महरा भन्छन्- ‘केपीले मलाई फसाए’

महरा भन्छन्- ‘केपीले मलाई फसाए’


हिरासतमा रहेका कृष्णबहादुर महराले कम्युनिस्ट नेताहरूसँग भेट्न नचाहे पनि काङ्ग्रेसका केही नेतासँग भने हिरासतमै भेटेका छन् । नेकपाका नेताहरूप्रति निकै असन्तुष्ट र दुःखी रहेका महरा उनीहरूलाई भेट्न चाहँदैनन् । तर, यसबीचमा काङ्ग्रेसका केही नेताहरूसँग भने हिरासतको अवस्थामै भेटेका छन् ।

उनले काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग गत असोज २९ गते बुधबार नर्भिक अस्पतालको क्याबिनमा भेटेर २५ मिनेट लामो वार्तालाप गरेका थिए । त्यसैगरी कात्तिक १ गते शुक्रबार काङ्ग्रेसका युवा नेता एवम् सांसद डा. अमरेशकुमार सिंहसँग महराको २० मिनेट लामो वार्तालाप भएको थियो ।

गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवका रूपमा समेत चिनिएका काङ्ग्रेसका युवा नेता गोकर्ण पौडेलले भने अनामनगरस्थित हिरासत कक्षमै गएर महरासँग भेटेका थिए । काङ्ग्रेस नेताहरूसँगको भेटमा कृष्णबहादुर महराले आफूलाई केपी ओलीले फसाएको बताएका छन् ।

महराको भनाइ थियो, ‘अघिल्लोपटक केपी प्रधानमन्त्री भएका बेला उनलाई हटाउन मैले भूमिका निर्वाह गरेको भन्ने उनलाई परेको छ । त्यसबेलादेखि नै मसँग केपीको शत्रुता थियो । उनले मलाई सभामुख बन्न पनि नदिन खोजेका थिए । सभामुख पद छोडेर उपप्रधानमन्त्रीसहित मन्त्री बन्न प्रस्ताव गर्दा पनि मैले अस्वीकार गरेको थिएँ । त्यसपछि अग्नि खरेलकी श्रीमतीलाई अघि सारेर सम्बन्धित टोलमा सीसीटीभी जडान गरियो । त्यहाँ आर्मीको इन्टेलिजेन्स पनि खटाइएको थियो । केपीले मलाई मात्र होइन, मातृका यादव, कृष्ण सिटौला, अमरेश सिंह र वर्षमान पुनलाई समेत सिध्याउने योजना बनाएका छन् ।’

यसरी काङ्ग्रेस नेताहरूसँग खुलेर कुरा गरे पनि माधवकुमार नेपाललगायत नेकपाका नेताहरूसँग भेट गर्न उनले अस्वीकार गरेका छन् । आफूले नजिकको साथी ठानेका व्यक्तिहरूलाई मात्र महराले हिरासतमा भेट्ने गरेका छन् ।