दूतावासद्वारा चाडबाडलक्षित शुभकामना आदानप्रदान कार्यक्रम

दूतावासद्वारा चाडबाडलक्षित शुभकामना आदानप्रदान कार्यक्रम


■ आरके श्रीवास्तव, ओमान

वि.सं. २०७६ को चाडबाडलाई समेटेर नेपाली राजदूतावास, मस्कट ओमानले यही कात्तिक २ गते नेपाली राजदूतवासमा एक शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा गायकद्वय सत्यराज आचार्य, स्वरूपराज आचार्यका साथै ‘नेपाली चलचित्र ए मेरो हजुर–३’ प्रदर्शन गर्न ओमान आएका उक्त चलचित्रका निर्देशक झरना थापा, निर्माता सुनील थापा र नायिका सुहाना थापालगायत अतिथिहरूको उपस्थिति रहेको थियो । ओमानका लागि राजदूत शर्मिला पराजुली ढकालद्वारा पानसमा बत्ती बालेर उदघाटन गरिएको कार्यक्रमलाई नेपाली दूतावासका द्वित्तीय सचिव सोमेश थापाले आमन्त्रित पाहुनाहरूलाई स्वागत गर्नुभएको थियो ।

सो अवसरमा ओमानमा बस्ने नेपाली दाजुभाइ–दिदिबहिनीहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना आदाप्रदान गरेका थिए । स्थानीय नेपालीहरूले कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति पनि दिए । गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले बेजोड सांगीतिक प्रस्तुति दिनुभएको थियो ।

ओमानको लागि नेपाली राजदूत ढकालले गएको विजयादशमी, आउँदो तिहार, दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४०, उधौली उभौलीलगायत सबै चाडपर्वको शुभ अवसरमा ओमान बस्ने सबै नेपालीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै परदेशमा रहेर पनि नेपालको कला संस्कृति तथा परम्परालाई जहाँ भए पनि निरन्तरता दिन आग्रह गर्नुभयोे । उहाँले नेपाली संगीत, कला, चलचित्रहरूले सकारात्मक सोचलाई बढावा दिने तथा समाज र राष्ट्र निर्माणमा समेत ठूलो योगदान दिन सक्ने धारणा राख्नुभयो ।

यस्तै, उहाँले नेपाली संगीतको प्रवर्द्धनमा सहयोग गर्ने तथा नेपाली भाषाको गीत गाउने पहिलो अरबी गायक हाइथम रफी, गायकद्वय सत्यराज–स्वरूपराज आचार्यलाई नेपाली राजदूतावासको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियोे ।

श्रम सहचारी कृष्णाकुमारी गौलीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा करिव सय जना नेपालीहरू, नेपाली राजदूतावासका कर्मचारीहरू तथा कर्मचारी परिवारहरूको उपस्थिति रहेको थियो ।