यौनधन्दा गराउने समूहलाई पठाइयो कारागार

यौनधन्दा गराउने समूहलाई पठाइयो कारागार


महिला तथा किशोरीलाई प्रलोभनमा पारी घरमै यौनशोषण गर्ने तथा यौन धन्दा गर्न बाध्य तुल्याउँदै आएको अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जनालाई जेल चलान गरिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले दिएको जानकारीअनुसा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मेलचोक घर भई हाल मध्यपुरथिमि–९ बोडेमा घर भाडामा बस्दै २५ वर्षीय सञ्जय भन्ने राजेश गिरी, मध्यपुरथिमि चपाचो घर भई बोडे बस्ने ५० वर्षीय श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापति र धादिङ फुलखर्क गाउँपालिका–४ घर भई बोडेमा डेरा गरी बस्ने २९ वर्षीया सोनिया तामाङ भन्ने सविना तामाङ (गुरुङ) उक्त अभियोगमा पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुले मध्यपुरथिमि नगरपालिका–९ बोडे सिन्टीटारस्थित श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापतिलगायतले विभिन्न पुरुष बोलाई मादक पदार्थ सेवन गराई महिला तथा किशोरीलाई वेश्यावृत्तिमा लगाउने गरेको पीडित महिलाको उजुरीको आधारमा प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले छापा मारी पक्राउ गरेको प्रहरीको भनाई छ ।

सो कार्यालयका डिएस्पी रेवतीरमण पोखरेलले महिला तथा किशोरीलाई समेत मादक पदार्थ सेवन गराई जबर्जस्ती यौनकार्यमा संलग्न गराउने र यौन शोषण गर्ने गरेको उजुरीलगत्तै गत भदौ २३ गते पक्राउ गरी मुद्दा चलाएको जानकारी दिए ।

जिल्ला अदालत भक्तपुरले शुक्रबार तीनै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि प्रहरीले जगन्नाथदेवल कारागार काठमाडौं पठाएको छ ।