कपिलवस्तुमा पहिलोपटक फूलको व्यवसायिक खेती

कपिलवस्तुमा पहिलोपटक फूलको व्यवसायिक खेती


■ एस. क्षेत्री, कपिलवस्तु

कपिलवस्तु जिल्लामा पहिलो पटक व्यवसायिक सयपत्री फूलको खेती सुरु गरिएको छ । दशैँ, तिहार र विवाहलगायतमा प्रयोग हुने सयपत्री फूलको आयात प्रतिस्थापनमा सहयोग पुऱ्याउन सयपत्री फूलको व्यवसायिक खेती सुरु गरिएको हो ।

यहाँका ८ जना युवाहरुको अगुवाईमा जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ मा सञ्चालनमा रहेको ऋग्बेद कृषि फर्मबाट फूल खेती सुरु गरिएको हो । फर्मले पहिलो वर्ष भाडामा लिएको १० कठ्ठा जग्गाको क्षेत्रफलमा सयपत्री फूलको खेती शुरु गरेको छ ।

व्यवसायिक फूलखेतीमा लागेका ८ जना युवामध्ये ६ जना भने वैदेशिक रोजगारीबाट फर्किएका हुन् । फूलखेतीमा लागेका कपिल न्यौपानेले देशमै कृषि पेशा अँगाले आम्दानीको सम्भावना रहेकोले आफूहरु फूलखेतीमा लागेको जनाए ।

यस समूहमा बैदेशिक रोजगारीमा १० वर्ष बिताएका युवाहरु समेत छन् । पहिलोपटक सुरु गरिएको सयपत्री फूलको खेतीमा पहिलो वर्ष चितवनबाट ३० हजारको बिउ ल्याइएको सञ्चालक युधीर पौडेलले जनाए । ४ महिनाको हाराहारीमा तयार हुने फूलका लागि १ लाख हाराहारी खर्च भएको र ३ लाख हाराहारीमा आम्दानी हुने अनुमान गरिएको पौडेलले बताए ।

फर्मका सञ्चालकहरु उत्पादित फूलको माला १ सय र प्रतिकेजी ५ सय रुपैयाँमा बुटवलदेखि नेपालगञ्जका बजारसम्म पुऱ्याएर बिक्री गर्ने योजनामा छन् । फूल खेतीले फूलको आयात प्रतिस्थापन हुने मात्र नभई प्लास्टिकको मालाको प्रयोग घट्दा वातावरणमैत्री बन्नका लागि सहयोग पुग्ने युवा उनीहरुको बुझाइ छ ।