एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी


गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वमा कुमार पन्त एक हजार २१७ मत प्राप्त गरी विजयी भए । उनी संघको आगामी दुई वर्षका लागि प्रतिस्पर्धी कुल आचार्यलाई १४७ मतले पछि पार्दै विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी आचार्यले एक हजार ७० मत प्राप्त गरे ।

सन् १९९९ देखि जर्मनीमा व्यवसाय गरेर बसेको पन्त गोरखाको फुजेलका स्थायी बासिन्दा हुन् । उनी यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष बनिसकेका थिए ।

यसैगरी उपाध्यक्षमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी बने । महासचिवमा डा. हेमराज शर्मा, सचिवमा गौरी जोशी र आरके शर्मा, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल चयन भएका छन् ।

पन्तलाई सत्तारुढ नेकपाको साथ थियो भने आचार्यलाई कांग्रेसले समर्थन गरेको थियो ।

पन्त संघको छैटौँ अध्यक्ष हुन् । यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले दुई कार्यकाल, देवमान हिराचनले एक कार्यकाल, जीवा लामिछानेले एक कार्यकाल, शेष घलेले दुई कार्यकाल र भवन भट्टले संघको नेतृत्व गरेका थिए ।

नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो । एनआरएनएको नवौँ अन्तर्राष्ट्रिय महाधिवेशन गत असोज २८ देखि सुरु भएको थियो ।