युवाहरूको संयुक्त लगानीमा स्टिल उद्योग

युवाहरूको संयुक्त लगानीमा स्टिल उद्योग


■ पुनहरि बेल्बासे, भैरहवा

युवाहरूको लगानीमा रूपन्देहीमा स्टिल उद्योग खुलेको छ । जिल्लाको तिलोत्तमा नगरपालिका–६, नयाँमिलमा ६ जना युवाले संयुक्त लगानी गरी लुम्बिनी यूपीभीसी एन्ड स्टिल इन्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याएका हुन् । करिब तीन करोड लगानी गरिएको उद्योगमा इटालियन प्रविधिमार्फत स्टिलका झ्याल तथा ढोकाहरू बनाइने सञ्चालक तथा प्रबन्ध–निर्देशक प्रकाश कँडेलले जानकारी दिए ।

यूपीभीसीका प्रयोगले घर तथा भवनहरू साउन्डप्रुफ, सफा गर्न झन्झट नहुने, वर्षौंसम्म ढुक्क र आकर्षक देखिने, रंगरोगन गर्न नपर्ने, घामपानीमा केही नहुने तथा तातो–चिसोले फरक नपर्ने, एसी चलाउँदासमेत बिजुली कम खपत हुने, आगो नटिप्ने, किरा–धमिरा नलाग्ने, बाङ्गो टिङ्गो नहुने उद्योगका अध्यक्ष मधुप्रकाश ज्ञवालीले बताए ।

उद्योगमा यूपीभीसीका झ्याल, ढोका, पार्टेसन तथा स्टिलका रेलिङ बनाइनेछ । यी सामग्रीमा ३० वर्षको वारेन्टी दिइने अध्यक्ष ज्ञवालीले जनाए । विदेशबाट काठ लिएर वा नेपाली वनजङ्गलको काठ लिएर घर बनाउनुभन्दा यूपीभीसीको प्रयोग गरी झ्याल, ढोका बनाएमा टिकाउका साथै वातावरणीय ह्रास पनि न्यून हुने उनले बताए । नेपाली बजारमा चलेको र विश्वविख्यात ब्रान्ड आफूहरूले यहीँ उत्पादन गर्न शुरु गरेकाले धेरै ग्राहकहरूको रोजाइमा पर्ने प्रबन्ध निर्देशक कँडेलले बताए ।

उद्योगको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले युवाहरू उत्पादनसँग जोडिनु मुलुक र नगरका लागि गौरवको विषय भएको जनाए । उनले तिलोत्तमामा गरिने हरेक लगानी सुरक्षित भएको बताउँदै लगानी सम्मेलनपछि धेरैको चासो र रोजाइमा नगर पर्न थालेको बताए । सानाठूला सबै किसिमका उद्योगहरूलाई नगरपालिकाले प्रोत्साहन गर्ने जनाउँदै घिमिरेले आवश्यक छुटको समेत व्यवस्था गरिएको जनाए । आल्मुनियम टिकाउ र दीर्घकालीन हुने जनाउँदै उनले काठभन्दा सस्तो र भरपर्दो भएकाले यसको प्रयोग गर्न नगरवासीलाई आग्रह गरे ।

उद्योगका ज्ञवाली, कँडेलसहित युवा व्यवसायी प्रदीप खनाल, जनक भण्डारी, मनोज अर्याल, रेश्मीराज पाण्डेको लगानी रहेको छ । सस्तो, भरपर्दो र टिकाउ हुने भएकाले सबैले यूपीभीसीका उत्पादन प्रयोग गर्न सञ्चालकले आग्रह गरेका छन् । तिलोत्तमा क्षेत्रलगायत समग्र रुपन्देही र बाहिरी जिल्लाका नागरिकलाई सेवा दिने उद्देश्यले उद्योग खोलिएको सञ्चालक अर्यालले बताए ।