‘मैले सिकाउन नसकेको गणित’

‘मैले सिकाउन नसकेको गणित’


■ नारायण खनाल

कान्छा !
तिमी सानो छँदा
तिम्रा हात छोपेर
धर्का तान्दै
अंक लेख्न सिकाएँ मैले
अंकको पर्याय मान सिकाउन
फूल, गुच्छा, मुसा
र बिरालाका
चित्र बनाइदिन्थेँ
तारा र फूलहरूले
तिम्रा अंकहरूलाई
पुरस्कृत गर्थें
कान्छा !
तिमीलाई
सहजै सिकाउन
सकिन्थ्यो गणित
जोड, घटाउ, गुणन, भाग
मात्रै होइन
विजगणित, ज्यामिति
त्रिकोणमिति, सम्भाव्यता
निरन्तरता र टेस्टहरू
सजिलै सिक्थ्यौ
कति बारूद छ कान्छो
भन्नुहुन्थ्यो सरहरूले
स्नातकोत्तरसम्म नै
प्रथम श्रेणीमा पास गरेर,
आफ्नो सरको
इज्जत राखिदिएकोमा
बधाई तथा धन्यवाद छ कान्छा !

तर कान्छा आजभोलि
तिमी लखर-लखर
हिँडेको देख्छु
मरू भेट्न उतै जाँदैछौ रे
तिम्रा प्रमाणपत्रको चाङ बोकेर
तिम्री आमाले
आँसुको झरना बगाउँदै
नोकरीको भिख माग्दै
भौँतारिरहेको
देखेर म लज्जित छु कान्छा !
प्रश्न गर्दैछु आफैसँग
किन, मैले सिकाएको गणितले
जीवन जीविकामा सहयोग गर्न सकेन ?
गणितका अंकहरू त जोडिए, तर
प्रगति जोडिएन कान्छा !
प्रगति गुणन हुँदै, जानुपर्नेमा
खुसी भाग लागेर
शुन्य पर्याय हुँदैछ कान्छा !
संसारका गणित शिक्षकले
समाजको प्रगतिमा
कस्ता गणितीय शुत्र
सिकाए कुन्नि !?
तर, मेरा गणितका शुत्रले
अल्फा,बेटा र गामालाई
त खुसी दिए होलान्
तथापि, वास्तविक जीवनमा
प्रमाणपत्र बाहेक केही दिन
सकेनन् कान्छा !
श्रमिकको गाँस, बास र कपास
खोजीदिन
विरामिको औषधिको
चक्की बनिदिन
मेरो गणितले सिकाउन
सकेन कान्छा !
न त मेरो गणितले
खुसी नाप्न, सुख अनन्त बनाउन
र प्रेम तौलन सक्यो
न घृणालाई खुम्च्याउन सक्यो
न अपराधीको
अपराधिक मानसिकता
शुन्यले गुणा गर्न
सिकाउन सक्यो
तर कान्छा !
लोभी, पापी र ब्यभिचारीले
आफ्ना कृयाकलाप गुणन गर्न जाने
मैले घटाएर शुन्य पार्न
सकिन कान्छा !
जीवन जिउने गतिलो शुत्र
सिकाउन सकेको भए
मेरा सबै विद्यार्थीले
सुखको जीवन जिउँदा हुन्
राष्ट्रको समृद्धिमा सरिक हुँदा हुन
मेरो गणितले
दुःखका आँसुको आयतन निकाल्न
र, खुसीको क्षेत्रफल बढाउन
सिकाउन सकेन
प्रगति र दुर्गतिका रेखा
प्रतिच्छेदन हुने र समानान्तर हुने
शुत्र दिन सकेन
विजगणितका अमुर्त शुत्र
चेतना र संघर्षमा
सामाजिक प्रगतिमा
नैतिक शिक्षामा
अनुशासनमा
सधै अमुर्त रहे कान्छा !

ज्यामितिमा रचना त सिकाएँ
तर राष्ट्रको प्रगति गर्ने
र स्वाभिमानको शिर ठाडो पार्ने
जुक्ति लगाउने शुत्र
सिकाउन सकिनँ कान्छा !
ट्रुथ टेबल सिकाएँ
तर झुटो समाजलाई सत्यको रापले
सेक्ने शुत्र दिन सकिन कान्छा !
केवल गणितीय शुत्र र
गणितको निम्ति
गणित त सिकाएँ
तर सेवा र श्रमको
महत्त्व निकाल्ने
जनताको न्यायिक राज्य
स्थापना गर्न
आम जनतालाई
एकताको मालामा गाँस्ने,
मानवियता फुलाउँदै जाने
र आत्मियता जोड्दै जाने
शुुत्र सिकाउन सकिनँ कान्छा !
एक्स र वाइका मानहरू
प्रतिस्थापन गर्न त सिकाएँ
तर
असत्यलाई सत्यले
अन्यायलाई न्यायले
दुःखलाई सुखले र
गुलामीपनलाई स्वाभिमानले
प्रतिस्थापन गर्न
सिकाउन सकिनँ कान्छा !
गणितको इतिहाससँगै
मानव जातिको जीवन फुलाउन
राष्ट्रको मुहार फेर्ने
श्री वृद्धिको शुत्र दिन
दुःख घटाउन र
सुख जोड्न
सिकाउन सकिनँ कान्छा !
जीवन समृद्धिको, मानवीयताको
समानताको र
न्यायको रथ उचालेर
आकाशमा उड्न
सिकाउन सकिनँ कान्छा !
गणित, गणितको निम्ति सिकाएँ तर
जीवनको निम्ति सिकाउन
सकिनँ कान्छा !
जीवनको निम्ति सिकाउन सकिनँ
जनता र राष्ट्रको उन्नतिका निम्ति
सिकाउन सकिनँ !!
……..

(गणित शिक्षक, श्री विजय मावि डिभर्ना, अर्घाखाँची)