रुपान्तरण तपाईंकै कार्यकालबाट सम्भव छ

रुपान्तरण तपाईंकै कार्यकालबाट सम्भव छ


■ डिल्ली अम्माई

एनआरएनए अध्यक्ष तथा प्रिय मित्र कुमारजी,

अनायास मनमा कुरा खेले र यो पत्र लेख्दैछु । देखिहाल्नुभयो होला… एनआरएनएभित्रको राजनैतिक खेल । एनआरएको सम्मेलनअघि र पछिका यस्ता अनगिन्ती गतिविधिको हामीले समीक्षा गर्न जरुरी भएको छ ।

अहिलेको निर्वाचत टिमको अघिल्तिर धेरै किसिमका चुनौती पहाडझैँ तपार्ईंंहरूको मुख हेरेर उभिएका छन् । एनआरएनएभित्रका यावत विकृतिको समयमा नै आशातीत समाधान खोज्न सकिएन भने संकट अझ गहिरिएर जाने निश्चित छ । यी चरित्रगत, प्रक्रियागत, वैधानिक र संस्थागत कमजोरीहरूको पूर्ण निराकरण गर्नमा यो टिम तपार्ईंंको नेतृत्वमा सम्झौताहीन तरिकाले अगाडि बढ्नुको अब विकल्प रहेन ।

एनआरएनएभित्रका यावत समस्याहरूको निराकरणमा लाग्नु अबको तपार्ईंंहरूको पहिलो कार्यभार हुनेछ । त्यसको लागि विगतका सम्पूर्ण कार्यकालको गम्भीर समीक्षा गर्नु आवश्यक छ । हिजो चुनावी माहोलमा जे–जसरी, जुन ढंगले जसको प्रचारमा लागे पनि वा मत विभाजनको क्रममा फरक–फरक ब्यक्तिको विरोध वा समर्थनमा लागे पनि नेतृत्व चुनीइसकेको वर्तमान अवस्थामा तपाईंहरूको सकारात्मक अभियानमा सकारात्मक प्रतिक्रियासहित सबै एनआरएनहरू एकढिक्का हुनेछन् । तर, एकलौटी रूपले तपाईंकै विभिन्न इकाईहरूको सुझाव र सक्रियतालाई बेवास्ता गर्ने प्रकारले जानुभयो भने संस्थागत अराजकता, बेथिति र विभाजित मानसिकता अझै बढेर जाने छ ।

त्यसैले अब एनआरएनएले डायस्पोराका आम नेपालीहरूको भावनाको प्रतिबिम्ब बन्ने प्रयासलाई पहिलो प्राथमिकतामा राख्नु आवश्यक छ । त्यसको लागि एनआरएनएले डायस्पोराका अधिकतम नेपालीको वर्ग विश्लेषण, पहुँच र एजेन्डाहरूको पहिचानबारे नयाँ धारणा विकास गर्नु आवश्यक देखिन्छ । एनआरएनएका वास्तविक प्रतिनिधि को हुन् वा हुनुपर्छ, उनीहरूका वास्तबिक समस्याहरू के–के हुन्, उनीहरूको भावनाको प्रतिनिधित्व वैधानिक रुपले स्थापित गर्न के कुराको थपघट गर्नु पर्ने हो ? यी कुराहरूले नै यो संस्थालाई निरन्तर निरोगी, स्वस्थ र दिर्घजीवी बनाउने छ । साथै नयाँ रुपान्तरित विधिअनुशार चालिने भूमिकाले नै हाम्रो संस्थाको एक–एक बैराग, निराशा, अराजकता र गतिहीनता क्रमशः हटाएर लैजानेछ ।

कुमारजी ! विश्वभरका एनआरएनहरूले तपाईंको अभियानका प्रारम्भिक चरणदेखि नै तपाईंप्रति अगाध विश्वास, सम्मान र माया दिनुभएको छ । तपाईंले आफूलाई त्यसको योग्य बनाउनु भएको छ वा छैन त्यो तपाईंले आफै आत्मसमीक्षा गर्नुहोला । हामीलाई लाग्छ, अहिलेसम्मको बाह्य भूमिकामा तपार्ईं अब्बल नै हुनुभएको छ । आन्तरिक भूमिकामा तपाईंको समीक्षा पक्कै तपाईंकै पूर्ववत सहकर्मी टिमले गरेको होला । अध्यक्ष भएपछि तपाईंको भूमिका नेतृत्वदायी र प्रभावकारी हुनुपर्ने छ ।

तपार्ईं जत्तिकै प्रभावकारी भूमिका र संसार भरिका एनआरएनको एक हिस्साको नेतृत्व गरेका तपाईंकै प्रत्यासी उपविजेता सहकर्मी कुलजीको विश्वास लिने र उहाँका अनुभव र भूमिकालाई पुँजीकृत गर्न सक्नु तपाईंको नेतृत्व कौशलको अर्को परीक्षण हो । त्यसमा तपाईंको शालिनता, स्वभाव र सामाजिक भावना पक्कै पनि सहायक हुने छ । तपाईंले चुनावी परिणाममा मात्रै सन्तोष लिएर बस्ने र आफ्नो विवेकलाई कैद गर्दै जानुभयो भने तपाईंले अहिलेसम्म कमाएको प्रतिष्ठा खरानीको थुप्रोमा परिणत हुने छ । सल्लाह लिँदा वा अभियानहरूको तर्जुमा गर्दा सम्बन्धित विषयका दक्षहरूको सल्लाह लिन वा उनीहरूलाई परिचालन गर्न पक्कै कन्जुस बन्नुहुने छैन । क्षमतावान विषय विज्ञहरूको सल्लाहको खाँचो तपाईंलाई निरन्तर खट्कीरहने छ । अहिलेको एनआरएनए हिजोका अग्रजहरूले नेतृत्व गरेको भन्दा प्रक्रियागत, एजेण्डागत, संख्यागत र अपेक्षागत रुपमा नितान्त बेग्लै भइसकेको छ । त्यसैले हिजोका अभियन्ताहरूबाट आजका अपेक्षाहरूको पूर्ण समाधान खोज्ने भुल गर्नुभयो भने तपार्ईंको कार्यकाल इतिहासमा एक असफल नेतृत्वको रुपमा दर्ज हुने छ । मैले तपार्ईंंप्रतिको सोही मैत्री र सद्भावका कारण केही सुझावहरू पस्केको हुँ । मलाई आशा छ, यसमाथि तपार्ईंंहरूले अवश्य पनि गम्भीर विचारका साथ मनन गर्नुहुनेछ ।

संस्थागत रुपमा नेतृत्वमा पुगिसकेपछि अब तपार्ईंंको ऐतिहासिक उत्तरदायित्व के हो ? एनआरएनएको रुपान्तरणको लागि तपार्ईंलगायत नेतृत्वको टिमले के गर्नु आवश्यक हुन्छ ? अघिल्लो नेतृत्वहरूले यी कुराहरूको बोध नगर्दा अहिले संस्थामा धेरै विकृतिहरू भित्रिएका छन् । यसबारे तपार्ईंंले गहन विचार गर्नुहोला । मलाई लाग्दछ, तपाईंले अभ्यासगत रुपमा पारखी टिम पाउनुभएको छ । सबै विजेताहरू अनुभवले खारिएका छन् । विकराल समस्याहरूले घेरिएको र ऋणको पहाडले थिचिएको जर्जर संस्थालाई प्रयत्न गर्नुभयो भने तपाईंहरूले समुन्नत बनाउन सक्नुहुने छ ।

विगतको समीक्षामा निर्मम बन्न सक्नुहोस् किनकि त्यो समीक्षाले नै तपाईंको आगामी कोर्षलाई सरल, सुगम र भविष्य प्रति उत्तरदायी बनाउने छ । भनिन्छ विगतको अनुभव, वर्तमानको विश्लेषण नै आगामी दिनका पाठहरू हुन् । विगतका तिनै बिकृति, विसंगति र बेथितिले नै रुपान्तरणको सुरुवात गर्दछ । ब्यक्तिगत रूपमा पनि तिनै कुराहरू लागु हुन्छन् भने सँस्थागत रूपमा पनि यिनै कुरा सत्य हुन् । अब संस्थागत रुपान्तरणमा एउटा क्रान्ति आवश्यक छ । क्रान्ति रुपान्तरणको साधन हो भने नेतृत्व कौशलता साध्य । ती मध्ये कुनै एकबिना अर्को बाँच्न सक्दैन । नजोतिएको जमिनमा जतिसुकै उर्बर बिउ रोपे पनि त्यसले उत्पादन दिन सक्दैन । त्यसैले जमिन जोतेर खेतियोग्य बनाउने कर्म क्रान्ति हो । त्यसले उत्पादनलाई सहज र सम्भव बनाउँछ ।

संस्थामा हुर्किदै गरेका अराजकता, अनुसासन हीनता, आर्थिक अपारदर्शिता र बेथितिहरूको विरुद्ध सर्वप्रथम नीतिहरूलाई ब्यवस्थित गर्नु आवश्यक हुन्छ । त्यसपछि संस्थागत लक्ष्यहरू निर्धारण गर्दै सोअनुकुल विधानको रुपान्तरण अर्को आवश्यक सर्त हो । यदि अब तपाईंको लक्ष्यमा बढ्न कसैले रोक्न सक्दैन । ब्याड तयार भएपछि निर्धारित लक्ष्यको लागि बिज रोप्न सकिन्छ । जीवन र जगतको यो नै लक्ष्यप्राप्तिको उत्तम तरिका हो । विगतमा यही बाटो बिर्सेर संस्थाको महत्वपूर्ण कार्यभार बिर्सेका छौँ । कसैका सकारात्मक सुझावहरूलाई अझै पनि उपेक्षा गर्छौं र असफलता पछि निराश बन्छौँ । विगतमा त्यही भयो । त्यो बेलाको नेतृत्वले यिनै लक्ष्यप्राप्तिका महत्वपूर्ण कुरालाई पन्छाउँदै गयो र संगठनलाई यथास्थितिबाट माथि उठाउन सकेन । दलाल, कामचोर, नोकरशाह र सुदखोरहरूको चक्रब्युहबाट संगठन मुक्त हुन सकेन । नेतृत्व रक्सीको नशामा दुनियाँको रमिता बन्यो । तर हामी निरिह ‘बिचरा, ए ! होर !’ भन्दै नाक खुम्च्याएर बस्यौँ !

कर्मचारी नियुक्ति, पजनीको अदालती लपेटाले आर्थिक व्ययभार बोझिलो बन्यो । सरकारी जग्गामा बनेको कार्यालय लुटेराहरूको खेलले आफ्नो हुन सकेन । १४ करोड रुपयाँ कुन उडुसको मुखमा पस्यो कसले खोज्ने ! अझै अनैतिक र असामाजिक चरित्रलाई कारवाहीको दायरामा ल्याउन सकिएन । संस्था आर्थिक ऋणले चुर्लुम्म डुब्यो । इमान्दार एनआरएनहरू आवाज बिहिन बन्यौँ र डायस्पोराका पत्रकारहरू नेतृत्वको धन्सारका कर्मचारी जस्ता भए । त्यसैले संस्थागत रुपान्तरणको लागि, नेतृत्वको रुपान्तरणको लागि र विधिगत रुपान्तरणको लागि एनआरएनएमा क्रान्ति आवश्यक छ । त्यसको नेतृत्व गर्ने हिम्मत छ त कुमारजी ! अहिलेको हाम्रो अपेक्षा बस यत्ति हो ।

कुमारजी ! तपाईंलाई पक्कै अवगत नै छ, चाहे त्यो राष्ट्रिय समन्वय परिषद, क्षेत्रीय परिषद वा अन्तराष्ट्रिय परिषदको नै किन नहोस्, नेतृत्वमा धेरै खरावीहरू छन् । ती खरावी अभियन्ताका आचरणमा पनि छन् र विधिगत कार्यन्वयनमा पनि छन् । ती सबै खरावीको एक लामो लिष्ट तयार गर्न सकिन्छ । तिनीहरूमध्ये केही प्रमुख कमजोरी नसच्याएसम्म यो संस्थाबाट रामरमिता बाहेक अन्य गुणात्मक उपलब्धिको अपेक्षा गर्न सकिँदैन । अतः यो संस्थाको अबको नेतृत्वले रुपान्तरणका विधिहरूलाई कसरी आत्मसात गर्ला, त्यो त भविष्यले नै देखाउने छ । जसलाई छोटकरीमा निम्नानुसार राख्ने धृष्टता गरेको छु झर्को नमानी पढी दिनुहोला ।

१. आशाको पुनर्जागृति र अनुशासन :

प्रथम कुरा अबको नेतृत्वले निराश एनआरएनहरूको आशालाई पुनर्जागृत गर्नु आवश्यक छ । आगामी लक्ष्य निर्धारण, आचरणगत सुधार र कार्यद्वारा नै यो सम्भव छ । भिन्न देशहरूमा भएका नेपालीहरूका समस्याका रुपहरूको पहिचान, उनीहरूका भावनाहरूको प्रतिनिधित्व हुनेगरी कार्यक्रमहरूको तर्जुमा र उपयुक्त विधिमार्फत समाधान केन्द्रित हुने तरिका आवश्यक छ । त्यसमा नेतृत्वको त्याग, समान दृष्टिकोण र चरित्रवान नेतृत्व पूर्वसर्तहरू हुन् । विधानको रुपान्तरण र रुपान्तरित विधि अनुकुलको आचारणले नेतृत्वलाई अनुशासित र सम्मानित बनाउँछ । सबैको साथ पाउन नेतृत्वको टिम अनुसासित एवं सम्मानित हुनु आवश्यक छ ।

२. खराब आचरण :

हामी हाम्रो आचारणको बारेमा चिन्तित हुने कि नहुने । आर्थिक लाभको लागि संस्थामा बसेको अझ नेतृत्वमा भएको मान्छेले जे पनि गर्ने ? सर्वप्रथम जो–जति नेतृत्वमा छौँ सबैले आत्मसमीक्षा गरौँ । एनआरएनको नेतृत्व भनेको ८० लाख नेपालीको नेता हो । यदि त्यो नै नैतिक रूपले, आर्थिक रुपले र सामाजिक रूपले भ्रष्ट छ भने अरु एनआरएनले उनीहरूबाट के सिक्ने ? उनीहरू अनुसासित हुनैपर्छ, सामाजिक, नैतिक र आर्थिक रुपले समाजकको आदर्श द्रष्टा बन्नैपर्छ । नेतृत्वको जीवन पद्धति आमनेपालीलाई पाच्य हुन सकेन भने डायस्पोराका ८० लाख नेपाली र उनीहरूबीच दुरी बढ्छ । दूरी बढ्नु भनेको अन्तरसङ्घर्षको सुरुवात पनि हो । जसले नेतृत्वको सम्मान र सुरक्षाको चुनौतीलाई बढाइदिन्छ । त्यो नेतृत्वका कुनै पनि कार्यक्रम वा अभियान सफल हुनै सक्दैनन् ।

३. चाकडी संस्कृति र भ्रष्ट नियत :

अहिलेसम्मको स्थितिलाई हेर्दा एनआरएनए नेतृत्वमा आफ्नो जिम्मेवारीप्रतिको उत्तरदायित्ववोध कम छ । राज्यसँग वैधानिक र डायस्पोराको हितलाई मध्यनजर गरेर बनाइने सम्बन्धको आफ्नै महत्व हुन्छ । त्यो आवश्यक मात्र नभएर अत्यन्त जरुरी पनि हो । तर आरोप नेतृत्वमा पुग्नको लागि लुकेर गरिने राजनैतिक सम्बन्धको हो । आर्थिक लेनदेनको हो । नेतृत्वको नेपालका नेताहरूको लुकेर गरिने अपारदर्शी चाकडीको मूल अभिप्राय संगठनको सहुलियतमा लिने व्यक्तिगत लाभ र भ्रष्टचारीहरूसँगको कनेक्सन बलियो बनाउनु हो भन्ने आरोप समेत छ । अबको नेतृत्वले कमसेकम यसलाई सुधार गर्नुपर्छ ।

४.  खोलो तऱ्यो लौरो बिर्सियो :

तपाईंलाई भोग्नु नपरेकोले थाहा नहोला कुमारजी तर हामीले भोगेको कुरा हो यो । एनआरएनएको नेतृत्वमा पुगिसकेपछि नेतृत्वलाई अर्कै ग्रहबाट आएको अद्भुत भान हुने रहेछ । जसले गर्दा उहाँहरू एनआरएनहरूसँग सँगै बस्दा समेत असजिलो अनुभव गर्नुहुन्छ । हाम्रो सन्देश र उपयोग केवल चुनावको बेलामा मात्र हो अन्यथा फोन समेत उठाउनुहुन्न, त्यसको रिप्लाई गर्नु त धेरै परको कुरा । त्यो स्वयम् मैले भोगेको कुरा हो । त्यस्तो खालको घृणा वा वर्गविभेद पनि अन्तरसंघर्षको शुरुवात हो । एनआरएन र नेतृत्वबीच अन्तर सम्बन्धको सीमा दिन–प्रतिदिन बढ्दै गएको कुरा अनुभवगम्य कुरा हो । यो हाम्रो नेतृत्वको चुत्थो दुर्गुण हो, यसलाई सुधार्न आवश्यक छ । सायद यो दुर्गुण तपाईंमा समेत हुन सक्छ है कुमारजी !

त्यस्तै एनआरएनएमा भर्खर डायस्पोरामा स्थापित हुन थालेका टाठाबाठा ब्यापारीहरूको भीड मात्र जम्मा हुन थालेको छ । मजदुरहरूले यो संस्थालाई हाम्रो भन्न सकिरहेका छैनन् । अर्को कुरा पनि छ कुमारजी, संस्थाद्वारा लगानीको कुरा गर्दा, नागरिकताको सवाल बाहेक अन्य सवालमा नेतृत्वले नेपाल भित्र्याएका ब्यवसाय केवल नाफाको लागि भैदियो । सेवामुलक लगानीमा चासो नै छैन । राज्यको रुपान्तरण, डायस्पोराका मजदुरहरूका सामूहिक मुद्दा र अरुलाई स्थापित गर्ने सम्पूर्ण कार्यक्रम छायामा पर्नाले डायस्पोराको बहुमत मजदुर वर्ग एनआरएनएको अभियानमा समाहित हुन अनिच्छुक देखिँदै गएको छ । यो गम्भीर विषय हो कि हैन ? ती कारणबारे सतही घोचपेच बाहेक गम्भीर बहसमा एनआरएनए अझै पसेको छैन । अहिलेका मुख्य मुद्धाहरू के हुनुपथ्र्याे र संगठनमा के भैरहेको छ ? यो बहसलाई भित्र नहुली यो संघको रुपान्तरण सम्भव छैन । हेरौँ, अब तपाईंको नेतृत्वले के गर्छ ?

५. एनआरएन सापेक्ष विधि र अनुशासनको कारवाही :

सुधार्नुपर्ने कुराहरूमा सर्वप्रथम नेतृव छनौट विधि नै आउँछ । त्यसपछि माफिया र दलाल प्रवृत्तिको विरुद्ध अभियान, समृद्धिको आधारबारे बहस, आर्थिक माफियाकरण र मतदाता किनबेच लगायतका खराब प्रवृतिको बहिष्करण र कारवाही, पारदर्शी नेतृत्व र आर्थिक पद्धतिको आधुनीकिकरण आदि पर्दछन् । अबको एनआरएनएको अर्काे महत्वपूर्ण एजेन्डा सेल्फ अर्गनाइजेसन हो । स्वायत्त संगठन, कसैको हस्तक्षेपबिनाको संगठन, दलाल माफियारहित शुद्ध देशभक्त नेपालीहरूको संगठन र अनुशासित र कर्तव्यनिष्ठ कर्मवीरहरूको संगठन । डायस्पोराका सम्पूर्ण मजदुर बाहिर अनि दलाल मात्र भित्र रहे र संगठन देशभक्त नेपालीबाट अलग्गियो भने यो संगठनलाई बचाउन सकिँदैन कुमारजी ।

उम्मेदवार शुल्क कम राखौँ भनेका थियौँ तर योपटक भएन । अर्कोपटक तपाईंले नै सदस्यता शुल्क निःशुल्क बनाउने प्रण गर्नुभएको छ । त्यस्तै, सम्मेलन ब्यवस्थित गर्दै घरबाट भोट हाल्न सकिने बनाउँछु भन्नुभएको छ । त्यो चुनावी पद्धतिमा सकारात्मक रुपान्तरण नै हो । त्यसले कमसेकम चुनावमा हुने खर्चलाई कम गर्छ ।

६. अध्ययन र अनुगमन :

पूर्ववत नेतृत्वको अर्को खराबी भनेको नेतृत्वमा अध्ययन अनुगमन विधि नै छैन । उदाहरणका लागि संगठनको विधान र घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै अहिलेपनि नेतृत्वमा आए होलान् । भोगेको कुरा गर्छु मैले । विधान र घोषणापत्रको बारेमा उनीहरूसँग एनआरएनले कुरा राखे भने ‘त्यो त पढ्नुपर्छ’ भन्दछन् । तिनले के विधि सिकाउलान् र पालना गर्लान् । कमसेकम आधारभूत कुराहरू नेतृत्वमा पुगेकाहरूले जानकारी राख्नैपर्छ । अबका नेतृत्व अध्ययनशिल बनुन कमसेकम विधान, कार्यपत्र, घोषणापत्र । तब थाहा हुन्छ अब कुन–कुन विधि, पद्धति र धाराहरूको रुपान्तरण आवश्यक छ । अबको नेतृत्वले यसमा अलिक दृष्टि पुऱ्याउला कि !

७. खर्चिलो सम्मेलन :

यो संस्थाको अर्को समस्या हो क्षेत्रीय मिटिङमा झन्डै करोडभन्दा माथि खर्च गरिँदै आएको छ । तर उपलब्धि एउटा अन्तरक्रिया कार्यक्रममा भन्दा ज्यादा देखिएको छैन । केन्द्रको के कुरा गर्ने !

यो श्राद्धका बेला बिरालो बाँध्ने प्रथाको अन्त्य हुनु आवश्यक छ । क्षेत्रीय सम्मेलनहरू प्रायः पाँचतारे होटलहरूमा गर्नुको अभिप्राय सम्मेलनका पाहुनाहरूको व्यवस्थापन मात्रै नभएर नेपालबाट बोलाइने पाहुनाहरूको भिसा समस्यासँग जोडिएर आउने समस्या हो । त्यसमा एनआरएनएमै जोडिएकाहरूले युरोप, अमेरिका, अष्ट्रेलियालगायतका स्थानहरूमा संस्थागत आडमा मानवतस्करी गर्ने गरेको आरोप प्रायः लाग्ने गरेको छ । त्यसले के संकेत दिन्छ भने कमजोर यात्रीका लागि राम्रा होटलहरूको बुकिङले भिसा लगाउने आधारलाई मजबुत बनाउने भएकोले त्यसो गरिएको हो । यी यावत कुरालाई ख्याल गर्दा क्षेत्रीय मिटिङहरूको सिस्टम र संस्कृति दुवैलाई परिमार्जन गर्न आवश्यक छ । एजेन्डाहरूमा पनि परिणाममुखी बहस हुने गरेको देखिँदैन । त्यसमा अब चासो जानु आवश्यक छ ।

८. भद्दा संगठन र पारदर्शिताको अभाव :

अहिलेको ग्लोबल सम्मेलनमा न त विधान पास भयो न त आर्थिक प्रतिवेदन । संगठनलाई १५ करोड रुपैयाँ ऋण लागेको छ भनिएको छ तर कारण र त्यसको आधिकारिक पुष्टि गरिएको छैन । यसले के देखाउँछ भने एनआरएनएको विगत केवल नेतृत्वको मुखबाट चलेको रहेछ । नेतृत्वको खैँजडी बजाउनेहरू दक्ष हुन् कि नहुन् मतलब छैन, मनोनित गरिन्छ । लगौँटिया यारको भरमा केन्द्रिय सल्लाहकार, अनररी अरु के–के हुन् के–के अनावश्यक नियुक्ति गरिन्छ ! अब यो च्याप्टर बन्द गर्नुपर्छ । आवश्यक ठाउँमा सम्बन्धित ब्याक्तिको दक्षता हेरेर नियुक्ति गर्नु वान्छनीय देखिन्छ ।

९. विगतका नेतृत्वको समीक्षा र स्पष्टिकरण :

संगठनभित्रका समस्याका कुरा गर्दा खोज–पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिलस्ट’ (आईसीआईजे)ले सन् २०१७ मा गरेको ‘पनामा लिक्स’मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापकले ट्याक्स हेवन मुलुकहरूमा लगानी गरेको तथ्य सार्वजनिक गरेको थियो । त्यसमा एनआरएनएका नेतृत्व वर्ग वा संस्थापकले देशमा लगानी गर्ने बहानामा कर छल्ने र राज्यलाई कालोधनको मारबाट थला पार्ने गरेको एउटा दृष्टान्त सार्वजनिक भयो । उहाँ एनसीएलकाण्डमा पनि आरोपित हुनुहुन्छ । एनआरएनसम्बद्ध काण्ड भएकोले यसबारे समेत बहस हुनु र सम्बन्धित पक्षसँग जानकारी मागिनु सर्वथा जायज हुने थियो । राज्यले समेत डायस्पोराका नेपालीहरूको आवाजलाई अनुसन्धानको दायरामा लगेर कारवाही चलाउन सक्थ्यो । तर दुःखको कुरा जनचासो हुँदाहुँदै पनि ती कुरामा उचित ध्यान दिइएन । अबको नेतृत्वले यसबारे नीति बनाएर कार्य गर्ला भन्ने अपेक्षा गर्न सकिन्छ ।

सेलहरू मर्न थाले भने जीवित मान्छे डराउनुपर्छ । किनकि त्यसले जीवनलाई समाप्तितर्फ लग्छ । कुन ठाउँमा उभियौँ भने सबैलाई देख्न सकिन्छ तपाईंलाई राम्रोसँग थाहा छ, कुमारजी । विद्वान् र नीति निर्माणमा दक्ष महासचिव डा. हेमराज सर पाउनुभएको छ । समय छोटो छ । खासमा दुई वर्षमा तपाईंले आगामी बाटो निर्माण गर्न सक्नुहुन्छ, आशाको बिरुवा रोप्न सक्नुहुन्छ तर त्यसको फल तपाईंपाछिको भविष्यले टिप्ने छ । त्यसपछि तपाईंको संसारभरिका एनआरएनहरूले सम्मानपूर्वक गौरवको गीत गाउने छन् । यो नै तपाईंका सिंगो पुस्ताहरूको अमुल्य सम्पति हुने छ । मलाई थाहा छ, तपाईंले त्यो हिम्मत जुटाउने प्रयत्न पक्कै गर्नुहुने छ ।

तपाईंप्रतिको ठूलो विश्वास, मैत्री, सद्भावना र भरोसाका कारण मैले यो पत्र लेखेको हुँ । संगठनभित्रका झमेला, विकृति र बेथितिलाई सम्पूर्ण केन्द्रिय टिम मिल्नुभयो भने हटाउन सक्नुहुन्छ । त्यो नहटाएसम्म एनआरएनए विवकृतिको उदाहरण मात्र बनिरहने छ । जुन तपाईंलगायत सबै एनआरएनए अग्रजहरूको अपमान हो । स्थिति अझै सन्तुलित नै छ र सबैले तपाईंको प्रथम उदयलाई धैर्यतापुर्वक हेरेका छन् । तपाईंको पहिलो औपचारिक पाइलाको प्रतीक्षामा विश्वभरिका एनआरएन ब्यग्र छन् । रुपान्तरणको लागि अझै धेरै ढिला भएको छैन । भर्खरैबाट पर्न थालेको चिरालाई रुपान्तरित कार्य योजना र शैलीले टाल्न सकिन्छ, चिसा डामहरू पुछ्न सकिन्छ । तपाईंप्रतिको अगाध आशासहितको ब्यग्रतालाई पनि विगतले चुनौती दिइरह्यो भने समयले राम–राम मात्र भन्ने छ …।

डायस्पोराका ८० लाख नेपालीको अध्यक्ष बन्न सफल हुनुभएकोमा तपाईंलगायत सम्पूर्ण केन्द्रिय टिमलाई हार्दिक बधाई तथा रुपान्तरणमुखी कार्यकालको शुभकामना !!

तपाईंको शुभचिन्तक
डिल्ली अम्माई, बेल्जियम