तातोपानी कुण्डको सहयोगमा कक्षा ११ र १२ सञ्चालन

तातोपानी कुण्डको सहयोगमा कक्षा ११ र १२ सञ्चालन


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ ।

चिसो बढेसँगै मुस्ताङ जाने–आउने पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउन थालेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताए । उनका अनुसार हाल दैनिक पाँच सयभन्दा बढीले तातोपानीको धारा र कुण्डमा स्नान गर्ने गरेका छन् । प्राकृतिक तातोपानीमा स्नान गर्दा थकान मेटिने र शारीरिक स्फुर्ती बढ्छ । उपल्लो मुस्ताङको चार दिनको भ्रमण गरेर फर्कने क्रममा तातोपानी कुण्डमा स्नान गर्दै गरेका काठमाडौंका प्रदीप शाक्य थकान मेटिएको बताउँछन् । यहाँ दुई पोखरी निर्माण गरिएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ ।

बिहान ६ देखि साँझ ८ बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि आन्तरिक पर्यटकलाई रु. ५० तथा बाह्य पर्यटकलाई रु. १५० प्रवेश शुल्क तोकिएको छ । कुण्डमा प्रवेश शुल्क र होटेल सञ्चालन गर्न गाउँपालिकाले यस वर्ष रु. ५८ लाखमा ठेक्का लगाएको छ । गत वर्ष रु. ५३ लाख आम्दानी भएको थियो । कुण्डबाट हुने आम्दानी तातोपानीस्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए ।

कुण्डको सहयोगमा कक्षा ११ र १२ सञ्चालन गरिएको सर्वोदय मावि व्यवस्थापन समितिका अध्यक्ष बुद्धि पुनले बताउँछन् । हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ । कुण्डको सहयोगमा तातोपानी स्वास्थ्यचौकीमा एक प्राविधिकको तलब व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन गरिएको छ । कुण्डबाट गत वर्ष विद्यालय र स्वास्थ्यचौकीलाई रु. ३० लाख सहयोग भएको थियो । कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिँदै आएको छ । पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा १० भन्दा बढी सुविधासम्पन्न होटेल सञ्चालनमा छन् । यहाँ तीन सयजनाभन्दा बढी बास बस्न मिल्छ । पुराना होटेलको क्षमता र सुविधा विस्तार तथा नयाँ होटेल थपिने क्रम बढेको हिमालयन होटेलका सञ्चालक आत्मा तुलाचनले बताए ।