जापान विकासको प्रमुख साझेदार : राष्ट्रपति भण्डारी

जापान विकासको प्रमुख साझेदार : राष्ट्रपति भण्डारी


■ एस क्षेत्री, टोकियो

जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीको सम्मानमा आज (४ असोज) जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालीलाई दुःख पर्दा असल र भरपर्दो मित्रका रुपमा जापानले सघाएको उल्लेख गर्नुभयो । उहाँले गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्तगर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल र जापानबीच सन् १९५६ देखि दौत्य सम्बन्ध भएको र सांस्कृतिक सम्बन्ध अझ बलियो भएको उल्लेख गर्दै आपसी भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो । जापानी सम्राट नारुहितोको गद्दी आरोहण समारोहका लागि जापान सरकारले आफूलाई निमन्त्रणा गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै उहाँले जापानी जनताको अनन्त शान्ति, विकास र प्रगतिको कामना गर्नुभयो । राष्ट्रपति भण्डारीले हालै जापानमा गएको आँधीमा परी ज्यान गुमाएकाप्रति आफ्नो र नेपाली जनताको तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले वनेपादेखि बर्दिबाससम्मको बीपी राजमार्ग दुई देशबीचको सहयोगको उत्कृष्ट नमूना भएको बताउँदै जापानी सहयोगमा आजै शिलान्यास भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणले सुरुङ मार्गका क्षेत्रमा नयाँ आयाम थपिएको बताउनुभयो ।

‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति गर्न बाह्य स्रोतको खाँचो रहेको जानकारी दिँदै उहाँले नेपालको पूर्वाधार, जलस्रोत, पर्यटन, उत्पानदनशील र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान गर्दै लगानीको सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्ने विश्वास दिलाउनुभयो ।

राष्ट्रपति भण्डारीले सन् २०२० मा धेरै भन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने र काठमाडौं–नारिता सिधा उडान चाँडै हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जापानमा रहेका नेपालीले यहाँको रोजगारी र शिक्षामा पु¥याएको योगदानका लागि धन्यवाद दिनुभयो ।

६० हजार जापानीले नेपाल भ्रमण गर्ने

कार्यक्रममा जापानको सत्तारुढ लिवरल डेमोक्र्याटिक पार्टीका महासचिव तोसिहिरो निकाइले नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गराउनुभयो । तोसिहिरो नेपाल जापान संसदीय ग्रिडका अध्यक्ष पनि हुनुहुन्छ ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आगामी वर्षमा नेपाल र जापानी प्रधानमन्त्रीको भ्रमण आदानप्रदान गराउने लक्ष्य रहेको जानकारी दिनुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीले मङ्गलबार गद्दी आरोहण समारोहमा भाग लिनाका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नुहुनेछ ।