दिनहुँ सत्तरीभन्दा बढी कन्टेनर केरुङतर्फ

दिनहुँ सत्तरीभन्दा बढी कन्टेनर केरुङतर्फ


नेपाली बजारमा खपत हुने सामान आयातका लागि केरुङ जाने ट्रक–कन्टेनरको संख्या दिनानुदिन बढ्न थालेको छ ।

जिल्ला प्रहरी प्रमुख भाज्ञेन्द्रपुरुष ढकालका अनुसार बडादशैँ समाप्तिसँगै सामान लिनका लागि दैनिक ७० र ८० वटा ट्रक–कन्टेनर रसुवागढी नाकाको मितेरी पुलबाट केरुङतर्फ प्रस्थान भइरहेका छन् । वर्षायाम समाप्तिसँगै पहिरो जाने समस्या हल भएकाले चिनियाँ सामग्री लिन जाने–आउने सवारीसाधन गुडाउन सहज हँुदै गएको बताइएको छ ।

०७२ मंसिर १५ गतेदेखि पूर्ण रूपमा चालू रहेको नेपालको उत्तरी रसुवागढी नाकाबाट आयात हुने मालवस्तुमा स्याउ, ओखर, स्याउपातीजस्ता फलफूल र अन्य सामानमा जुत्ता, चप्पल, थर्मस, रोल कपडा, तयारी पोसाक, चकलेट, बच्चाको खेलौना, इलेक्ट्रिक सामान, नेपालमा निर्माणाधीन हाइड्रो पावरका उपकरणलगायतका मालवस्तु रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

आयात हुने सामग्री छिटोभन्दा छिटो केरुङबाट नेपाल पठाउन मुसा ट्रान्सपोर्टले सबैभन्दा बढी सामान ट्रकमा लग्ने गरेको र ढुवानीका लागि सो कम्पनी केरुङका क्षेत्रमा सबैभन्दा ठूलो ढुवानी कम्पनी मानिएको व्यापारीले बताएका छन् ।

केरुङमा सामान लाग्ने काम छिटोछरितो हुने गरेका कारण सामान लिन गएका ट्रक–कन्टेनर पनि दैनिक ६० वटाको हाराहारीमा नेपाल फर्कने गरेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले बताए । गत भदौ ३१ गतेदेखि पुनः सञ्चालनमा आएको स्याफ्रुबेंसी मैलुङ–बेत्रावतीखण्ड र धुञ्चेतर्फको पासाङल्हामु मार्गसमेतका दुवै राजमार्ग सञ्चालनमा आएको छ ।