एनआरएनए : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाको अनुहार

एनआरएनए : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाको अनुहार


■ प्रा.डा. दुर्गा दाहाल ‘अनुभव’

एनआरएनएको मूलभूत लक्ष्य र उद्देश्य अत्यन्त राम्रो छ तर यो संस्थाले आफ्नो प्राथमिकता छुट्ट्याउन सकेन र सबैलाई समेट्न पनि सकेको छैन भन्दा यसका अभियन्ताहरूले छक्क मान्नु पर्दैन ।

हो ! यो संस्था ‘कुइरोको काग’ भएकै छ । केवल दुई-चारवटा सम्मेलन गरेर मात्रै यसको कर्तव्य र दायित्व पूरा हुँदैन । अरु बेला निस्कृय भएर केवल चुनावताका हल्लीखल्ली गरेर, पद हासिल गरेर, हाहू गरेर आफ्नो कार्यकाल बिताउनु अत्यन्त लज्जास्पद कार्य हो ।

पंक्तिकारलगायत अन्य साथीहरूले बारम्बार लिखित र मौखिक रूपमा एनआरएनको कार्यदिशा बारे आ-आफ्ना अभिव्यक्तिहरू दिइरहेकै छौँ, तर हाम्रा नेताहरूको ‘सुन्ने बानी’ छैन, किनभने हामी नेपालबाट आएका हौँ । नेपालमै उत्पादित, शिक्षित र दीक्षित नेताहरू एनआरएनका पनि अगुवा भएकाले आफ्नै पाराका छन् ।

यो एनआरएनए कसैको क़ब्ज़ामा भएको पनि प्रतीत भएको छ । यसले मूलभूत रूपमा विदेश/प्रवासमा रहने नेपालीहरूको वृहत्तर हित र स्वार्थको हितमा काम गर्न नसकेको कुरा यसको लोकप्रियता र मतदाता संख्या घट्तै गएको सत्यांक र तथ्यांकबाट नै प्रष्ट छ ।

एनआरएनएको आवश्यकता र उपादेयता छ तर सही दिशा र कार्यविधि भएको खण्डमा मात्रै उक्त कुराको पुष्ट्याईँ हुन्छ । एनआरएनएको मञ्च, लोगो र लेटरप्याड दुरूपयोग भररहेको र केवल मुट्ठीभर नेता र व्यक्तिहरूको आदेश, निर्णय र हुकुमबाट यो संस्था चलिरहेको छ ।

कैयौँ देशका एनआरएनए अध्यक्ष र पदाधिकारीहरू लाचार स्थितिमा छन् किनभने उनीहरूको आफ्नो विचार र भावनाहरू अन्तराष्ट्रिय एनआरएनएमा सुनिएको, खोजिएको र आदर गरिएको छैन । एक किसिमको सिन्डिकेट यहाँ पनि देखियो । कतिपय अवस्थामा त अहिले नेतृत्व भितरका नेताहरूको भन्दा नेतृत्व इतरका नेताहरूको हाबी देखिएको छ ।

वास्तवमा, एनआरएनएका नेताहरूले नेपालीहरूको सामुदायिक स्वार्थ भन्दा पनि आफ्नो निहित व्यक्तिगत स्वार्थका निम्ति पनि यो संस्थालाई उपयोग गरिएको पाइयो । नेतृत्व हातमा लिएर सामुदायिक कार्य गर्ने निहुँमा, अर्थ र राजनैतिक नेताहरूको आड़मा नजानिँदो पाराले आफूलाई विभिन्न किसिमको लाभ लिएको पनि पाइएको छ ।

एनआरएनएका नेताहरूमा ख़ासगरी दुईवटा अत्यावश्यकीय गुणहरू पाइएन जुन संसारभरिका अधवैँशे र वृद्ध नेपाली नेताहरूमा (अपवाद बाहेक) पटक्कै छैन । ती हुन्-

१. जिम्नेमेवारीपन (Accountability)
२. पारदर्शिता (Transparency)

उपर्युक्त दुईवटा गुणहरू नहुनेवित्तिकै नेतृत्व असफल र बदनाम हुन्छ । यद्यपि दुईवटा विशेषण हरूको कमी देखियो तर त्यसले सारा संस्थालाई मृत्युतुल्य र निस्तेज बनाउँछ ।

नेपालका प्रधानमन्त्री र मन्त्रीहरू, विभिन्न राजनैतिक दलका नेताहरबाट संक्रमित हुँदै यो विश्वभरिका नेपाली संघ-संस्थाहरूमा फैलिएको छ ! कारण, पुरानो स्कूल, दम्भी प्रवृत्ति, कोठे नीच र घृणित राजनीति तथा अप्रजातान्त्रिक संस्कार आदि-इत्यादि । धेरै व्याख्या गर्नै पर्दैन ।

अतः एनआरएनएको आसन्न काठमाडौं महायज्ञमा आफ्ना कमी-कमजोरी हरूलाई पनि केलाई समसामयिक निर्णय र दिशाबोध गर्नुपर्छ । आगामी वर्षहरूको क्यालेण्डर बनाउनु पर्छ र समावेशी तथा हरेक राष्ट्रको जनसंख्याको आधारमा समानुपातिक पनि बनाउनु पर्छ ।

यो संस्थालाई कुहिरो र सिन्डिकेटबाट निकाली जिम्मेवार, पारदर्शी र प्रजातान्त्रिक बनाउनु पर्छ । प्रजातान्त्रिक मूल्य-मान्यता र संस्कारहरूले गुणयुक्त उम्मेदवारहरूलाई जिताउनु पर्छ अनि स्वदेश र विदेशको बीचमा सेतु निर्माणको कार्य गरी पारस्परिक सहयोग, सद्भावना र सहकार्यको मार्ग प्रशस्त गराउनु पर्छ ।

(क्यालिफोर्निया निवासी प्रा.डा. दाहाल स्वयं एनआरएनएका आजीवन सदस्य र सामाजिक अभियन्ता हुनुहुन्छ ।)