ओमानमा ‘ए मेरो हजुर ३’ भव्य प्रदर्शन

ओमानमा ‘ए मेरो हजुर ३’ भव्य प्रदर्शन


■ आरके श्रीवास्तव, ओमान

नेपाली चलचित्र ‘ए मेरो हजुर ३’ ओमानमा भव्य प्रदर्शन भएको छ । राजधानी मस्कट कुरूमस्थित लुनार सिनेमा हलमा शुक्रबार (१८ अक्टोबर २०१९) दिउँसो ३ बजे एक विशेष कार्यक्रम आयोजन गरी चलचित्र स्क्रिनिङ गरिएको थियो ।

ओमान सरकारबाट स्वीकृति लिएर पहिलोपटक नेपाली चलचित्र प्रदर्शन गरिएको हो । ओमान सरकार मिनिस्ट्री अफ फोरेन अफेयरसको अनुमति लिएर नेपाली चलचित्र औपचारिक रूपमा प्रदर्शन गरिएको प्रदर्शन व्यवस्थापक नम्रता झाले जानकारी दिनुभयो ।

चलचित्र प्रदर्शनभन्दा अगाडि मिट एण्ड ग्रिट कार्यक्रमको आयोजन गरिएको थियोे । कार्यक्रमको उदघाटन ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र आयोजक नम्रता झाले पानसमा बत्ती बालेर गर्नुभएको थियोे ।

उक्त अवसरमा नेपालबाट आउनुभएका सो फिल्मका निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा, नायिका सुहाना थापासहित ओमानका लागि यूएईका लागि राजदूत, भारतका कार्यवाहक राजदूत, कोरियाका राजदूत, श्रीलंकाका राजदूतहरू अतिथिको रूपमा उपस्थित हुनुभएको थियोे ।

यस्तै, अन्य अतिथिहरूमा गैरआवासीय नेपाली सोसल क्लब ओमानका उपाध्यक्ष विकल झा, गुल्मी सेवा समाज ओमानका अध्यक्ष दुर्गाप्रसाद ढकाल, पूर्वअध्यक्ष घण्श्याम भण्डारी, प्रवासी नेपाली मञ्च ओमानका सोम श्रेष्ठ, सोहार–नेपाल सोसल क्लब ओमानका अध्यक्ष मुन्नाबाबु परियार, नेपाल बज्जिका पत्रकार संघ ओमानका अध्यक्ष राजुकुमार श्रीवास्तव, उपाध्यक्ष चित्रप्रसाद आचार्यसहित दर्जनौँ ओमानवासी नेपालीको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा फिल्मका निर्माता, निर्देशक र नायिकालाई खादा ओढाएर मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो भने कार्यक्रम संचालन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्यापटरका अध्यक्ष सुशील पुन बिरहीले गर्नुभएको थियोे ।

झरना थापाको निर्देशन, सुनिल कुमार थापाद्वारा निर्मित र सुहाना इन्टरटेनमेन्टको प्रस्तुति ‘ए मेरो हजुर ३’ हेरेर दर्शकहरूले भरपूर मनोरञ्जन लिएका थिए । प्रदर्शन हाउसफुल रहेको फिल्म प्रदर्शनका को–अर्डिनेटर राजकुमार न्यौपानेले बताए ।

चलचित्रमा मेगा स्टार अनमोल केसी, सुहाना थापा, अर्पण थापा, सालोन बस्नेत, रवीन्द्र झा, रूपा घिसिङ, रक्षा गौतमसहितका कलाकारहरूले अभिनय गरेका छन् । कार्यक्रमको प्रायोजन क्लाउड क्रस ट्राभल्स एण्ड टुरिजम एल एलसी र प्रान कम्पनीले गरेको थियोे ।

चलचित्र प्रदर्शनलाई भव्य रूपमा सफल पारिदिएकोमा ओमानवासी नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई धन्यवाद ज्ञापन गर्दै व्यवस्थापक झाले अगामी दिनमा पनि अन्य नेपाली चलचित्र ओमानमा प्रदर्शन गर्दै जाने योजना रहेको जानकारी दिनुभयो ।