कात्तिक २ र ३ मा २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

कात्तिक २ र ३ मा २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै


देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

कार्यक्रमअन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल), ६ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइनेछ ।

बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा सोही संख्यामा स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।

मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ । संघीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ ।

कार्यक्रममा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाखलाई भिटामिन ‘ए, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाखलाई जुकाको औषधि (अल्वान्डाजोल), ६ महिनादेखि दुई वर्षभित्रका चार लाखलाई बालभिटा र पाँच वर्षमुनिका २७ लाखको पाखुराको नाप लिइनेछ

ती कार्यक्रमका लागि करिब तीन करोड ५० लाख बजेट विनियोजन गरिएको छ । ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु. ४०० भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ ।

सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताए । उनले भने, ‘भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ ।’

किन आवश्यक छ भिटामिन ए ?

बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधी क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने प्रमुख पराजुलीले बताए ।

यसैगरी सोही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्वान्डाजोल खानापछि खुवाइनेछ । जुकाका कारण रक्तअल्पता, एनेमिया, खाएको खाना नपच्ने हुने गर्दछ ।

यसैगरी बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ । हाल पाँचवर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे तथा मोटा रहेका छन् । पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहाराबारे जानकारी दिइने कार्यक्रमअन्तर्गत रहेको छ ।

बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ । ती राष्ट्रिय कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

रासस