एक्लो निर्धो व्यक्तिको मूल्य कति ?



■ स्वयम्भुनाथ कार्की

नयाँ परिवेशमा प्रजातन्त्रलाई लोकतन्त्र भनियो, भनिनुपर्ने थियो नेतातन्त्र, भीडतन्त्र, धनतन्त्र । दलतन्त्र पनि सही नहोला किनभने दलका कार्यकर्ता भनिने सदस्यहरू निरीह देखिएका छन । राज शब्द नै अपच भयो प्रतिगामी भयो, छँदाखाँदाको महेन्द्र राजमार्ग पूर्वपश्चिम लोकमार्ग भयो । यसमा उग्र देखिएका नेतातन्त्रका कर्ताधर्तामध्ये कम्युनिस्ट नेता हुन् । समय यस्तो आयो कि त्यसै दलकी राष्ट्रपति जापानी राजाको राज्याभिषेकमा सामेल हुन गइन् । अब त्यहाँ उनले चाहिँ लोकभिषेक सम्झिन होला भन्ने आशा गर्न सकिन्छ । नत्र त यो प्रतिगामी कुरा भइहाल्यो नि होइन ? तर, पख्नुस् भएन किनभने जनताले पो त्यसो गर्न हुन्न उनीहरू त नेता जे गरे पनि हुन्छ ।

सर्वहारालाई शोषण गर्ने भनेर भनिएका गैरसर्वहारामध्ये पुँजीपतिलाई दलमा भित्र्याउन पाइन्छ । किनभने नेताज्यूको अर्थात् कमरेड (साथी) नेताज्यूको वर्गीकरण छ राष्ट्रिय पुँजीपति र दललाल पुँजीपति । चतुरे बाहुनले गोलभेंडाको स्वादमा लोभिएर ‘पोस्तकको गोलभेंडा पो नखाने’ भनेसरह दलाल पुँजीपति पो बार्ने त । अब दलाल पुँजीपति राष्ट्रिय पुँजीपतिको लक्षण सोध्नै पर्दैन । यो त प्रस्ट छ, कमरेड (साथी) नेताज्यूलाई मनपरेको राष्ट्रिय पुँजीपति मन नपरेको दलाल पुँजीपति । मन पर्न के चाहिन्छ त्यो भने कल्पना गर्नुस् । कुनै कारखानाको कम्युनिस्ट मजदुर युनियनले संविधानले दिएको सामूहिक सौदाबाजी आफ्नै माउ पार्टीको नेतासँग गर्नुपर्ने हुन्छ, किनभने त्यो कारखानाको मालिक नै उही हो । यो हो मूल्य व्यक्तिको जसले दलको नाममा परतन्त्र स्वीकार गरेको छ ।

गैरकम्युनिस्ट दलहरूले मख्ख नपरे हुन्छ, किनभने यस्ता परतन्त्र ती दलका कार्यकर्ताले पनि भोग्नुपरेको छ । दल सिद्धान्त आदिको नाममा सबै थोक त्याग गरेका वफादार भनिनेहरूको थाप्लोमा हिजोसम्म अन्तै रहेकाहरू नेताजीको हातबाट अबीर र माला लगाएर टेक्न आउँछन् । अर्थात् ती वफादारहरू भनेका तरकारी पकाउँदा पहिले तातो तेलको रापताप व्यहोर्ने तेजपात हुन् । जब तरकारी पाक्छ ती तेजपात झिकेर फालिन्छ । तयार तरकारी पस्कने बेलामा हालै पार्टी प्रवेश गराइएका धनियाँहरू हालिन्छ । सारा श्रेय उनीहरूको नै हुन्छ, वाहवाही पनि उनीहरूकै हुन्छ । तेजपात भुक्किएर रह्यो भने पनि देख्नेबित्तिकै फालिन्छ । यो तेजपात र धनियाँ उदाहरण मेरो मौलिक होइन, सामाजिक सञ्जालमा अरू नै प्रसङ्गमा देखेको थिए । यहाँ ठ्याक्कै मेल खायो र साभार गरेको हुँ ।

त्यो तन्त्र भोग्नेहरूले छातीमा हात राखेर भनुन् चुरोटको खोलमा लेखेर पठाएको पुकाराको पनि सुनुवाइ हुने गरेको होइन र ? अहिले देश सेवा गर्ने पद आफ्नालाई भागबन्डा गर्ने चलन छैन र ?

जब दलका सदस्यहरूको त यो हाल हुन्छ भने यो मोल हुन्छ भने वर्तमान नेपालमा एक्लो निर्धो व्यक्तिको मूल्य कति होला ? कथं कुनै एक्लोले आफ्नो हक खोज्यो भने प्वाक्क भनिन्छ ‘दल खोलेर आइज’ । अनि यो प्रणालीलाई जनताको सार्वभौमिकता भनिन्छ, लाज लाग्नुपर्ने हो । तर, त्यसैको कमी छ नेपाली बुद्धिजीवीहरूमा, शरम पचाएर भन्छन्– लोकतन्त्रमा यस्तै हुन्छ । होला लोकतन्त्रमा यस्तै नै हुन्छ, तर प्रजातन्त्रमा यस्तो हुन्न थियो । एक्लो निर्धोको कुरा पनि सुनिन्थ्यो, त्यसको पनि नागरिक अधिकारको कुरा हुन्थ्यो । कानुनको नजरमा सबै समान छन् भन्ने लेखेर समान त सबै समान तर केही ज्यादा समान (साभार : जर्ज ओरवेल) भने जस्तो व्यवहार छ ।

राजाको मान्यतामा भनिन्छ ‘निर्बलश्य बलं राजा’, अर्थात् निर्बलको बल राजा हो । अपवाद घटना छँदै छैनन् भन्ने दाबी होइन मेरो । तर, त्यो तन्त्र भोग्नेहरूले छातीमा हात राखेर भनुन् चुरोटको खोलमा लेखेर पठाएको पुकाराको पनि सुनुवाइ हुने गरेको होइन र ? अहिले देश सेवा गर्ने पद आफ्नालाई भागबन्डा गर्ने चलन छैन र ? त्यो भागबन्डामा आफ्नो हुन निमित्त भेटी कबोल्नुपर्ने अवस्था भोग्नेहरूले त्यसो भएको थिएन भनेर छातीमा हात राखेर आफ्नै आत्मालाई भन्न सक्नुहुन्छ ? सक्नुहुन्न ! तर, खोजी गर्नुस् बीपी अपदस्त गरेपछि राजा महेन्द्रले कति बीपीले नियुक्त गरेकालाई बर्खास्त गरे । चाकरी होइन योग्यता खोजेर ल्याएका व्यक्तिहरू अहिले पनि केही जीवित नै हुनुहुन्छ ।

पितृ भएर पिण्ड खाने बेलामा पनि के को आस र डरले चुप हुनुहुन्छ ? भन्नुस् त्यसबेला निर्धाको सहारा राज्य थियो कि थिएन ? भागबन्डाभन्दा योग्यताको कदर थियो कि थिएन ? के अहिले त्यो सम्भव छ ? निर्धो व्यक्ति एक्लो भएर पनि आत्मसम्मानले बाँच्न पाउने अवस्था छ ? यो अवस्था कायम रहनुपर्छ भन्ने ठानेको भए ठीक नत्र सन्ततिहरूले धिक्कार्लान् ।

प्रतिक्रिया