पार्टीको पोल्टामा एनआरएनए

पार्टीको पोल्टामा एनआरएनए


■ प्रा.डा. दुर्गा दाहाल

सम्प्रति, काठमाडौंमा विश्वभरिका नेपालीहरू भेला भएका छन् । एनआरएनए नामक अन्तर्राष्ट्रिय सामाजिक संस्थामा आवद्ध नेपालीहरू बौद्धस्थित ह्यात रिजेन्सी होटलमा ब्यग्रताका साथ यो संस्थाको महासम्मेलनले के दिन्छ र यसको आगामी दिशानिर्देश तथा घोषणापत्र कस्तो होला भनेर सहभागी भएका छन् ।

तर विडम्बना ! नेकपा र नेपाली कांग्रेसका राजनैतिक नेताहरूले उम्मेदवारहरूको चयन गरेका छन् र यो कुम्भमेला पूर्णतः राजनैतिक नेताहरूको निर्देशन, आश्वासन र आशीर्वादमा सञ्चालित भएको देखिन्छ । मानौँ, नेकपा र नेपाली कांग्रेसको चुनाव भइरहेको छ । नेपालमा त यी पार्टीहरू विश्वविद्यालयदेखि लिएर हरेक क्षेत्रमा राजनैतिक भागबन्डाको खेल खेलि नै रहेका थिए र अब आएर खुल्लमखुल्ला रूपमा एनआरएनएमा पनि प्रवेश गरेर झोले संस्कृतिको विकास गर्ने भए ।

एनआरएनएका हाम्रा नेताहरू पनि पार्टी प्रतिनिधि रहेछन् भन्ने कुरा यस पटक पुनः प्रमाणित भयो । प्रवास वा विदेशबाट आउनेवित्तिकै राजनैतिक शक्तिकेन्द्रहरूमा गई उम्मेदवारको सूचीमा आफ्नो नाम आवोस् भनिकन बिन्ती स्तुति आशीर्वाद आदित्यादि शुरू भयो ।

प्रत्येक आप्रवासीहरूको पनि कुनै एउटा राजनैतिक पार्टीप्रति आस्था हुनु, साथसहयोग र समर्थन हुनु अस्वाभाविक हैन तर जब नेपाली राजनैतिक नेता, पार्टी र सरकारले राजनैतिक अधिकार दिएको छैन र एनआरएनएले उठाएका समयोचित र जायज़ मागहरूलाई सम्बोधन गरेको छैन र समझदारीमा आएका विषय र सन्दर्भलाई समेत पालना नगरेको अवस्थामा यसरी राजनैतिक रूपमा विभक्त हुनु शुभ संकेत कदापि हैन ।

मैले बुझेको रहेनछु शायद । एनआरएनए सम्भवतः अराजनैतिक संस्था हैन रहेछ । यो सामाजिक संस्था पनि हैन रहेछ । यो त नेपालका राजनैतिक पार्टीहरूद्वारा पृष्ठपोषित, राजनैतिक पार्टीहरूको भातृसंगठन रहेछ । त्यसैले हरेक पार्टीका विदेशस्थित पण्डितहरूको सल्लाह, निर्देशन र अनुमतिमा प्रतिनिधिहरूको चयन र निर्वाचन हुँदोरहेछ ।

यदि त्यसै हो भने हरेक पार्टीको चुनावचिन्ह बोकेर उम्मेदवारी दिँदा उपयुक्त होला । हैन भने, मेरो विचारमा एनआरएनए स्वतन्त्र हुनुपर्छ । यसमा पार्टीको राजनैतिक हस्तक्षेप नभएर शुभकामना सन्देश नै पर्याप्त हुनेछ ।

एनआरएनएका सामाजिक अभियन्ताहरूले प्रवास/विदेशमा बसेर नेपालको राजनीति गर्नु हुन्न बरू राजनीतिमा व्यग्रता छ भने विदेशमा अर्जित सीप, ज्ञान, प्रतिभा, क्षमता, प्रविधि र धनदौलत बोकी स्वदेश फर्किनु र नेपालको दिग्भ्रमित राजनीतिलाई सही बाटोमा निर्देशित गर्नु वान्छनीय देखिन्छ ।

यदि एनआरएनएको विधान, नीति/नियम र आचारसंहितालाई मान्ने हो भने अहिलेका एनआरएनएका नेता र नेपालका नेताहरूले अनियमितता गरिरहेका छन् र एनआरएनएको भविष्यमाथि कुठाराघात गरिरहेका छन् ।

समयमै चेतना भया !