शिविरभित्रै विद्रोहको तयारी

शिविरभित्रै विद्रोहको तयारी


पार्टी नेतृत्वमा मात्र रहेको वैचारिक द्वन्द्वको असर विभिन्न अस्थायी शिविरमा बस्दै आएका लडाकुहरूसम्म पुगेको छ । शिविरमा रहेका लडाकुहरू पार्टी नेतृत्वमा रहेका वैचारिक र कार्यगत विषयमा देखिएको टकरावलाई लिएर विद्रोह गर्ने तयारीमा पुगेका छन् । पार्टीभित्र पर्याप्त मात्रामा छलफल र बहस नगरी एक्कासि हतियार रहेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाएको भन्दै विरोधमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री बाबुराम भट्टराई र उपाध्यक्ष मोहन वैद्य किरण पक्षबीच चर्काचर्की पर्दै आएको छ । नेतृत्वमा रहेको यही विवाद शिविरमा रहेका लडाकुहरूसम्म पुगेको हो । प्रचण्ड पक्षधर नेताहरूले शिविरमा वैद्य पक्षधर लडाकुहरू नरहेको र शिविरमा रहेका लडाकुहरू छिटोभन्दा छिटो समायोजन तथा पुनर्स्थापनाको पक्षमा रहेका भन्दै छिट्टै पुनर्स्थापना र समाजोजन प्रक्रियामा सामेल गराइने बताउँदै आएका छन् । वैद्य पक्षधर लडाकुहरूले भने अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुरामको निर्णयलाई काउन्टर दिँदै आन्तरिक विद्रोहको तयारी गर्न थालेको सूत्रको भनाइ छ । माओवादी उच्च सूत्रका अनुसार अध्यक्षको निर्णयविरुद्ध लागेर आन्तरिक विद्रोह सुरु गर्नेहरूमा शक्तिखोर तीन नम्बर डिभिजनका भाइस कमान्डर दीपक शाही, नवलपरासी चार नम्बर डिभिजनका भाइस कमान्डर पावेल, कञ्चनपुर सात नम्बर डिभिजनका भाइस कमान्डर जीवन, ६ नम्बर डिभिजनका भाइस कमान्डर विवेक, पाँच नम्बर डिभिजनका भाइस कमान्डर मदन, एक नम्बर डिभिजनका भाइस कमान्डर विवश, शक्तिखोर स्मृति बिग्रेडका भाइस कमान्डर सङ्घर्ष, वसन्त स्मृति बिग्रेडका कमान्डर रमेशले नेतृत्व गरिरहेका छन् । उनीहरूले पार्टी नेतृत्वले शिविरमा रहेका लडाकुको भविष्य अन्योलमा पारेको, क्रान्तिलाई बीचैमा तुहाएको, नेताहरू मोजमस्तीमा लागेको, नेतृत्व शक्तिको पछि कुदेकोलगायतका आरोप लगाउँदै क्रान्ति आवश्यक भएको भन्दै वैद्यको पक्षमा लाग्नुको विकल्प नभएकोले आफूनिकट कमान्डरहरूलाई प्रशिक्षित गरँइरहेका छन् । सूत्रका अनुसार शिविरमा उपकमान्डरदेखि तलका पदमा वैद्य पक्षधर लडाकुहरू प्रसस्तै छन् । तर, उपाध्यक्ष वैद्य आफैं भने शिविरमा रहेका लडाकुहरूप्रति त्यति धैरै विश्वस्त नरहेको बताइन्छ ।

प्रचण्डविरुद्ध राष्ट्रिय अभियान
हतियार भण्डारण गरिएका कन्टेनरको साँचो विशेष समितिलाई बुझाएपछि पार्टी संस्थापन पक्षसँग आक्रामक बनेको उपाध्यक्ष मोहन वैद्य पक्षले आफूनिकट कार्यकर्ता भेलालाई तीव्रता दिएको छ । आवश्यक परे पार्टी विभाजन गर्न समेतपछि नपरेको उक्त समूहका नेताहरूले आफूनिकट कार्यकर्तालाई अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वमा रहँदा भएका कमजोरी तथा पार्टीहित विपरीतका कार्यलाई विशेष प्राथमिकता दिएका छन् । उनीहरूले प्रशिक्षणका क्रममा अध्यक्ष प्रचण्ड तथा उपाध्यक्ष बाबुरामलाई अन्तिम मौका दिने जानकारी गराउँदै आफूहरूले दिने अन्तिम मौकामा पनि नसच्चिए र त्यसलाई बेवास्ता गरे भयानक परिणामको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । अध्यक्षले पटक-पटक पार्टी र क्रान्तिलाई धोखा दिएको आरोप लगाउँदै अध्यक्षको कार्यशैलीका कारण पार्टीनीतिहरू असफल भएको उनीहरूको टिप्पणी थियो । गत शनिबार कालिमाटीमा आयोजना गरिएको आफूनिकट गोप्य प्रशिक्षणमा वैद्यनिकट केन्द्रीय नेता देव गुरुङले भन्नुभयो, ‘हामी प्रतिक्रान्तिकारीहरूविरुद्ध लड्न तयार भएर बस्नुपर्ने बेला भएको छ, तपाईंहरूले त्यसैअनुसारको तयारी गर्नुपर्छ । नेपाली क्रान्तिका लागि अध्यक्षबाट कुनै आश गरेका थिएनौँ तर, थोरै मात्र भए पनि बाबुरामप्रति विश्वास र आशा थियो, त्यो पनि निराशामा परिणत भयो, उनीहरूले पार्टी र क्रान्तिलाई धोखा दिए, त्यसलाई हामीले पूर्णता दिनुपर्छ ।’ प्रचण्ड र बाबुरामले पार्टीेलाई विसर्जनवादतिर लगेको भन्दै पार्टीलाई जोगाउन नेपाल र नेपालीप्रति प्रतिबद्ध माओवादीका नेता तथा कार्यकर्ता फेरि क्रान्तिमा होमिनुपर्ने बेला भएको बताएका थिए । पार्टी एमाले र काङ्ग्रेसीकरण भएको भन्दै पार्टी नेतृत्वले पार्टी निर्णयलाई आफूअनुकूल व्याख्या गर्दै पार्टी पद्धतिको विरुद्ध गएको आरोप लगाएका थिए । प्रचण्ड र बाबुरामको कडा आलोचना गरिएको उक्त प्रशिक्षणमा माओवादीका वैद्यनिकट अर्का नेता हितमान शाक्यले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा सहभागी वैद्यनिकट एक नेताका अनुसार शाक्यले बाबुरामले आफ्नो विचारलाई रद्दीको टोकरीमा फालेर अवसरवादी सोचलाई बढवा दिएको टिप्पणी गरेका थिए । प्रचण्डको जालमा बाबुराम सजिलै परेको भन्दै उनले धोबीघाट भेलालाई धोखा दिएर बाबुरामले पार्टी इतिहासकै सबैभन्दा ठूलो भूल गरेको बताएका बताएका छन् । उनीहरूले बाबुराम छिट्टै सडकमा आउने भन्दै कुनै पनि बेला प्रचण्डले बाबुरामलाई धोखा दिने पनि दाबी गरेका थिए । उनीहरूको भनाइ थियो- बाबुरामलाई धोबीघाट भेलाले प्रधानमन्त्री बनायो । तर, यही भेलालाई बिर्संदै प्रचण्डकहाँ शरण लिन पुगे । अहिले प्रचण्ड-बाबुरामको सम्बन्ध बलियोजस्तो लाग्न सक्छ तर त्यसमा विश्वास गर्न सकिँदैन, छिट्टै बाबुरामलाई प्रचण्डले सडकमा झार्नेछन्, त्यतिबेला उनले जानकारी पाउनेछन् । राज्यस्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहेको प्रशिक्षणमा प्रचण्ड र बाबुरामको चर्का आलोचना गर्दै उनीहरूलाई बहुमतबाट कारबाही गरी पार्टीबाट निष्कासन गर्न सक्ने दाबी गरेका थिए । प्रशिक्षणमा संलग्न नेताको भनाइ थियो- हामी पार्टी फुटाउँदैनौँ, पार्टी हितविपरीत जानेलाई पार्टीबाट निष्कासन गर्नेर्र्छौं । राजधानीको स्वयम्भूबाट सुरु गरेको वैद्य पक्षको आन्तरिक प्रशिक्षणलाई उनीहरूले देशव्यापी पुर्‍याएका छन् । उनीहरूले सोमबार झापा र मंगलबार पाँचथरमा पनि त्यस्तै प्रकारको प्रशिक्षण दिएका छन् । यसैबीच, शनिबार नै ललितपुरस्थित नार्क हलमा प्रचण्डनिकट नेताहरू हेमन्त ओली र नारायण दाहालले आफूनिकट राज्यस्तरका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा उनीहरूले वैद्यनिकट नेताहरूको चर्को आलोचना गरेका थिए ।

लडाकुको अर्कै संरचना खडा गरिने
पार्टीभित्र आन्तरिक द्वन्द्वले उग्ररूप लिइरहेको बेला माओवादी उपाध्यक्ष मोहन वैद्य पक्ष बेग्लै लडाकु दस्ताको तयारीमा जुटेको छ । पार्टीमा आफूनिकट युवाहरूको सहभागिता कम भएको र युवा शक्तिबिना क्रान्ति सफल नहुने भन्दै उनीहरू हरेक क्षेत्रका युवालाई सङ्गठित गर्ने उद्देश्यका साथ नयाँ दस्ता तयारीमा जुटेको सूत्रले बतायो । सूत्रका अनुसार यसअघि वैद्यनिकट नेता नेत्रविक्रम चन्दको नेतृत्वमा गठित स्वयम्सेवक दस्तालाई नै वैद्य पक्षका नेताहरू आफूनिकट युवा दस्ता बनाउने तयारीमा जुटेका छन् । चन्दकै नेतृत्वमा गठन गर्न लागिएको नयाँ दस्तालाई विभिन्न जिल्लामा समेत गठन गरी एकैपटक सार्वजनिक गर्ने तयारीमा रहेको बुझिएको छ । वैद्यनिकट एक नेताका अनुसार लडाकु दस्ताको नियम, उद्देश्य तथा यसका क्षेत्राधिकारबारे आन्तरिक छलफल भइरहेका छन् । दस्तामा सबै राजनीतिक दलका युवा नेतालाई सहभागी गराइने भए पनि आपराधिक कार्यमा संलग्न भएकालाई भने प्रवेश नदिने तर उनीहरूलाई सुध्रने मौका भने दिइनेछ ।
सूत्रका अनुसार नयाँ लडाकु दस्ताको निर्माणसँगै वैद्य पक्षका नेताहरू विद्यार्थी र मजदुर सङ्गठनमा पनि बेग्लै संरचनाको निर्माणमा जुटेका छन् । मजदुर नेता बद्री बजगाईंलाई यसको जिम्मेवारी दिइएको छ । उक्त जिम्मेवारीका साथ बजगाईंले मजदुर तथा विद्यार्थीका आफूनिकट नेताहरूलाई आन्तरिक रूपमा प्रशिक्षित गराइरहेका छन् । सूत्रका अनुसार प्रशिक्षणका लागि एक बेग्लै कमिटीसमेत निर्माण गरिएको छ । उनीहरूले पार्टी भूमिगतकालमा जस्तै निर्माण गरी कमिटी निर्माण गर्ने र त्यसलाई सक्रिय बनाउने योजना बनाएका छन् ।

भ्रष्टाचार नियन्त्रण निकायमा समेत भ्रष्टहरूको दाबी कसरी गर्लान् बाबुरामले नियुक्ति ?
लामो समयदेखि रिक्त संवैधानिक निकायहरूमा पदपूर्तिका निम्ति सरकारमाथि दबाब बढेको छ । संसद्को राज्य व्यवस्था समितिले समेत एक महिनाभित्र रिक्त पदपूर्ति गर्न सरकारलाई निर्देशन जारी गरेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसनिम्ति विशेष तत्परता लिनुभएको छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री भट्टराई योग्यता, क्षमता र अनुभवका आधारमा विज्ञहरूको सूची तयार गर्ने कार्यमा लाग्नुभएको छ । विज्ञहरूको नामावली सङ्कलन भइसकेपछि सङ्कलित नामहरूमध्येबाट नै संवैधानिक निकायहरूमा पदपूर्ति गरिने बताइएको छ । संवैधानिक निकायहरूमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त तथा आयुक्त पद लामो समयदेखि रिक्त छ । विगत पाँच वर्षभन्दा बढी समयदेखि अख्तियार प्रमुखविहीन रहेको छ । रिक्त आयुक्त पदमा कुनै तरिकाले छिड्के हानेर पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक केशव बराललाई तात्कालिक प्रधानमन्त्री माधवकुमार नेपालले एमालेको कोटामा छिराउनुभएको भए पनि दलहरूबीचको भागवण्डा नमिलेर अहिलेसम्म त्यहाँ थप कसैको नियुक्ति हुन सकेको छैन । निर्वाचन आयोगमा प्रमुख तथा अन्य केही सदस्य पद रिक्त रहेको छ भने लोकसेवा आयोग र महालेखा परीक्षकको कार्यालय पनि प्रमुखविहीन बनेको लामो समय भइसकेको छ । सरकारले संवैधानिक पद महान्यायाधिवक्ताको नियुक्ति गत साता गरेको छ । मानवाधिकार आयोगमा प्रमुख तथा सदस्यहरूको नियुक्ति समयमै भएको भए पनि पदाधिकारीहरूबीचको विवादले आयोग नै निकम्मासरह हुन पुगेको छ । उक्त आयोगमा डा. केबी रोकायालगायत केही सदस्यहरूबीच बोलचालसमेत बन्द भएपछि रोकाया कार्यालयमा हाजिर नै नभई तलब-भत्ता खान ‘बाध्य’ भएका छन् ।
स्वच्छ छविका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालभित्रै संवैधानिक निकायहरूमा नियुक्ति भएमा निष्पक्ष ढङ्गबाट हुने र योग्य एवम् क्षमतावान् तथा इमानदार मानिसहरूले अवसर पाउने विश्वास धेरैले गरेका छन् । विश्वविद्यालयका उपकुलपतिदेखि गणकसम्म दलीय भागवण्डाका अधारमा नियुक्त हुने विकृत परम्परा पनि यसपटक डा. भट्टराईको कार्यकालमा तोडिने अपेक्षा देशको बौद्धिक समुदायले गरेको छ । तर, केही दुर्गन्धित मानिससमेत नियुक्तिका निम्ति प्रतिस्पर्धामा उत्रिएपछि बाबुराम भट्टराई विवादरहित नियुक्ति गराउन सफल हुनुहोला भन्नेमा आशङ्का पैदा भएको छ । संवैधानिक नियुक्तिका लागि एमालेले नीलकण्ठ उप्रेती र उदय नेपाली श्रेष्ठलगायतका मानिसको नाम अघि सार्दै आएको छ भने माओवादीले रामकुमार श्रेष्ठ, लोकमानसिंह कार्की, पूर्व डीआईजीपी अशोक श्रेष्ठ, सशस्त्र प्रहरीका पूर्वआईजीपी सनत बस्नेत, कवि, गीतकार एवम् पूर्वगुप्तचर अधिकारी श्रीपुरुष ढकाल र पूर्वडीआईजीपी हिम गुरुङलाई विभिन्न निकायमा नियुक्ति गर्न चाहेको छ । त्यस्तै मधेसी मोर्चालाई खुसी बनाएर संवैधानिक पदमा नियुक्तिका निम्ति सम्भावित उम्मेदवार बन्न सफल व्यक्तिहरूमा खेलकुद परिषद्का पूर्वसदस्यसचिव हरिबाबु चौधरी, पूर्वडीआईजीपीहरू रमेश श्रेष्ठ र कृष्ण बस्नेत, पूर्वसचिव दीप बस्नेत, नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक दिगम्बर झा रहेका छन् । त्यसैगरी काङ्ग्रेसले चाहिँ श्रीकान्त रेग्मी, बाबुराम आचार्य र भानु आचार्य आदिको नाम प्रस्ताव गर्ने सोच बनाएको बुझिन्छ । उल्लिखित उम्मेदवारहरूमध्ये केही योग्य र क्षमतावान् भए पनि अधिकांशको छवि दुर्गन्धित मानिन्छ । सर्वाधिक भ्रष्टाचारीका रूपमा चिनिएका दीप बस्नेत, सनत बस्नेत, कृष्ण बस्नेत, बाबुराम आचार्य र दिगम्बर झा तथा कुनै न कुनै ढङ्गले विवादास्पद मानिएका अशोक श्रेष्ठ, हिम गुरुङ, श्रीपुरुष ढकाल, लोकमानसिंह कार्की, रमेश श्रेष्ठ र सुखचन्द्र झाजस्ता व्यक्तिहरूसमेत संवैधानिक नियुक्तिको निम्ति प्रतिस्पर्धामा उत्रिँदा संवैधानिक पदको नै मानमर्दन भएको ठानिएको छ । दीप बस्नेतले अख्तियारमा नियुक्त हुन पाँच करोड रुपैयाँसम्म खर्च गर्ने तयारी गरेको बुझिन्छ भने कुनै पनि संवैधानिक निकायमा नियुक्त हुन पचास लाख रुपैयाँ खर्च गर्ने योजना दिगम्बर झाले बनाएका छन् । सनत बस्नेत अहिले संवैधानिक पदमा नियुक्त हुने रहर गर्नुभन्दा अगाडि सशस्त्र प्रहरीको महानिरीक्षकमा म्याद थप गराउन जोडतोडले लागिपरेका थिए । त्यसबेला दश करोड रुपैयाँको ब्रिफकेस तात्कालिक गृहमन्त्री कृष्णबहादुर महरा र गृहसचिव लीलामणि पौडेलले अस्वीकार गरेपछि बस्नेत निराश भएका थिए । मोतीलाल बोहोराका ज्वाइँसमेत रहेका सनत ससुराजत्तिकै अवसरवादी र भ्रष्ट मानिन्छन् । संवैधानिक नियुक्तिका लागि विभिन्न शक्तिकेन्द्रहरूमा निरन्तर धाइरहेका सनत बस्नेतले यसपालि कति करोड खर्च गर्ने योजना बनाएका छन् बुझन सकिएको छैन । तर, उनले अख्तियार या निर्वाचन आयोगको प्रमुख आयुक्त अथवा भारतका लागि नेपालको राजदूत बन्ने इच्छा राखेका छन् । माओवादी अध्यक्ष प्रचण्डले उनलाई ग्रिन सिग्नल दिइसकेका पनि छन्, अब बाबुरामले के गर्लान् प्रतीक्षा त्यसैको हुँदै छ । सबभन्दा भ्रष्ट र विवादास्पद व्यक्तिहरू माओवादीको कोटाबाट नियुक्त हुने स्थितिमा रहनु आर्श्चर्य र रहस्यको विषय बनेको छ । पार्टीकै कोटामा परे पनि उदय नेपाली श्रेष्ठ, भानुप्रसाद आचार्य, श्रीकान्त रेग्मी, नीलकण्ठ उप्रेती, रामकुमार श्रेष्ठ आदि कुनै न कुनै निकायका लागि उपयुक्त र योग्य मानिन्छन् । तर, दलहरूको रोजाइमा परेका अधिकांश व्यक्ति भ्रष्ट र दुर्गन्धित हुनुले दलका नेताहरूको नियत उजागर गरेको छ । नेताहरू भ्रष्टाचारमुक्त शासन-प्रशासन चाहँदैनन्, उनीहरू आफ्नो कमाइको सुरक्षा गरिदिनसक्ने विश्वासप्राप्तलाई अख्तियार र त्यस्तै निकायमा चयन गराउन चाहन्छन् भन्ने स्पष्ट भएको छ । पूर्वडीआईजीहरू कृष्ण बस्नेत, रमेश श्रेष्ठ, अशोक श्रेष्ठ, हिम गुरुङ तथा गीतकार श्रीपुरुष ढकाल, सुखचन्द्र झा, लोकमानसिंह कार्कीको पृष्ठभूमि र तिनको चरित्रका बारेमा माओवादी र मधेसवादी मोर्चाका नेताबाहेक सबैलाई जानकारी छ । राजस्वमाराका रूपमा चिनिएका मदिरा व्यापारी मथुरामान श्रेष्ठका सहोदर भाञ्जा अशोक श्रेष्ठ संविधानसभाको निर्वाचनमा प्रचण्डलाई रु. पचास लाख दिएबापत माओवादी कोटामा पर्ने भएका हुन् । राजदरबारमा एसएसपी रहँदा नैतिक आचरणसम्बन्धी आरोप लागेर हटाइएका श्रेष्ठ प्रचण्डका विश्वासप्राप्त मानिए पनि बाबुराम भट्टराई प्रधानमन्त्री हुने सम्भावना बढेयताको समयमा प्रचण्डका कुरा बाबुरामसम्म निरन्तर पुर्‍याएर उनी बाबुरामको समेत विश्वास जित्ने प्रयासमा रहेको बताइन्छ । उता पहिले बाबुरामको प्रियपात्र बनेका गीतकार श्रीपुरुष ढकालले भने बाबुरामको कुरा प्रचण्डलाई लगाउने गरेको बताइन्छ । नारी, नगद र मदिराका मामिलामा सधैं अगाडि मानिएका ढकाल माओवादी नेताहरूको प्रियपात्र कसरी बन्न सकेका हुन्- आर्श्चर्यको विषय भएको छ । निर्वाचन आयोग र लोकसेवा आयोग मात्र होइन, भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियारमा नियुक्त हुनसमेत भ्रष्टहरू ताँती लागेको देख्दा ‘नयाँ नेपालमा’ भ्रष्टाचारीहरूको मनोबल कतिसम्म बढेछ भन्ने कुराको सङ्केत मिलेको छ । माओवादी र फोरमले बोकेका पूर्वप्रहरीहरूलाई मात्र नियुक्ति दिइने हो भने संवैधानिक निकायहरू ब्यारेकमा रूपान्तरित हुनसक्ने टिप्पणी बौद्धिक समुदायले गरेको छ । एमालेले यसअघि नै एकजना पूर्वप्रहरीलाई अख्तियारमा घुसाइसकेको छ । देशमा भ्रष्ट र दुर्गन्धित भनी चिनिएका पात्रहरूको नाम कुनै न कुनै माध्यमबाट प्रधानमन्त्रीले सङ्कलन गर्नुभएको नाम सूचीमा सामेल भइसकेको विश्वास गरिन्छ । योग्यता, क्षमता र इमानदार भएर पनि कुनै दलविशेषको माया, ममता पाउन नसकेका कानुनविद् राजनारायण पाठक, पुनरावेदनका पूर्वन्यायाधीश डा. हरिवंश त्रिपाठी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा, पूर्वसचिवहरू डा. जनकराज जोशी र युवराज पाण्डेलगायतको नाम प्रधानमन्त्री बाबुराम भट्टराईले सङ्कलन गर्नुभएको नामावलीमा समेटिन सकेको छ या छैन बुझन सकिएको छैन । उल्लिखित व्यक्तिहरू कुनै दलविशेषको निकट नरहेको हुँदा उनीहरूलाई संवैधानिक निकायमा जिम्मेवारी प्राप्त हुने विश्वास गरिएको छैन । पाठक, त्रिपाठी, शर्मा, जोशी र पाण्डेलगायतका व्यक्तिहरू दलविशेषको निकट नरहेका मात्र होइनन् तत्काल ‘फी’ बुझाउन सक्ने हैसियत र त्यसप्रकारको चरित्रका समेत नभएको हुँदा उनीहरूलाई कुनै जिम्मेवारी प्राप्त हुनेमा आशङ्का गरिएको हो । बाबुराम भट्टराई नै प्रधानमन्त्री भएका कारणले मात्र केही निष्पक्ष, इमानदार र योग्य व्यक्तिहरूसमेतले संवैधानिक निकायमा नियुक्ति पाउने आशा गरिएको छ, होइन भने नियुक्तिको एक मात्र आधार नगद र नाता बन्ने निश्चित थियो ।
-रुद्र कार्की सन्त

गुप्त भ्रमणको खुल्यो रहस्य
बेलाबखतमा रहस्यमयी र अनपेक्षित व्यवहार दर्शाएर चर्चामा आउन मन पराउनुहुने माओवादी अध्यक्ष प्रचण्ड गत साताको शुक्रबार अचानक हराउनुभयो । उहाँ किन र कहाँ हराउनुभएको थियो भन्ने कुराको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । त्यस दिन (भदौ २३ गते) गोरखामा आयोजित एक कार्यक्रममा भाग लिएर काठमाडौं आउनुभएका प्रचण्ड आफ्नो परिवारका सदस्यहरूका साथ विराटनगर जाने विमानमा लुसुक्क चढ्नुभएको थियो । अङ्गरक्षकबिना नै विराटनगर पुग्नुभएका प्रचण्डलाई पार्टीभित्र उहाँको सर्वाधिक विश्वासप्राप्त मानिएका हरिबोल गजुरेल एक्लैले स्वागत गर्नुभएको थियो । भीआईपी प्रस्थान कक्षबाट नभई साधारण कक्षबाट बाहिरिनुभएका प्रचण्डका निम्ति बाहिर एउटा जीप राखिएको र सोही जीपमा चढेर प्रचण्ड आफ्नी पत्नी सीता दाहालसहित इटहरी हुँदै पहिले झापा र त्यसपछि भारतको सिलिगुडीतर्फ लाग्नुभएको थियो । झापाको कुन स्थानमा पुगेपछि गाडी परिवर्तन गरेर प्रचण्ड भारतीय नम्बरप्लेटको गाडीमा हुइँकिनुभएको थियो भन्ने कसैले पनि थाहा पाउन सकेनन् । अङ्गरक्षकबिना नै ‘सवारी चलाइएको’ हुँदा गोपनीयतामा विशेष ध्यान दिइएको बताइन्छ । प्रचण्ड विराटनगर विमानस्थलदेखि सिलिगुडीसम्म पुग्दा पनि नेपालको प्रहरी-प्रशासनले चाल नपाउनुले हाम्रा सुरक्षा निकायहरूको क्षमता उजागर गरेको ठानिएको छ ।
प्रचण्डले आफ्नो गुप्त भ्रमणलाई निजी, पारिवारिक र अनौपचारिक भएको देखाउन पत्नी सीतालाई समेत सामेल गर्नुभएको भए पनि भ्रमण निजी नभई विशुद्ध राजनीतिक उद्देश्यबाट भएको जानकारी प्राप्त भएको छ । प्रचण्ड सिलिगुडीस्थित भारतीय गुप्तचर संस्था ‘रअ’को अतिथिगृहमा पाहुना भएर बस्नुभएको र त्यहीँ भारतीय अधिकारीहरूसँग वार्तालाप भएको विश्वस्त सूत्रहरूले जनाएका छन् । सोही स्थानमा ०६२/०६३ यता प्रचण्डको भारतीय अधिकारीहरूसँग पटकपटक सम्पर्क र संवाद हुने गरेको पनि समाचार सूत्रहरूको भनाइ छ ।
आफू शान्ति र संविधानको पक्षमा भएर पनि सोही नीतिको कार्यान्वयन गर्न डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभएको यथार्थलाई सहज ग्रहण गर्न प्रचण्डले सकिरहनुभएको छैन । शान्तिप्रक्रिया पूरा गर्ने हो भने त्यसको सम्पूर्ण जस (यश) आफूले पाउनुपर्ने धारणा प्रचण्डले विभिन्न ‘महत्त्वपूर्ण’ व्यक्तिहरूसमक्ष प्रकट गर्ने गर्नुभएको र उहाँले भारतीय अधिकारीहरूसँगको गुप्त बैठकमा पनि ‘आफू शान्तिप्रक्रिया पूरा गर्न तत्पर रहेको तर त्यसको जस -यश) पनि आफैंले पाउनुपर्ने ‘माग’ राख्नुभएको बताइन्छ । काठमाडौंस्थित भारतीय सम्पर्क सूत्रहरूसँग प्रचण्डले शान्तिप्रक्रिया टुङ्ग्याएको जस (यश) आफूले पाउनुपर्ने भनी पटकपटक भन्ने गरेका कारण सूत्रधारहरूमार्फत नै सिलिगुडीमा बैठक राखिएको र बैठकमा प्रचण्डले पूर्ण आश्वासन पाउनुभएको बताइन्छ । बैठकमा माओवादी लडाकु व्यवस्थापन, शान्तिप्रक्रिया र नयाँ संविधान निर्माणलगायतका विषयमा छलफल भएको बताइन्छ । बैठकमा प्रचण्डले पाँच हजार लडाकुलाई सेनामा समावेश गरिदिए शान्तिप्रक्रियाले पूर्णता प्राप्त गर्ने भनी अधिकारीहरूलाई विश्वस्त तुल्याउनुभएको पनि बुझिएको छ । प्रचण्डले आफ्नो भ्रमणबारे काङ्ग्रेस महामन्त्री कृष्ण सिटौलालाई जानकारी भएको सार्वजनिक रूपमै बताउनुभएको छ । यस कुराले पनि भ्रमण र गुप्तवार्ताका निम्ति सूत्रधारको भूमिका सिटौलाले निर्वाह गर्नुभएको स्पष्ट सङ्केत गर्दछ । भनिन्छ, प्रचण्डले सिटौलासँग शान्तिप्रक्रियाको ‘क्रेडिट’ आफूले पाउनुपर्ने भन्दै बाबुरामलाई हिरो बनाउन आफू किन सक्रिय हुने भन्ने धारणा प्रश्नका रूपमा राख्दै आउनुभएको थियो । प्रचण्डका विशेष हितैषीका रूपमा समेत चिनिएका सिटौलाले प्रचण्डलाई जस (यश) दिलाउन आफूले सहयोग गर्ने वचन दिँदै आउनुभएको छ । जब कि जस -यश) पाउन प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने हुन्छ । सिलगुडी भ्रमणपश्चात् उहाँको प्रसन्नताले उहाँमा पुन: प्रधानमन्त्री बन्ने विश्वास बढाएको सङ्केत दिएको छ । प्रचण्ड यसरी शान्तिप्रक्रिया पूरा गरेको ‘क्रेडिट’ आफैंले पाउनुपर्छ भन्नेमा दृढ हुनुभए पनि बाबुरामलाई विस्थापित नगरी उहाँ प्रधानमन्त्री बन्न सम्भव देखिँदैन । जब कि भट्टराईलाई तत्काल विस्थापित गर्न कुनै पनि पक्षले आवश्यक ठानेको छैन र उहाँलाई हटाउँदैमा प्रचण्डले सरकारको नेतृत्व पाउनुहुन्छ भन्ने निश्चितता पनि छैन । कसले प्रचण्डलाई कसरी विश्वास दिलायो र उहाँलाई कसरी प्रसन्न तुल्यायो सोको पूर्ण विवरण प्राप्त हुन सकेको छैन । तर, प्रचण्ड अब आफ्नो बाटोमा दक्षिण बाधक नबन्नेमा चाहिँ ढुक्क हुनुभएको छ । स्मरणीय छ, पछिल्लो समयमा भारतीय गुप्तचर संस्था ‘रअ’का वरिष्ठ अधिकारी एवम् नेपाल प्रमुख आलोक जोशीसँग प्रचण्डले आफ्नो सम्बन्ध निकै कसिलो बनाउनुभएको छ । उहाँहरूबीच निरन्तर सम्पर्क र संवाद रहने गरेको सम्बद्ध सूत्रबाट थाहा भएको छ ।

गृहसचिवलाई हटाइने !
अति ‘जाँगरिला’ मानिएका गृहसचिव लीलामणि पौडेललाई गृह मन्त्रालयबाट सरुवा गरिने भएको छ । आफ्नो काममा लगनशील र सदा सक्रिय मानिने सचिव पौडेलका क्रियाकलापहरू सन्देहास्पद र रहस्यमयी भएको ठहर गृहमन्त्री विजयकुमार गच्छदारबाट भएपछि उहाँको त्यहाँबाट सरुवा हुनसक्ने सम्भावना बढेको हो । कुनै समय तिब्बतमा महावाणिज्यदूतको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएका सचिव पौडेल आफूलाई राष्ट्रवादी र देशभक्त दाबी गर्ने गर्नुहुन्छ, तर उहाँमाथि चाइनाका लागि काम गर्ने गरेको आरोप भने लागेको छ । वामपन्थी पृष्ठभूमिका सचिव पौडेल पहिले एमालेनिकट रहनुभएको, तर पछि उहाँ माओवादीतिर लहस्सिनुभएको पौडेलका निकटवर्तीहरूको भनाइ छ । माओवादीको निकट भएकै कारण पौडेललाई २०६५ सालमा कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा तात्कालिक सचिव शंकर कोइरालालाई सरुवा गरेर सञ्चारमा ल्याइएको थियो । झलनाथ सरकारमा कृष्णबहादुर महरा गृहमन्त्री बन्नुभएपछि पौडेलले गृह मन्त्रालयकै सचिव बन्ने मौका पाउनुभयो । गृहसचिव भएपछि कर्मचारीहरूको सबैभन्दा ठूलो टोली लिएर पौडेलले चाइनाको भ्रमण गर्नुभएको थियो । तिब्बती शरणार्थीमाथि कठोर निगरानी राख्न उत्साही सचिव पौडेललाई गृहमन्त्री विजयकुमार गच्छदारले विभिन्न कामको जिम्मेवारी दिई नजिकबाट नियालेर ‘टेस्ट’ गर्नुभएको र त्यसरी गरिएको ‘टेस्ट’ परीक्षामा पौडेल ‘फेल’ हुनुभएकोले उहाँको सरुवा निश्चित भएको बताइएको छ । पौडेलको परीक्षा गच्छदारले कसरी लिनुभएको थियो र किन उहाँ ‘फेल’ हुनुभएको हो सो बुझन सकिएको छैन । सचिव पौडेलसँगै अन्य केही सचिवहरूको पनि कार्यरत मन्त्रालयहरूबाट सरुवा हुने बुझिएको छ ।

शर्मालाई विष खुवाउन छुट !
गुणस्तरहीन मिर्ठाई बिक्री-वितरण गरेको अभियोगमा गत बुधबारबाट प्रहरी नियन्त्रणमा रहेका अनमोल स्विट्स सञ्चालक बीएल शर्मालाई जनतालाई विष खुवाउने छुट प्राप्त भएको छ । मिर्ठाईमा अखाद्य तथा विषाक्त पदार्थ मिसावट गरी बिक्री-वितरण गरेको पाइएपछि प्रहरीको नियन्त्रणमा रहेका शर्मालाई सोमबार पुनरावेदन अदालतका मुख्य न्यायाधीश केशरीराज पण्डितको इजलासले त्यस्तो छुट दिएको हो । गम्भीर बिरामी भएको र हिँडडुल गर्नसमेत नसक्ने भन्दै गत बुधबारबाट नर्भिक अस्पतालमा भर्ना हुन पुगेका शर्माले गत सोमबार पक्राउविरुद्ध अन्तरिम आदेशको माग गर्दै पुनरावेदन अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिट निवेदनको अन्तरिम फैसला सुनाउँदै अदालतले शर्मालाई पछि ठहरेबमोजिम हुने गरी तत्काल पक्राउ नगर्न आदेश दिएको छ । अदालतले शर्मालाई पक्राउ नगर्न मात्र भनेन, शर्मालाई पक्राउ गर्नुको लिखित कारणसमेत पेस गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । यसले अखाद्य पदार्थको बिक्री-वितरण गर्नेहरूलाई प्रोत्साहित गराएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका एक अधिकृतका अनुसार राजनीतिक दबाबका कारण शर्मालाई अदालतले पक्राउ नगर्ने आदेश दिएको हो । अनुसन्धानमा संलग्न ती अधिकृतका अनुसार शर्माले मात्र नभएर प्रहरी नियन्त्रणमा रहेका अधिकांश कथित उद्योगीले प्रहरी नियन्त्रणबाट छुट्न राजनीतिक दबाब दिइरहेका छन् ।
मिर्ठाईमा अखाद्य पदार्थ मिसावट गरी बिक्री गरेको अभियोगमा पक्राउ पर्ने निश्चित भएपछि शर्माले पक्राउ पर्नु अगावै आफूलाई पक्राउबाट जोगाउन आग्रह गर्दै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्न प्रचण्डनिवास नयाँबजार पुगेका थिए । आफूले माओवादी पार्टीलाई पुर्‍याएको सहयोग र आफ्नो अवस्था हेरेर पक्राउ पर्नबाट जोगाउन शर्माले प्रचण्डसँग आग्रह गरेका थिए । नयाँबजार सूत्रका अनुसार जवाफमा प्रचण्डले तत्कालै आफ्ना स्वकीय सचिव समीर दाहालले प्रहरीका सम्बन्धित अधिकारीलाई फोन गरेर उहाँ -शर्मा)लाई पक्राउ नगर्न भनेका थिए । तर, समीरले भने आफूले शर्मालाई पक्राउ गर्न वा नगर्न भनेर कसैलाई नभनेको बताए । उनले भने, ‘यसबारेमा मलाई केही जानकारी छैन ।’ सूत्रका अनुसार शर्माले प्रचण्डसँग मात्र नभएर सबैजसो राजनीतिक दलका नेतासँग आफू पक्राउ पर्नबाट जोगाउन आग्रह गरेका थिए । तर, प्रहरीले पक्राउ गर्ने निश्चितजस्तै भएपछि बिरामीको नाटक गर्दै शर्मा नर्भिकमा भर्ना भएका थिए । प्रहरीले उनलाई नर्भिकमै निगरानी गर्दै आएको थियो ।
यसरी अखाद्य पदार्थ मिसावट गरी मिर्ठाई बिक्री गर्दै आएका शर्मालाई अदालतले उन्मुक्ति दिएपछि अन्य व्यापारी पनि छुट पाउने भन्दै थप प्रोत्साहित भएका छन् । उनीहरूले आफ्नो पक्राउविरुद्ध अदालतको ढोका ढकढक्याउन जाने सम्भावना बढ्दै गएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । ती अधिकृतका अनुसार हाल पक्राउमा रहेका अधिकांश उद्योगीले राजनीतिक दलका नेता तथा उच्च सरकारी अधिकारीलाई गुहारिरहेका छन् । वाणिज्य विभाग, खाद्य तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय र उपभोक्तावादी सङ्घ-संस्थाले संयुक्त अनुगमनमा गुणस्तरहीन मिर्ठाई तथा गुदपाक, घ्यू उद्योगका सञ्चालकहरूलाई पक्राउ गरेको थियो । प्रहरीले न्युरोडस्थित कर्नर ताज गुदपाक भण्डारका सञ्चालक मदनबाबा मास्के, श्रीकृष्ण गुदपाकका सञ्चालक मिलनलाल मास्के, अनमोल स्विट्सका शर्मा, म्यानेजर सुमान थापा, कन्हैया घ्यूका लोकेश अग्रवालाई पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरी हिरासतमा राखिएको छ ।

रावलमाथि फेरि चल्यो बन्चरो
बहुचर्चित अर्थविद् एवम् नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर डा. तिलक रावलमाथि फेरि ‘बन्चरो’ चलाइएको छ । सभासद्समेत रहनुभएका डा. रावलको नाम सम्भावित मन्त्रीका रूपमा चर्चामा आउनु र ठीक यही समय पारेर उहाँमाथि प्रहार हुनुलाई एउटा संयोग मात्र मानिएको छैन । शरतसिंह भण्डारीले नभए पनि अरू कसैले रावलको बाटो छेक्ने प्रयासस्वरूप पोलिमोर नोट छपाइबारेको नकारात्मक प्रचारबाजी गरेको हुनसक्ने देखिएको छ । प्लास्टिक नोटको छपाइ तात्कालिक गभर्नर डा. तिलकको एकल निर्णयबाट नभई सम्बन्धित तहबाट विधिवत् प्रक्रिया पूरा भई मन्त्रिमण्डलको समेत अनुमतिपश्चात् राष्ट्र बैंक सञ्चालक समितिले गरेको हो । कागजी नोटको विकल्पमा जान खोजिएको हुँदा त्यसको निर्णय-प्रक्रियामा राष्ट्र बैंकअन्तर्गतका विभिन्न निकायदेखि मन्त्रिमण्डलसम्मको सहभागिता रहेको देखिन्छ । अस्टे्रलियाका तात्कालिक राजदूतको विशेष पहल र सक्रियतामा भएको उक्त निर्णयपश्चात् अस्टे्रलियन कम्पनीले ठूलो क्षति व्यहोर्नुपरेको थियो । केही नोटहरू त्रुटिपूर्ण रहेकाले जलाइएको र निर्धारितभन्दा बढी मात्रामा छापिएका नोटहरू राष्ट्र बैंकले अस्वीकार गरिदिएका कारण अस्ट्रेलियाली कम्पनीले क्षति व्यहोर्नुपरेको थियो र सोही क्षतिका कारण कम्पनीका नेपाली एजेन्ट हिमालय पाण्डे र कम्पनीबीच विवाद एवम् तनाव उत्पन्न भएको बताइन्छ । एजेन्ट भएका कारण पाण्डेले कमिशन प्राप्त गर्नु एउटा स्वाभाविक प्रक्रिया हो, तर कमिशन एजेन्टले गभर्नरलाई पनि केही नगद दिए कि भन्ने आशङ्काकै आधारमा रावललाई सन्देहको घेरामा तान्न खोज्नुलाई चाहिँ स्वाभाविक मानिएको छैन । प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा हुन लागेको मन्त्रिमण्डल विस्तारसँगै जोडेर यस घटनालाई लिइएको छ । यस सम्बन्धमा डा. तिलक रावलको ध्यानाकर्षण गर्दा उहाँले भन्नुभयो, ‘यो प्रकरणको वास्तविकताबारे नेपाली जनताले थाहा पाउनुपर्छ । मेरो मानमर्दन गर्ने उद्देश्यबाट प्रचारबाजी सुरु गरिएको भए पनि यो सार्वजनिक चासोको विषय भइसकेको छ । सम्बन्धित निकायले यथाशीघ्र छानबिन तथा अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने काम गरोस् भन्ने मेरो माग र चाहना छ । यसभन्दा बढी मलाई केही भन्नु छैन ।’
स्मरणीय छ, बितेका केही समययता डा. तिलक रावल मन्त्री बन्ने चर्चा चल्दै आएको छ । चर्चासँगै उहाँमाथिको प्रहार पनि तीव्र हुँदै गएको छ ।

सक्रिय भयो पुरानै टिम
नेकपा माओवादीलाई पूर्ण राजनीतिक प्रवाहमा भित्र्याउन सक्रिय रहेको कृष्णप्रसाद सिटौला र डा. अमरेशकुमार सिंहको टोली लामो अन्तरालपछि पुन: सक्रिय भएको छ । डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनेयता सिटौला र सिंहको सक्रियता निकै बढेको छ र यसबीचमा अनेकौँ गोप्य बैठक सम्पन्न भइसकेका छन् । गत भदौ २० गते मंगलबार प्रधानमन्त्री डा. भट्टराईको निवासमा डा. अमरेश र कृष्णको मध्यरातसम्म बैठक चलेको थियो । उक्त बैठकमा के कुरा भयो भन्ने कुरा गोप्य रहे पनि हिजो मंगलबारको बैठक भने गोप्य रहेन ।
प्राप्त जानकारीअनुसार नेपाली काङ्ग्रेसका महामन्त्री कृष्ण सिटौला र काङ्ग्रेसका युवानेता डा. अमरेशकुमार सिंह, प्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्डबीच प्रचण्डनिवासमा लामै छलफल भएको थियो ।
बैठकमा काङ्ग्रेसका तर्फबाट सिटौला र सिंहले वाईसीएलका गतिविधि, कब्जा गरिएका जग्गा र सम्पत्तिलगायतका मुद्दाहरूमा विशेष जोड दिनुभएको थियो । माओवादीका तर्फबाट लडाकुको व्यवस्थापनका बारेमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराईले विशेष सरोकारसहित कुराकानी गर्नुभएको बुझिएको छ । छलफलपछि माओवादीले कब्जा गरेका जग्गा र सम्पत्ति फिर्ता गर्ने, पोखरा र बुटवलमा रहेका वाईसीएल क्याम्प खाली गर्ने र काङ्ग्रेस, एमाले, माओवादी, मधेसी मोर्चालगायतका दलहरूबीच सहमति गरेर विशेष समितिमार्फत लडाकुको पुन: वर्गीकरण गर्ने कुरामा सहमति भएको थियो । लडाकु पुन: वर्गीकरणको कुरालाई लिएर दलहरूबीच आज बुधबार नै सहमतिको प्रयास सुरु गरिने कुराकानी पनि त्यहाँ भएको थियो ।

मोतीलाल घरघरमा
पदीय दुरुपयोग गरि अकुत सम्पत्ति कमाएको मुद्दामा सर्वोच्च अदालतले छानबिन प्रक्रिया अन्तिम चरणमा पुर्‍याएपछि पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरा छटपटीमा परेका छन् । प्रहरीप्रमुख भएको समयमा खरिद गरेको घरजग्गा तथा विभिन्न बैंकमा रहेको सम्पत्तिको स्रोत नखुलेपछि बोहोरा अहिले सुडान प्रकरणका दोषीहरूजस्तै आफू पनि कारबाहीको दायरामा पर्ने हो कि भनेर शक्तिकेन्द्रतिर धाउनसमेत सुरु गरिसकेका छन् । बोहोराको दुई करोड ३८ लाख २३ हजार ६ सय २७ रुपैयाँ ३७ पैसाको सम्पत्तिको स्रोत खुलेको छैन । ०४९ सालदेखि २०५३ सालसम्म प्रहरी महानिरीक्षक बनेका बोहोरालाई दुई करोड ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले सफाइ दिए पनि अभियोग सर्वोच्चमा विचाराधीन छ । विधाराधीन भ्रष्टाचारको मुद्दामा अख्तियारले कारबाही प्रक्रिया धमाधम अघि बढाएपछि त्यसको फैसला चाँडै हुने डरले बोहोरा अहिले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईका साथै काङ्ग्रेस र एमालेका शीर्ष नेताहरूलाई समेत भेटेर आफूलाई जोगाइदिन अनुरोध गर्दै आएका छन् । ०४८ सालपछि प्रहरीमा नेताहरूको आशक्ति बढ्न थालेको समयमा बोहोरा प्रहरी प्रमुख भएका थिए । राजनीतिक कारण नै उनी महानिरीक्षक हुँदा प्रहरीभित्र फुटाउ र राज गरको नीति खडा भएको थियो । जुन पार्टीका नेता गृहमन्त्री भए तिनले प्रहरी संयन्त्रलाई दल र चुनावका लागि प्रयोग गर्ने क्रममा बोहोराले पनि अकुत सम्पत्ति जोडेका हुन् । देशका सबैजसो प्रमुख सहरहरूमा भव्य भवनहरू भएका बोहोराको मुद्दा विशेष अदालतबाट सम्पत्तिको स्रोत खुलाउनका लागि हदम्यादको आधारमा खारेज भएको थियो । तत्कालीन प्रधानान्यायाधीश अनुपराज शर्मासमेतको इजलासले भ्रष्टाचारको मुद्दामा हदम्याद लाग्दैन भन्ने फैसला गरेपछि त्यसकै आधारमा आफ्नो मुद्दा फैसला भएकोले जोगाउनका लागि बोहोरा अहिले बिहानदेखि बेलुकीसम्म शक्तिकेन्द्रहरूमा धाउने गरेका छन् । उनीनिकटका व्यक्तिहरू भन्छन्- अकुत सम्पत्तिका मालिक बोहोरा सम्पत्ति गुम्ने र जेल जानुपर्ने डरले मुद्दा खारेजी प्रक्रियाका लागि शक्तिकेन्द्रहरूको सम्पर्कमा गएका हुन् । अरूलाई नियम-कानुनमा बाँध्ने कानुनका रक्षक मानिने प्रहरी सङ्गठनका पूर्वप्रमुख संग्लन रहेको मुद्दालाई अलि विस्तृत रूपले हेरेर केही समयमा नै अन्तिम फैसला गर्ने तयारीमा सर्वोच्च पुगेको छ । प्रहरीको छवि नै धुमिल हुनेगरी भ्रष्टाचार भएकोले बोहोरालगायतका पूर्वप्रमुखहरूको मुद्दामा प्रहरी सङ्गठनभित्रैबाट पनि सर्वोच्चले पछिल्लो समयमा सहयोग पाइरहेको छ । एक प्रहरी अधिकृत भन्छन्, ‘छानबिन गर्ने हो भने सुडानभन्दा ठूलो भ्रष्टाचार बोहोराले गरेको प्रमाणित हुनसक्छ ।’
स्मरणीय छ, यिनै मोतीलालका ज्वाइँ सनत बस्नेत भने अख्तियारको प्रमुख बन्न नेताहरूको घर-घर चहारिरहेका छन् । बस्नेतलाई माओवादी अध्यक्ष प्रचण्डको संरक्षण प्राप्त भएको छ ।

चर्चका कारण सास्ती
विश्वको एक मात्र हिन्दूराष्ट्रलाई धर्मनिरपेक्ष घोषित गरेपछि राजधानीका टोलटोलमा खुलेका चर्च र तिनमा हुने कार्यक्रमले ध्वनि प्रदूषण फैलाएको भनेर उजुरी दिने क्रम बढ्दै गएको छ । पछिल्लोपल्ट यसरी उजुरी दिनेमा सीतापाइला वाफलका सञ्जय अधिकारी रहेका छन् । अधिकारीले चर्चमा भेला भएका मानिस र तिनले आयोजना गर्ने कार्यक्रमले ध्वनि प्रदूषण फैलाएर टोलवासीको अमनचैन खलबल्याएको उल्लेख गर्दै यही विषयलाई लिएर कुनै अप्रिय घटना नहोस् भनी कारबाहीको माग गरेको बताएका छन् ।
प्रधानमन्त्री, गृहमन्त्री, स्थानीय विकासमन्त्री, जिल्ला प्रशासनलगायतमा दिइएको निवेदनमा न्यू हेमन चर्चमा हुने गरेका गतिविधिले टोलवासीलाई अशान्त बनाएकोले त्यस्ता कार्य तुरुन्त बन्द गर्नका लागि माग गरिएको छ । नेपालमा अहिले जुन मात्रामा चर्चहरूको सङ्ख्या बढिरहेको छ यत्तिकै तीव्रता रहेमा टोल-टोलबाट मानिसहरू चर्चविरुद्ध बाहिर नआउलान् भन्न सकिन्न । नयाँ नेपाल बनाउने क्रममा नेताहरूले राज्यलाई धर्मनिरपेक्षता घोषित गरी चर्च-संस्कृति भित्र्याएका हुन् ।

सत्ता गुमेपछि बैठक शान्त
पाँच वर्षसम्म लगातार सत्ताको स्वादमा रमाउँदै आएको एमाले यतिबेला शान्ति र संविधान निर्माणमा पार्टीको धारणा तय गर्ने भन्दै केन्द्रीय कमिटी बैठकमा चर्का बहस गरिरहेको छ । पार्टी कार्यालयमा गत सोमबारबाट सुरु भएको बैठकमा संविधान निर्माणका विषयमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे स्पष्ट धारणा बनाउनुका साथै राष्ट्रिय राजनीतिक परिस्थितिबारे पनि ठोस विश्लेषण गरी निष्कर्षमा पुग्ने बताएको छ । शान्ति र संविधानलाई बैठकको प्रमुख एजेण्डा बनाएको एमालेले १४ मङ्सिरपछिको अवस्थाबारेसमेत विश्लेषण गर्ने बताएको छ । तर, कस्तो विश्लेषण भन्नेबारे भने नेतृत्वले कुनै एजेण्डा नै बनाएको छैन । सूत्रका अनुसार १४ मङ्सिरमा पनि संविधानको ड्राफ्टसम्म पनि आउन सक्ने अवस्था नरहेको एमालेको बुझाइ छ । तर, ड्राफ पनि आउन नसकेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारेमा कुनै योजना बनाएको छैन ।
संविधान निर्माण, राज्यपुनर्संरचना तथा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा एमालेको स्पष्ट दुई धार छ । त्यसो त विगत दुई वर्षदेखि स्थायी, पोलिटब्युरो वा केन्द्रीय कमिटीको हरेक बैठकमा संस्थापन र ओली नेपाल पक्षबीच यिनै विषयमा चर्काचर्की पर्नुका साथै पानीबाराबारको अवस्थासमेत आएको थियो । तर, यसपटक भने पहिलेजस्तो विवाद नहुनेमा उनीहरू विश्वस्त छन् । अध्यक्ष खनालले बैठकको सुरुवात गर्दै सोमबार पार्टीभित्र देखिएका गुट, उपगुट, अराजकता मैलाउँदै गए पार्टीका सबै संरचना पुनर्गठन गर्नुपर्नेसम्मको अवस्था आउन सक्छ भनेपछि बैठकमा केहीबेर तनाव उत्पन्न भएको थियो । अध्यक्ष खनालले त्यसबारे तत्कालै प्रस्टीकरण दिएपछि बैठकको असहज वातावरण शान्त भएको थियो । सूत्रका अनुसार बैठकमा देखिएको असहज वातावरण साम्य पार्न यसअघि खनालको कडा आलोचकको रूपमा प्रस्तुत हुने प्रभावशाली नेता केपी ओलीले पनि खनालकै साथ दिनुभएको थियो ।
एमाले नेता योगेश भट्टराईका अनुसार सत्ताको भागवण्डा नमिलेकाले पार्टीभित्र असन्तुष्टि बढ्दा एक-अर्काबीच भनाभनको स्थितिको सामना गर्नुपरेको तर अहिले पार्टी सत्तामा नरहेकोले त्यो अवस्था नआउन सक्छ । ‘पार्टीलाई एक बनाएर लैजानुको विकल्प छैन,’ भट्टराईले भन्नुभयो, ‘यतिखेर सत्ताभन्दा शान्ति र संविधान निर्माणकार्य पूरा गराउन र पार्टीलाई जोगाउनु नै एमालेको प्रमुख दायित्व हो, त्यो भूमिका एमालेले निर्वाह गर्छ ।’
बैठकमा माओवादी र मधेसी मोर्चाबीच भएको चारबुँदे समझदारीको विरोध भएको छ । उनीहरूले माओवादी र मोर्चाबीचको सहमतिले मुलुकमा दूरगामी असर पार्ने भएकाले त्यसविरुद्धमा उत्रनुपर्नेमा जोड दिएका थिए । उनीहरूले सरकारको कामको प्रकृतिका आधारमा सहयोग वा असहयोगको नीति लिनुपर्नेमा जोड दिँदै शान्ति र संविधान निर्माणमा भने काङ्ग्रेस र माओवादीलाई एक गराउने अभियानमा एमाले सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । घात-प्रतिघात, आरोप-प्रत्यारोभन्दा शक्ति आर्जन, सङ्गठन सुदृढीकरण, जिम्मेवार प्रतिपक्षको भूमिकाको पहलकदमी लिएर अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो । माओवादीको विश्वासमा पर्दा पार्टी नै सकिन लागेको भन्दै बैठकमा बोल्ने अधिकांश सदस्यले माओवादी र पार्टीभित्रको घात-प्रतिघातले एमाले नेतृत्वको सरकार असफल भएको जिकिरसमेत गरेका थिए ।
बैठकमा एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक, केन्द्रीय कमिटीका सदस्यको कार्य-विभाजन, आयोगको प्रतिवेदनहरू, आर्थिक विभागको प्रतिवेदन, राज्यको पुनर्संरचना आयोग सम्बन्धमा, संसदीय बोर्डको गठन, पार्टी कामको समीक्षालगायतका विषयमा छलफल गर्नेछ । पार्टीको आठौँ महाधिवेशनदेखि हालसम्म हुन नसकेको पार्टी कामको समीक्षा भने दसैँ समाप्ति लगत्तै बस्ने बैठकमा गरिने जनाएको छ ।

मैत्री सङ्घद्वारा राजदूतको स्वागत
नेपालका लागि नवनियुक्त भारतीय राजदूत जयन्त प्रसादको स्वागतमा नेपाल-भारत मैत्री सङ्घले गत आइतबार स्वागत कार्यक्रमको आयोजना गर्‍यो । सो अवसरमा राजदूत जयन्तले विद्यमान समस्याहरू हल गर्दै नेपाल सफलतातर्फ अगाडि बढे भारत पनि सफल हुने बताउनुभयो ।
नेपाललाई सफल बनाउन सबैको ध्यान आर्थिक एजेण्डामा केन्द्रित गर्नुपर्ने औंल्याउँदै उहाँले त्यसका लागि भारत सबैखाले सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । नेपालको राजदूतको रूपमा आफ्ना पिता विमल प्रसादले नेपाल र भारतबीच सम्बन्ध मजबुत तुल्याउन गरेको प्रयासको स्मरण गर्दै त्यसलाई निरन्तरता दिएर दुई छिमेकीबीच सम्बन्ध अझै विकसित र सुमधुर बनाउन आफू कटिबद्ध रहने अठोट राजदूत जयन्तले सो अवसरमा गर्नुभयो ।
मैत्री सङ्घका अध्यक्ष ओमप्रकाश सराबगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सङ्घका पदाधिकारीहरू, विद्वत्जन, सञ्चारकर्मीसहित विभिन्न क्षेत्रका व्यक्ति-व्यक्तित्वहरूले राजदूतको स्वागत गर्दै बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा भारतीय राजदूतवासका मिनिष्टर पिटर हनान, प्रथम सचिव अपूर्वा श्रीवास्तवको पनि उपस्थिति थियो ।

साँघुटारमा ऐतिहासिक हेल्थ क्याम्प
रामेछापको साँघुटारमा बृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाकै इतिहासमा बृहत् रूपमा सञ्चालित उक्त स्वास्थ्य शिविरमा करिब दुई हजार गरिब तथा नि:सहाय गाउँवासीका साथै ओखलढुङ्गाका छिमेकी गाविसका गाउँलेलेसमेत आफ्नो स्वास्थ्य परीक्षण गरी औषधिसमेत नि:शुल्क प्राप्त गरेका थिए । गत २४ र २५ गते सम्पन्न सो शिविरमा रगत परीक्षण तथा भिडियो एक्सरेको प्रब्ान्धसमेत गरिएको र उक्त अनुकरणीय शिविरमा गाइनेकोलोजी, आँखा, दाँत तथा अन्य विशेषज्ञ चिकित्सकहरूले निस्वार्थ सेवा उपलब्थ गराएका थिए ।
सँाघुटार समाजको प्रमुख आयोजना रहेको उक्त ऐतिहासिक स्वास्थ्य शिविरमा नोबेल हस्पिटल एन्ड रिर्सच सेन्टर प्रा.लि. सिनामंगलका मेडिकल डाइरेक्टर डा. लोचन कार्कीको नेत्ाृत्वमा विभिन्न विषयका चौध विशेषज्ञ चिकित्सकको संलग्नता रहेको थियो भने प्रयोगशाला परीक्षण सुविधाका साथै भिडियो एक्सरे, तामाकोसी सहकारी अस्पताल, मन्थलीका डा. सुमन कर्माचार्यको नेतृत्वमा आँखा तथा दन्त चिकित्सक उपलब्ध गराइएको थियो । नोबेल कलेज सिनामंगलका अध्यक्ष नवराज पाण्डे तथा डाइरेक्टर उत्तम भौकाजीको विशेष उपस्थितिमा कलेजका बीपीएचका छत्तीस विद्यार्थीसमेतले स्वयम्सेवी भूमिका निर्वाह गरेका थिए ।
दावाँली मिलन क्लब काठमाडांैका महासचिव रोशन श्रेष्ठ, सचिव सुरेशबाबु श्रेष्ठ, सदस्यहरू नीरजबाबु तथा रजना श्रेष्ठले सम्पूर्ण स्वास्थ्य शिविरको पर्यवेक्षण साथै सञ्चालनमा विशेष भूमिका निर्वाह गर्नुभएको थियो । शिविरको समापन तथा प्रशंसापत्र वितरण कार्यक्रमको अध्यक्षता साँघुटार समाजका अध्यक्ष डा. रामकुमार भौकाजीले गर्नुभएको थियो भने प्रमुख अतिथि प्रहरी नायव उपरीक्षका सञ्जीव शर्माले कार्यक्रमका आयोजकलाई विशेष धन्यवाद ज्ञापन गनुको थियो ।
कार्यक्रममा साँघुटार समाजका सचिव उज्जनकुमार श्रेष्ठले सम्पूर्ण तयारीका गतिविधिहरूबारे जानकारी गराउनुभएको थियो भने साँघुुटार बजारका वरिष्ठ समाजसेवी एवम् उद्यमी बद्रीदास भौकाजीको विशेष सहयोग रहेको थियो । स्थानीय साँघुटार बजारका वरिष्ठ व्यक्तित्व एवम् हेल्थपोष्ट इन्चार्ज मदन भौकाजी र राजकुमार श्रेष्ठद्वारा स्थानीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न्ा गरिएको थियो ।
रामेछाप इतिहासमै यस्तो किसिमको बृहत् स्वास्थ्य शिविर पहिलोपटक आयोजना भएको डा. सुमन कर्मचार्यलगायत जिल्लाका प्रतिष्ठित व्यक्तित्वहरूले बताए ।

प्रकाशमानको प्रस्ट कुरा
नेपाल कम्युनिस्ट पार्टी माओवादीले देशका विभिन्न शिविरमा राखेका आफ्ना लडाकुहरू सर्वमान्य रूपमा समायोजन नभएसम्म अहिले गतिरोध रहेको शान्तिप्रक्रिया टुङ्गोमा नपुग्ने नेपाली काङ्ग्रेसका महामन्त्री प्रकशमान सिंहले नेपाली काङ्ग्रेस ललितपुर उपमहानगर समितिको प्रथम सम्मेलनमा बताउनुभएको छ ।
समारोहमा महामन्त्री प्रकाशमान सिंहले मुलुकको वर्तमान तरल राजनीतिक अवस्थामा नेपाली काङ्ग्रेस सङ्गठनात्मक रूपमा सबल र सुदृढ नभएमा लोकतान्त्रिक शक्ति कमजोर भई मुलुकमा ठूलो दुर्घटना हुन सक्ने धारणा व्यक्त गर्नुभयो । साथै नेपाली काङ्ग्रेस पार्टीको बाह्रौँ महाधिवेशनले सभापतीय पद्धतिबाट सहमतीय पद्धतिमा पार्टी रूपान्तरित भइसकेकोले सबैलाई सोहीअनुसार व्यवहार गर्न अनुरोधसमेत गर्नुभयो ।
नेपाली काङ्ग्रेस ललितपुर उपमहानगरपालिका समितिका सभापति भरतलाल न्यांछ्योको सभापतित्वमा सम्पन्न उक्त नगर भेलाले वारि्षक प्रतिवेदन पारित गर्नुका साथै विभिन्न औद्योगिक एवम् व्यापारी संस्थानहरूमा नेपाल कम्युनिस्ट पार्टी -माओवादी) का भ्रातृ सङ्गठनका मजदुरले बलजफ्ती गैरमाओवादीलाई निष्कासन गर्न लगाएको, विश्व बजारमा इन्धनको मूल्य क्रमिक रूपमा घट्दा पनि नेपाल आयल निगमले सोअनुरूप मूल्य समायोजन नगरेको, चाडपर्व नजिक आइसक्दा पनि बजारमा अनियन्त्रित मूल्य वृद्धि भएकोमा सरकारले बेवास्ता गरेको साथै बिजुलीमा भइरहेको लोडसेडिङलाई घटाउन कुनै दीर्घकालीन योजना नल्याएकोमा सो सम्बन्धमा कडा प्रस्ताव पारित गरी निकट भविष्यमा आन्दोलनसमेत गर्ने निर्णय गरेको छ ।
पूर्व केन्द्रीय सदस्य एवम् नेता ओमकारप्रसाद श्रेष्ठ, सभासद् रामकृष्ण चित्रकार, पार्टीका जिल्ला सभापति मदनबहादुर अमात्यलगायतका नेतृत्व वर्गले मुलुकको शान्ति र स्थायित्वका लागि वर्तमान सरकार एवम् माओवादी नेतृत्वको नक्कली एवम् फजुल प्रचारमुखी कुरामाथि विश्वास नगर्न उक्त समारोहमा आग्रह गर्नुभएको थियो ।

ठेकेदार र जिविसबीच आरोप-प्रत्यारोप
लामो समयदेखि अलपत्र रहेको जिल्ला विकास समिति लमजुङको प्रशासकीय भवन निर्माणकार्य पुन: सुरु भएको छ । अब तीन महिनामा भवन निर्माणकार्य पूरा हुने ठेकेदार कम्पनीले जानकारी दिएको छ । लामो समयसम्म ठेकेदारले काम नगर्दा ढिलाइ भएको भनिएको भवन निर्माण काम पुन: सुरु भएपछि नयाँ भवन पाउने भएकाले जिल्ला विकास समितिका कर्मचारीमा खुसी छाएको छ ।
दुइ वर्षअघि काठमाडौंको टौदह कन्स्ट्रक्सनले निर्माण गर्दै आएको दुईतले र १४ कोठा रहने भवन निर्माण पटक-पटक समय थप गरिए पनि सम्पन्न हुन सकेको थिएन । गएको असार ८ गतेसम्म निर्माण सकिनुपर्ने भवन हालसम्म ६० प्रतिशत मात्र काम सकिएको छ । अहिले ठेकेदार कम्पनीले दोस्रो तलाको ढलान सुरु गरेको छ । कम्पनीले भवनको दोस्रो तलाको ढलान काम गर्न खोजे पनि केही प्राविधिक कमजोरी देखिएको भन्दै जिल्ला विकास समितिले ढलान कार्य बन्द गर्न लगाएको थियो । ढलानमा प्रयोग भएको सिमेन्ट, छड, गिट्टी, बालुवा सबै चेकजाँच गरेर मात्र ढलान प्रक्रिया अघि बढाउनका लागि काम रोकिएको जिल्ला प्राविधिक कार्यालयका प्राविधिक इन्जिनियर वामदेव पौडेलले जानकारी दिए ।
टौदह कन्स्ट्रक्सनका ठेकेदार राधाकृष्ण कार्कीले भने आफूले प्रयोग गरेको सामग्री सरकारी मापदण्डअनुसार सबै ठीक रहेको दाबी गरे । जिल्ला विकास समितिका प्राविधिक तथा इन्जिनियरले काम अगाडि बढाउने निर्देशन नदिएसम्म आफूले काम अगाडि बढाउन नसक्ने भएकाले काम रोकेको उनको कथन छ । ०६५ माघबाट सुरु भएको भवन निर्माणको काम दुई वर्ष पुग्न लाग्दा पनि सम्पन्न हुन नसकेपछि भवन निर्माण काममा अनियमितता भएको गुनासो बढ्न थालेको छ । तर, जिल्ला विकास समिति भने त्यस्तो भन्नेलाई हरहिसाब र कागजपत्र हेर्न चुनौती दिँदै ठेकेदारकै कारण काम ढिलाइ भएको बताउँदै आएको छ ।
ठेकेदार कार्की भने जिविसले समयमा भुक्तानी नदिने, बिल तथा कागजपत्र अगाडि नबढाउने गरेकाले काममा ढिलाइ भएको दाबी गर्छन् । तर, कार्कीका कुरा जिल्ला विकास समिति मान्ने पक्षमा छैन । भ्याटबाहेक एक करोड रुपैयाँ लागत रहेको सो भवन निर्माणका क्रममा ठेकेदारले जिविसबाट हालसम्म करिब आधा रकम लगिसकेको एक कर्मचारीको दाबी छ । -छविलाल बगाले

‘दीपेन्द्र-गीता शिक्षा कोष’बाट छात्रवृत्ति
विद्यालय शिक्षामा बालबालिकाको पहुँच वृद्धिका लागि ‘दीपेन्द्र-गीता शिक्षा कोष’ले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रम सुरु गरेको छ । कोषले यस शैक्षिक सत्रमा चितवन जिल्लाका विभिन्न ६ वटा विद्यालयमा अध्ययनरत ३८ विद्यार्थीका लागि करिब ३५ हजारबराबरको छात्रवृत्ति वितरण गरेको जानकारी गराएको छ ।
‘विद्या धनम् सर्व धनम् प्रधानम्’ भन्ने नाराका साथ स्थापित कोषमा हाल पाँच लाख असी हजार रकम रहेको कोषका संस्थापकमध्येका एक दीपेन्द्र सुवेदीले जानकारी दिए । आफू जन्मे-हुर्केको क्षेत्रमा विभिन्न कारणले विद्यालय शिक्षाबाट वञ्चित र विद्यालय शिक्षालाई निरन्तरता प्रदान गर्न नसक्ने बालबालिकाले सहज रूपमा अन्य सामान्य बालबालिकासरह शिक्षा प्राप्त गर्न सकून् भन्ने मुख्य अभ्रि्रायले कोष स्थापना गरिएको सुवेदीको कथन छ ।

एनआरएन भेलामा हेलमेटको खोजी
गैरआवासीय नेपाली सङ्घ, यूकेको चौथो वारि्षक साधारणसभा तथा नयाँ कार्यसमितिका लागि निर्वाचन लन्डनको अर्ल्पर्टनस्थित एक स्कुलमा सम्पन्न भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा पूर्वउपाध्यक्ष कुल आचार्य चुनिएका छन् भने उपाध्यक्षद्वयमा महेन्द्र कँडेल र थर्क सेन विजयी बनेका छन् । यसैगरी महासचिवमा रामशरण सिम्खडा, कोषाध्यक्षमा दिलराज गुरुङ निरि्वरोध चुनिएका थिए भने सहसंयोजकमा सूक्ष्मा लिम्बू तथा सदस्यहरूमा बसुन्धरा राई, दशुराम पाण्डे, एकबहादुर पुन, गणेशबहादुर गुरुङ, कृष्णप्रसाद तिमिल्सिना, राजकुमार क्षेत्री, रमेश बास्तोला, संगीता मरहठ्ठा र शान्ति थापा विजयी भएका छन् ।
तत्कालीन महासचिव भक्त गुरुङबाट सञ्चालन गरिएको सो कार्यक्रमको अध्यक्षता सोही कार्यसमितिका अध्यक्ष सूर्य गुरुङले गरेका थिए भने बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यसहित एनआरएनका केन्द्रीय संरक्षक समितिका सदस्य रामप्रताप थापा, आईसीसी एडभाइजर तथा एनआरएनए यूकेका संरक्षक प्रोफेसर सूर्य सुवेदी, केन्द्रीय कोषाध्यक्ष रामेश्वर शाह, एनआरएन युरोप संयोजक रि. क्या. हितमान गुरुङ, युरोप सहसंयोजक रवीन्द्रमान श्रेष्ठ र एनआरएनए यूकेको २०११ को निर्वाचन कमिटी प्रमुख डा. राघव धिताल विशेष अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित भएका थिए ।
समारोहमा जीव बेल्वासेले स्वागत मन्तव्य दिएपछि सम्पूर्ण सङ्घसंस्थाको प्रतिनिधित्व गर्दै युनाइटेड ब्रिटिस गर्ुखा एसोसिएसनका अध्यक्ष ज्ञानराज राई, एमाले केन्द्रीय कमिटीका सदस्य कर्ण थापालगायत विशेष अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए । एनआरएनएका केन्द्रीय अध्यक्ष देवमान हिराचनको मन्तव्य पत्र पढेर र केन्द्रीय उपाध्यक्ष जीवा लामिछानेको रेकर्डर्ेेभिडियो मन्तव्य देखाइएको थियो । मन्तव्यको क्रममा एमालेका केन्द्रीय सदस्य कर्ण थापाले एकपटकको नेपाली सधैंको नेपाली भन्ने नारा अत्यन्तै सान्दर्भिक भएको, दोहोरो नागरिकताको मागको तुलनामा र त्यसका लागि कुनै पनि बेला आफूले आफ्नो पार्टीको तर्फबाट यस विषयमा लबिङ पनि गर्ने जनाएका थिए भने थापाको सो भनाइप्रति त्यसपछिका एनआरएनएका सबै वक्ताले खुसी व्यक्त गरेका थिए । प्रोफेसर सूर्य सुवेदीले नेपालका गाउँ-पहाडमा जन्मेर पनि अहिले कतिपय नेपालीले अन्तर्राष्ट्रिय क्षेत्रमा नै आफ्नो योग्यताको प्रमाण दिइरहेको सन्दर्भमा त्यस्ता प्रतिभालाई नेपालसँग जोडी कर्तव्यनिष्ठ बनाउने क्रममा पनि नेपाल सरकारले दोहोरो नागरिकताको व्यवस्था गर्नैपर्ने धारणा अघि सारे । १ सय ४६ देशमा फैलिएका गैरआवासीय नेपाली हरेक पक्षमा नेपालकै स्रोत हुन् र त्यसको उपयोग गर्न नेपाल चुक्नुहुँदैन भन्ने प्रोफेसरको आशय थियो ।
पुरानो कार्यसमितिलाई भङ्ग गर्दै नयाँ कार्यसमिति खडा नहुन्जेल पाँच सदस्यीय तदर्थ समितिको नाम घोषणा गरेर उक्त औपचारिक कार्यक्रमको समापन गर्ने क्रममा सभाका अध्यक्ष तथा तत्कालका एनआरएनए यूकेका अध्यक्ष सूर्य गुरुङ मन्तव्यको बेलामा केही भावुक बनेका थिए । संयोजक टोली रामप्रताप थापा, रामेश्वर शाह, क्या. हितमान गुरुङ, रवीन्द्रमान श्रेष्ठ र चिरञ्जीवी ढकालहरूद्वारा पुरानो कार्यसमितिका कोषाध्यक्ष थर्क सेनको आर्थिक प्रतिवेदन, महासचिव भक्त गुरुङको संयोजकीय प्रतिवेदन र अध्यक्ष सूर्य गुरुङको संस्थापन कार्यगत प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
उता निर्वाचनको बेला हलबाहिर दर्जनौँ मतदाता आफूले भोट हाल्न नपाएकोमा आक्रोश व्यक्त गर्दै थिए । उनीहरूको विरोधका कारण केही समय कार्यक्रम नै स्थगित गर्नुपरेको थियो । त्यसरी भोट हाल्न नपाएको गुनासो गर्नेलाई सुनाउँदै चिरञ्जीवी ढकालले केही व्यक्तिको नाममा भोट हालिएको नामसहित खुलासा गरिदिएका थिए भने आफ्नो नाममा कसले भोट हालेछ भन्दै रुष्ट हुनेहरूको सङ्ख्या पनि बाक्लिँदै थियो । नयाँ कार्यसमितिका लागि अध्यक्ष पदका प्रत्याशी रहेका सूर्य नेम्वाङले आफ्नो नाम मतदाता नामावलीमा नरहेकोमा प्रतिस्पर्धी कुल आचार्यसँग ‘तपाईं मलाई चिन्नुहुन्छ, होइन ? म तपाईंको प्रतिस्पर्धी भएर यस चुनावमा उठेको छु, तर मेरो आफ्नो नाम नै भोटरलिस्टमा छैन, किन -‘ भनी सोधिरहेका भेटिए । हलबाहिरको भीडमा ‘अब यहाँ टाउको फोडिन सक्छ है, कसैसँग छ भने हेलमेट देऊ न !’ भन्दै हिँडेका व्यक्ति पनि देखिएका थिए । सोही हलमा केही बुद्धिजीवीहरू ‘यो सामाजिक संस्था हो, नेपालको कुनै सरकारी संस्था होइन, न एनआरएनएले नेपालका लागि केही गर्न सकेका छन् न यहाँका नेपालीका लागि नै केही गर्न सकेका छन्, विभिन्न सङ्घसंस्थाका कार्यक्रमहरूमा अतिथिको बिल्ला लगाएर आसन ग्रहण गर्ने अनि ग्लोबल कन्फरेन्समा गमक्क परेर नेपाल पुगी नेपाली नेताहरूका साथमा लञ्च तथा डिनर गर्नेभन्दा यिनको केही ध्येय नै छैन, बेकारमा भोट हाल्न पाउनु-नपाउनुको गुनासो गर्दै छन्, आखिरमा जता भए पनि नेपाली भनेका भेडा नै रहेछन्…’ भनिरहेका थिए । तीमध्येका एक कालो कोट लगाउने केदार थापा नेपालीलाई भेडाको संज्ञा दिँदै बाहिरिएका थिए ।
-प्रकाश के.सी.

मानवताका लागि शान्ति र संस्कृति अभियान
चर्चित कलाकार, सङ्गीतकार र समाजसेवामा समर्पित युवाको पहलमा मानवताका लागि शान्ति र संस्कृति अभियान सुरु गरिएको छ । त्यसका लागि मानवताका लागि शान्ति र संस्कृति (प्याच नेपाल) नामक संस्थासमेत गठन गरिएको छ ।
राजधानीको शान्तिनगरस्थित नि:सहाय सेवा सदनका वृद्धवृद्धालाई खाना खुवाएर हालै अभियानको सुरुवात गरियो । त्यसक्रममा वृद्धवृद्धालाई पोसाक पनि वितरण गरिएको थियो । संस्थाको अध्यक्षमा प्रितम खड्का चयन भएका छन् भने चर्चित सङ्गीतकार महेश खड्का उपाध्यक्ष छन् ।
कार्यक्रममा वृद्धाश्रमका अध्यक्ष सगुन शाहले आश्रममा रहेका बुबाआमालाई खाना खुवाएर र लत्ताकपडा बाँडेर कुनै पनि संस्था र अभियानको सुरुवात हुनु सकारात्मक भएको बताइन् । ‘ठूला-ठूला तारेहोटलमा प्रधानमन्त्री र मन्त्री डाकेर गैरसरकारी संस्थाको उद्घाटन गर्ने परम्परा तोड्दै वृद्धाश्रमका वृद्धवृद्धाको सेवाबाट संस्थाको सुरुवात हुनु अरूका लागि पनि प्रेरणाको विषय हो,’ मानवताका लागि शान्ति र संस्कृतिका अध्यक्ष प्रितम खड्काले भने । आफ्नो कमाइलाई फजुल खर्चमा लगाउनुको साटो मानवता, शान्ति र संस्कृतिको जगेर्ना गर्दै सेवामा लगाउन संस्था गठन गरिएको अध्यक्ष खड्काले बताए ।
‘सामाजिक संस्थाका नाममा व्यक्तिगत सम्पत्ति थुपार्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने हाम्रो उद्देश्य हो,’ संस्थाका प्रवक्ता सन्तोष तामाङले भने । त्यसैगरी महासचिव हेमन्त राईले संस्थाको उद्घाटनमा बेसहारा तथा वृद्धवृद्धालाई भोजन र पोसाक वितरण गर्न पाउँदा आत्मैबाट खुसी लागेको बताए ।

निर्णय फिर्ता नभए आन्दोलन छेडिने
चारबुँदे सहमतिको आडमा मधेसीलाई समूहगत रूपमा नेपाली सेनामा प्रवेश गराउने सरकारी निर्णयको चुरेभावर पार्टीले तीव्र विरोध गरेको छ । पार्टी स्थापनाकालदेखि नै गैरनेपालीलाई अवैधानिक तवरले नागरिकता दिने कार्यको समेत विरोध गर्दै आएको सो पार्टीले मधेसी नेपालीका नाममा समूहगत रूपमा राष्ट्रिय सेनामा प्रवेश गराउने कार्यलाई मुलुक विखण्डनको नियोजित षड्यन्त्रको एउटा पाटोको रूपमा व्याख्या गरेको छ ।
सत्तामा पुग्न र यसलाई टिकाउनकै लागि यसरी राष्ट्रघाती मधेसी मोर्चासँग सम्झौता गरेको र राष्ट्रघाती कदम चालेको भन्दै सरकारको नेतृत्व गरिरहेको दल एनेकपा माओवादीप्रति खेद प्रकट गर्दै चुरेभावरका अध्यक्ष केशवप्रसाद मैनालीले सो निर्णय फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । मागको सुनुवाइ नभए आफ्नो पार्टी कठोर आन्दोलनमा उत्रने तथा समस्त नेपालीजनलाई देशघाती निर्णयविरुद्ध लागिपर्न आग्रह गरिने प्रेस विज्ञप्तिमार्फत अध्यक्ष मैनालीले जनाउनुभएको छ ।

यस्तो छ त्रिवि प्राध्यापक सङ्घको एजेण्डा
त्रिवि प्राध्यापक सङ्घ केन्द्रीय कार्यसमितिको हालै सम्पन्न निर्वाचनले राजनीतिशास्त्रका वरिष्ठ विद्वान् प्राध्यापक योगेन्द्रनारायण बर्बरियालाई अध्यक्ष चयन गरेको छ । सङ्घको उपाध्यक्षमा राजनीतिशास्त्रकै उच्च बौद्धिक व्यक्तित्वका रूपमा चिनिनुभएकी डा. निरू पोखरेल छानिनुभएको छ भने महासचिवमा अत्यन्त जुझारू र बोलेको कुरा व्यवहारमा उतार्न खप्पीस वरिष्ठ भूगोलविद् प्रेम खनियाँ निर्वाचित हुनुभएको छ । यसैगरी सचिवमा पार्टटाइमर तथा करारको आन्दोलनबाट उच्च शैक्षिक जगत्मा लोकप्रिय बन्न पुगेका प्राध्यापक नन्दकिशोर सिंह विजयी बन्नुभएको छ । सङ्घको सदस्यहरूमा समाजशास्त्री प्राध्यापक सुरेश आचार्यलगायतका प्राज्ञिक व्यक्तित्वहरू छानिएका छन् ।
त्रिवि प्राध्यापक सङ्घको नवगठित कार्यसमितिले प्रमुख एजेण्डाका रूपमा करारमा रहेका शिक्षकलाई स्थायी गर्ने, पाँच वर्ष उपप्राध्यापकमा स्थायी भएकाहरूलाई सहप्राध्यापकमा लड्न पाउन व्यवस्था सबै फ्याकल्टीमा गर्ने, पाँचवर्षो पीएचडी बिदा ५५ वर्ष उमेरसम्मका लागि लिन पाउनेजस्ता कुरा अघिसारेको छ । यसअघि नेपाल प्राध्यापक सङ्घको महासचिव रहँदा नै प्राध्यापक बर्बरियाले उच्च छवि कायम गर्नुभएको आधारमा उहाँको नेतृत्वको नयाँ कार्यसमिति सफल र ऐतिहासिक बन्ने कुरामा नागरिक समाज विश्वस्त रहेको जनाइएको छ ।

प्रजिअले हैसियत भुलेपछि…
लाहान/ सिराहाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद विडारीले पदीय तुजुक देखाएर सर्वसाधारणलाई तर्साउन थालेका छन् । राजनीतिक दलका कार्यकर्ता, सर्वसाधारणलगायत विभिन्न सरकारी कार्यालय तथा सङ्घ-संस्थामा कार्यरत कर्मचारीप्रति समेत प्रजिअ अधिकारीले रोव प्रदर्शन गरी दुर्व्यवहार गर्ने गरेको बुझिएको छ । सिराहामा प्रमुख जिल्ला अधिकारी पदमा सरुवा भई आउनुअघि कैलालीमा पहिलोपटक प्रमुख जिल्ला अधिकारी भएर गएदेखि निज विडारीमा पदीय अहम् बढेको भुक्तभोगीको कथन छ । कैलालीमा पदीय धाक प्रदर्शनले चरम रूप लिएर जनताबाट व्यापक विरोध भएपछि कृष्णबहादुर महरा गृहमन्त्री हुँदा सोही पदमा सिराहा सरुवा भएर आएका विडारी आएको तीन महिना नबित्दै जिल्लावासीको नजरमा गिर्न पुगेका हुन् ।
सिराहा पुगेको दश दिनमै भान्से रामहरि मण्डललाई निवासबाट हर्टाई आफ्ना नजिकका अर्कै व्यक्तिलाई भर्ती गरेपछि प्रजिअ विडारीको घटियापन उजागर हुन थालेको हो । श्रेणीविहीन कार्यालय सहायक रामहरि मण्डललाई निवासबाट हटाउनुको कारण विडारीले आफ्नो निवासमा तस्करी व्यापारीलाई बोलाएर कमिसन -घुस) लिने गरेको पोल खुल्ने डर नै हो भन्ने जिल्लामा यतिबेला व्यापक चर्चा छ । सहायक प्रमुख जिल्ला अधिकारी किशोर चौधरीमार्फत जिल्लाका विभिन्न विकासे सरकारी कार्यालयका प्रमुखहरूलाई फोन गरी ‘असार मसान्त कटिसक्यो किन भेट नगरेको ? जिल्लामा बस्नु छैन -‘ भन्ने धम्कीपूर्ण वाक्य प्रयोग गरी रकम असुल्ने कामसमेत प्रजिअबाट हुने गरेको बताइन्छ । उनको यस्तो व्यवहारको मारमा जिल्ला सडक कार्यालय, जिल्ला विकास समितिको कार्यालय, लाहान नगरपालिका, सिराहा नगरपालिकालगायतका निकायहरू परिसकेको घटनाले प्रजिअ विडारीको व्यवहारमा प्रश्नचिह्न लागेको छ ।
बताइएअनुसार प्रजिअ विडारीले सिराहा भन्सारको एक सवारीचालकलाई लिएर भन्सारकै गाडीमा सुनसरीको भेडेटार गई त्यहाँ अत्यधिक मदिरा सेवन गरी फर्कने क्रममा गाडी आफैं चलाउँदा दुर्घटनासमेत गराएका थिए । करिब चार सय फिट तल झरेर बाँसको झ्याङमा गाडी अड्किएर प्रजिअ विडारी र चालक बच्न सफल भए पनि प्रजिअ विडारीको देब्रेहात भाँचिएको थियो । पछि भीरमा खसेको क्षतिग्रस्त सरकारी गाडी क्रेन लगाई उठाएर ग्यारेजमा बनाउन दिएको घटनाले उनी जँड्याहा प्रजिअका रूपमा समेत सिराहामा चिनिन पुगेका छन् । भ्रष्टाचारमा लिप्त रहने, निवासमा रातारात तस्कर, कालाव्यापारी, ठेकेदार, भ्रष्ट कर्मचारीलाई बोलाई सम्झौता गरेर रकम असुल गर्ने र यसको पोल खुल्ने डरले आफ्नै कार्यालयका कर्मचारी सुनसरी घर भएका सुमन कोइरालालाई कारबाही गरी उदयपुर धपाएको पनि यतिबेला चर्चाकै विषय बनेको छ । बिनाकारण कार्यालयका कतिपय कर्मचारीलाई हप्काउने गरेको घटनाले कर्मचारीवृत्तमा व्यापक असन्तुष्टि छाएको छ ।
– बालेश्वर मुखिया