साढे पाँच वर्षपछि पक्राउ परेका खत्री साढे ८ करोड जरिवानासहित जेल चलान

साढे पाँच वर्षपछि पक्राउ परेका खत्री साढे ८ करोड जरिवानासहित जेल चलान


अदालतले दोषी ठहर गरेपछि फरार रहेका सूर्यविनायक नगरपालिका–९ नलिन्चोक (भक्तपुर)का प्रकाशराज खत्रीलाई नलिन्चोकबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुरले शुक्रबार नख्खु जेल चलान गरेको छ ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरी तीन वर्ष कैद र रु आठ करोड ५० लाख जरिवानाको फैसला सुनाएपछि फरार रहेका खत्रीलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको थियो । पक्राउ परेका खत्रीलाई नख्खु जेल चलान गरेको हो ।

जिल्ला अदालत भक्तपुरका सूचना अधिकृत एवं तहसिलदार सघन अधिकारीले दिएको जानकारीअनुसार नेपाल राष्ट्र बैंकले जाहेरी दिएको मृुद्दामा २०७१ साल वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेपछि खत्री फरार रहेका थिए । उनलाई प्रहरीले पाँच वर्ष ६ महिनामा पक्राउ गरेको हो ।

खत्रीले जरिवानाबापतको रकम नबुझाएपछि अदालतले जरिवानाबापत १० वर्ष कैद सजाय थप गरेर कूल १३ वर्ष कैद भुक्तान गर्ने गरी कारागार चलान गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जनाएका छन् ।