामा रहने प्रवासी नेपालीहरूका लागि यो गौरवको कुरा हो। हामीले गुनासो र पीडा सिधै भन्ने ठाउँ पाएका छौँ’, सिड्नी निवासी राजेश शाक्यले भने ।

‘एनआरएनए असी लाख प्रवासी नेपालीको साझा छहारी हो, यसले प्रवासी नेपाली सबैको आवाज सुन्छ र उनीहरूको घाउमा मलहम लगाउने प्रयास गर्छ । प्रवासी नेपाली र नेपाललाई जोड्ने अनि विश्वास र भाइचारा बढाउने काम यस संस्थाले गर्छ । यही कर्मको एक सारथी बन्न पाएको छु, आफ्नो कर्तव्यमा म दिलैदेखि लागिपर्नेछु’, उत्साहका साथ मनले भने ।