राष्ट्रपति सीले दिएको स्पष्ट सन्देश

राष्ट्रपति सीले दिएको स्पष्ट सन्देश


■ डा. बुद्धिप्रसाद शर्मा

भलै नेपालको तयारी उपयुक्त किसिमले नगरिएको भए पनि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय सुरु गरेको छ । साथै, प्रतिबद्धताहरू कार्यान्वयन हुन सके सिङ्गो दक्षिण एसियाकै आर्थिक, राजनीतिक एवम् सामरिक सम्बन्धमा नयाँ परिवर्तन देख्न सकिने छ । निकै विचार एवम् सजगताका साथ भएको चिनियाँ नेतृत्वको नेपाल भ्रमण एवम् केही घोषणाहरूले दक्षिण एसिया मामिलामा चासो राख्नेहरूलाई थप घोत्लिने र आउँदो सन्दर्भका सम्बन्धमा विश्लेषण गर्ने यथेष्ट विषयवस्तु पनि दिएको छ । नेपाली नेतृत्व र राजनीतिक दलहरूलाई सीले कुरा होइन काम गरेर मात्र जनताको सेवा गर्न र मन जित्न सकिन्छ भन्ने सन्देश पनि दिएका छन् । सुन्दा सामान्य जस्तो लागे पनि यस विषयको वास्तविक आकार निकै गहन छ ।

विकास र समृद्धि त विश्वमा अन्य धेरै देशहरूले पनि हासिल गरेका छन्, तर चीनले जसरी ठूलो भूगोल र विशाल जनसंख्यामाझ अत्यन्तै तीव्रतर विकास आजसम्मकै विश्वको इतिहासमा कसैले हासिल गर्न सकेको छैन । सन् १९७८ बाट सुरु गरिएको संरचनागत सुधार एवम् खुलापनको नीतिपश्चातको करिव ४० वर्षमा चीन यो चरणमा आइपुगेको हो ।

आजको दोस्रो आर्थिक शक्ति चीन विश्व बैंकको प्रक्षेपणअनुसार अबको दश वर्षमा अमेरिकालाई उछिन्दै पहिलो आर्थिक शक्ति बन्नेछ । करिव तीस वर्षसम्म त चीनले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरेको थियो विशाल जनसंख्या एवम् असख्य संरचनागत समस्याका बाबजुद । यसकारण पनि नेपाल जस्ता देशहरूले आर्थिक–सामाजिक विकासको चिनियाँ अनुभव र प्रयोगबाट सिक्दा फाइदा नै हुन्छ । एक क्षेत्रका प्रयोग हुबहु अर्को ठाऊँमा प्रयोग गर्न नसकिए पनि अनुभव, पद्धति एवम् मोडलबारे सिकाई आदानप्रदान हुन सके भने त्यसले नयाँ तरिका र मोडलको सिर्जनामा सहयोग पुऱ्याउँछ । सिकाइमा कन्जुस्याइँ गरेको भए पक्कै पनि चीन यो अवस्थामा आउने थिएन होला । चीनका सुधारक नेता तङ्ग सियाओफिङले त्यतिबेला पनि समृद्ध मुलुकहरूको भ्रमणमा जाँदा भन्ने गर्थे कि हामी सिक्न–बुझ्न आएका छौँ तपाईहरूको सहयोग चाहिन्छ ।

राष्ट्रपति सीले स्पष्ट शब्दमा अब नेपाल ‘भूजडित’ मुलुक हुने र बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गतको वृहत सञ्जालमार्फत बहुआयामिक सम्पर्क सञ्जाल निर्माण भई यसले सबैको हित गर्ने बताएका छन् । उनले नेपाली नेताहरूलाई योजना बनाएपछि कार्यान्वयन गर्ने चिनिया तरिका हो भन्दै अब दुई देशको रणनीतिक साझेदारीले साँच्चै नै नेपाल–चीन दुवैले दीर्घकालीन रूपमा लाभ हुने गरी मार्ग प्रशस्त गर्ने संकेत गरेका छन् ।

चिनियाँ राष्ट्रपतिले सकरात्मक संकेत गरेर गइसकेपछि नेपालले अब राष्ट्रिय प्राथमिकताका साथ सम्झौता–समझदारीहरूको कार्यान्वयनमा तदारुपता देखाउनुपर्छ । काम गर्ने तरिकामा अब पनि परिवर्तन आउन नसके इतिहासकै यो सुन्दर अवसर निश्चित रुपमै खेर जानेछ ।

उत्तरतिरका नाकाहरू व्यावहारिक किसिमले आधुनिक बनाउन सकियो भने विभिन्न क्षेत्रमा व्यापक सञ्जाल निर्माण भई नेपाल निश्चित रूपमा राष्ट्रपति सीले जोड दिएजस्तै भूपेरिवेष्ठित मुलुक रहने छैन् । नेपाली जनता पनि दक्षिण छिमेकी मुलुकतर्फको अत्याधिक पारवहन निर्भरता कम गर्न निकै आतुर छन् । अब नेपालले भूरणनीतिक अवस्थितिलाई आर्थिक–सामाजिक क्षेत्रमा व्यापक लाभ प्राप्त गर्ने किसिमले उपयोग गर्न सक्नुपर्छ । साथै शक्ति राष्ट्रहरूका जाहेज चासोलाई सम्बोधन गर्न प्रयास गरे पनि कुनै पनि किसिमको भूराजनीतिक जोडघटाउ, तनाव एवम् घम्साघम्सीमा नेपाल फस्नु विल्कुलै हुँदैन । अहिले नेपालमा जुन किसिमले बिआरआई कि इण्डो–प्यासिफिक भन्ने लहर–वहस चलेको छ, यस किसिमका अनावश्यक वहसमा नअल्झिकन नेपालले असंलग्न परराष्ट्र नीति एवम् पञ्चशीलको सिद्धान्तमा अडिग रही शक्ति राष्ट्रहरूसँगको सम्बन्धलाई अगाडि बढाउनु पर्छ ।

सरकारले समृद्धको निकै कुरा गरे पनि लगानीकर्ताहरूलाई आकर्षित गर्ने किसिमबाट अझै आवश्यक कानुन, नीतिगत सुधार एवम् प्राविधिक तयारी आवश्यक मात्रामा पनि गर्न सकेको छैन् । जसले गर्दा स्वदेश वा विदेशका लगानीकर्ताहरूमा नेपालमा लगानीकोलागि सकरात्मक मनस्थिती बन्न सकेको छैन् । सरकार सञ्चालकहरूले यति कुरा पनि किन गम्भीर रूपमा लिन नसकेको हो बुझ्न सकिएको छैन । सीको भ्रमणले पार्ने अर्को सकरात्मक प्रभाव भनेको चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानीको लागि प्रोत्साहन पनि हो । तर त्यसको लागि अगाडि भनेजस्तै ठोस तयारी सरकारी निकायहरूले गर्न सकेका छैनन् ।

अब नेपाली नेतृत्व चीन सरकारसँग भएका सम्झौता एवम् समझदारीहरूलाई उपयुक्त ढङ्गले कार्यान्वयन गर्न लागिपर्नु पर्छ । चिनियाँ राष्ट्रपतिले सकरात्मक संकेत गरेर गइसकेपछि नेपालले अब राष्ट्रिय प्राथमिकताका साथ सम्झौता–समझदारीहरूको कार्यान्वयनमा तदारुपता देखाउनुपर्छ । काम गर्ने तरिकामा अब पनि परिवर्तन आउन नसके इतिहासकै यो सुन्दर अवसर निश्चित रुपमै खेर जानेछ । नेपाली जनताको समृद्धिको सपना आखिर सपना मात्र रहनेछ । राष्ट्र र जनताको सेवा बाहेक राजनीतिक दलहरूको अर्को उपादेयता छैन । यो तथ्यलाई सीले भनेजस्तै दलहरूले गम्भीर रूपमा मनन गर्नु जरुरी छ । यो युग काम देखाउने समय हो न कि बोक्रे कुरा मात्र गरेर जनता अल्मलाउने ।