नेपाल चेम्बर अफ कमर्श र भाइब्रेण्ट गोवा फाउण्डेशनबीच समझदारी

नेपाल चेम्बर अफ कमर्श र भाइब्रेण्ट गोवा फाउण्डेशनबीच समझदारी


भारतको ‘भाइब्रेण्ट गोवा फाउण्डेशन’ र नेपाल चेम्बर अफ कमर्शबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल यतिबेला भारत भ्रमणमा छ । यसैक्रममा द्विपक्षीय व्यापार, लगानी, पर्यटन प्रवर्द्र्धन एवम् आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनका तर्फबाट सभापति राजकुमार कामत र नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठले गोवामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

भाइब्रेण्ट गोवा २०१९ को समुद्घाटन सत्र कार्यक्रममा प्रमुख अतिथि गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तको उपस्थितिमा ‘भाइब्रेण्ट गोवा ः ग्लोबल एक्स्पो २०१९’ को अवसरमा सम्पन्न सो समझदारीपत्रले आगामी दिनमा द्विपक्षीय आर्थिक एवम् व्यापारिक सम्बन्ध वृद्धि हुने अपेक्षा दुवै पक्षले गरेका छन् । साथै व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्नेसमेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।

भाइब्रेण्ट गोवा फाउण्डेशनले ‘भाइब्रेण्ट गोवा ः ग्लोबल एक्स्पो एण्ड समिट २०१९’ को आयोजना गरेको र यसमा भारतीय सरकार र गोवा सरकारको समेतसहभागिता रहेको बताइन्छ । हालै हस्ताक्षर गरिएको समझदारीपत्रले दुई मुलुकबीच हुने अन्तरक्रिया, रोड शो, एक्स्पोमा सहभागितालगायत पर्यटन प्रवर्द्धनमा जोड दिएको छ ।

सो अवसरमा मन्तव्य दिँदै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेबु्रअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताको लागि अनुरोध गर्नुका साथै पहाडी मुलुक नेपाल र समुन्द्री सतहसँग जोडिएको गोवा ‘फ्रम ग्रीन टू ब्लू’बीच पर्यटन प्रवर्द्धन र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्र्याउन सकिने सम्भावनामा जोड दिए ।

यस्तै, भाइब्रेन्ट गोवा फाउण्डेशनका सभापति कामतले यो समझदारीपत्रको कार्यान्वयनले अहिले चेम्बरको सहभागिता उल्लेख्य रहेकोले आगामी वर्षमा यसमा अझ बढोत्तरी हुने र आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रवर्द्धनको लागि महत्वपूर्ण कार्य गरिने प्रतिबद्धता जनाए ।

उक्त समझदारीपत्रमा दुई देशका चेम्बरबीच व्यापारिक सूचना आदानप्रदान, मेला प्रदर्शनीमा दुवै मुलुकमा सहभागिता, पर्यटन प्रवर्द्धन, व्यापारिक–औद्योगिक प्रतिनिधिमण्डलको आदानप्रदान गरिनेसमेत उल्लेख गरिएको छ ।

३८ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरू, उद्यमी, व्यवसायीहरू, प्रदेश ५ का संसद सदस्य भोजप्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरूको समेत सहभागिता रहेको छ ।