पाँचखालमा पानी खान उपभोक्ताले उठाए १० करोड

पाँचखालमा पानी खान उपभोक्ताले उठाए १० करोड


पाँचखाल नगरपालिकामा बृहत् खानेपानी योजना सञ्चालनार्थ उपभोक्ताबाट रु. १० करोडभन्दा बढी रकम जुटेको छ । सुनकोसी पाँचखाल बृहत् खानेपानी परियोजनाका लागि उपभोक्ताको लगानीसँगै उपभोक्तासँग ऋण सापटी गरी रु. १० करोड १० लाख जुटेको हो ।

हालसम्म पाँचखालका ६० उपभोक्ताले सुनकोसी पाँचखाल बृहत् खानेपानी उपभोक्ता समितिलाई रु. दुई लाखका दरले ऋण सापटी पनि दिएका छन् । अन्य रकम उपभोक्ताबाट संकलन गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । ‘आयोजनाको सम्झौताअनुसार उपभोक्ताले व्यहोर्नुपर्ने रकम जुट्दै छ,’ लामिछानेले भने । उनका अनुसार उपभोक्ताले परियोजनाको पाँच प्रतिशत अर्थात् रु. ११ करोड पाँच लाख जम्मा गर्नुपर्ने सर्त छ ।

पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा रु. १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । परियोजना रु. दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष लामिछानेले बताए । नेपाल सरकार, नगर विकास कोष, एसियाली विकास बैंक (एडीबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ ।

खानेपानी आयोजनाको शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्तबीच गत भदौ १२ गते सो परियाजनासम्बन्धी सम्झौता भएको थियो । परियोजना तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ । योजना शुरु गर्न बोलपत्र प्रक्रियामा रहेको अध्यक्ष लामिछानेले जानकारी दिए । ‘कात्तिकभित्र बोलपत्र भई काम शुरु हुन्छ,’ उनले भने ।

सर्तअनुसार रकम जम्मा नभएपछि रु. १८ हजार दिन नसक्ने उपभोक्तालाई स्थानीय सहकारीमा ऋणी बनाइएको छ । सहकारीमा ऋणी बनाइएका उपभोक्ताबाट रु. एक करोड ४३ लाख रकम जुटेको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखाल क्षेत्रका करिब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाइएको हो । उपभोक्तासँग लिएको ऋण सापटी भने आउँदो तीन मििहनाभित्र फिर्ता गर्ने उपभोक्ता समितिको योजना छ ।

सहकारीले पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई चलनचल्तीभन्दा न्यून व्याजदरमा ऋण दिलाएको नगरप्रमुख महेश खरेलले बताए । उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा सहभागी गराउन नपा कार्यालय जमानी बसेर उपभोक्तालाई स्थानीय सहकारीमार्फत ऋण दिलाइएको हो ।’ यदि उपभोक्ताले एक वर्षसम्ममा पनि सहकारीको ऋण तिर्न नसके नपा कार्यालयले तिरिदिने उनले बताए ।

सहकारीमा सदस्य भएकालाई सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर ऋण दिलाइएको हो । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानी व्यवस्थापन गर्न लागिएको छ । परियोजनाबाट पाँचखाल क्षेत्रका करिब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।