दूतावासद्वारा ‘परदेशमा घरदेश’ कार्यक्रम सम्पन्न

दूतावासद्वारा ‘परदेशमा घरदेश’ कार्यक्रम सम्पन्न


■ आरके श्रीवास्तव, ओमान

नेपाली राजदूतावास मस्कट ओमानको ‘परदेशमा घरदेश’ कार्यक्रम सम्पन्न भएको छ ।

ओमानमा काम गर्ने नेपाली कामदारहरूलाई लक्षित गरेर दूतावासले राजधानी मस्कटमा २०७६ कार्तिक ०१ गते यहाँस्थित लुलु कम्पनीमा श्रमिक सचेतना तथा साँगीतिक कार्यक्रम ‘परदेशमा घरदेश’ आयोजन गरेको थियो । विदेशी भूमिमा रहेका श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, वहाँहरूलाई मानसिक तथा सामाजिक रूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य (आत्महत्या) र कुलतहरूबाट बच्न सहयोग पुर्याउने कार्यक्रमको उद्देश्यले रहेको थियो ।

नेपालको इमल इभेन्टससँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा नेपाली राजदूतावासका द्वित्तीय सचिव सोमेश थापाले उपस्थित सबैलाई स्वागत गर्दै बितेको बडादशैँ तथा आउँदो दिपावली, छठ पर्व एवम् नेपाल सम्वत् ११४० को अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै नेपाली राजदूतावास सबैको लागि अभिभावकको रूपमा रहेको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा दूतावासकी श्रम सहचारी कृष्णाकुमारी गौलीले श्रमिकहरूले थाहा पाउनुपर्ने विविध पक्ष तथा नेपाली राजदूतावासले प्रदान गर्ने सेवासम्बन्धी विविध जानकारीहरूको सम्बन्धमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा बौल्दै बिष्णु दाहालले श्रमिकहरूलाई परदेशमा रहेर पनि आफुलाई कसरी बिरानो महसुस हुन नदिने तथा अन्य मनोवैज्ञानिक समस्या तथा निवारणका उपायसम्बन्धी आफ्नो प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा नेपाल बाट आउनुभएका गायकद्वय सत्यराज आचार्य तथा स्वरूपराज आचार्यले विविध सांगीतिक प्रस्तुतिमार्फत करिव एक घन्टा उपस्थित श्रमिकहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

उपस्थित सबै श्रमिकहरूले उक्त कार्यक्रम लिएर आएकोमा नेपाली राजदूतावास मस्कटप्रति आभार प्रकट गरेका थिए । यस अवसरमा लुलुको प्रतिनिधि, नेपाली राजदूतावासका कर्मचारीहरू तथा इमल इभेन्ट्सका पदाधिकारीहरू समेत गरी २०० भन्दा बढीको सहभागिता रहेको जनाईइएको छ ।

नेपाली राजदूतावासले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्बता जाहेर गर्नुका साथै दूतावासलाई सम्पर्क गर्नु परेमा दूतावासको facebook: Embassy of Nepal in Muscat, Whatsapp/imo/ hot line: 79512490 मा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।