आँधी प्रभावितलाई सहयोग गर्न लाखौँ डलरको बन्दोबस्त

आँधी प्रभावितलाई सहयोग गर्न लाखौँ डलरको बन्दोबस्त


जापान सरकारले हागिबिस नाम दिइएको आँधीबाट पुगेको जनधनको क्षतिका लागि दशौं लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ । जापानको इतिहासमा निकै शक्तिशाली मानिएको यस आँधीबाट देशभर कम्तीमा ७४ जनाको मृत्यु भएको थियो ।

हागिबिस आँधी गत शनिबार शुरु भएर देशैभर फैलिएको थियो । तीव्र वेग र वर्षाका कारण जनजीवन तहसनहस भएको थियो । देशका विभिन्न भागमा बाढी, पहिरो आएको थियो । बुधबार मध्यसम्ममा आँधीका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ । अझै पनि दर्जनौँ मानिस बेपत्ता रहेको खोज तथा उद्धार निकायले जनाएका छन् ।

प्रधानमन्त्री सिन्जो आबेले आँधी प्रभावित क्षेत्रका लागि आपतकालीन कोषबाट खर्च गर्नेगरी तत्काल ६५ लाख अमेरिकी डलर विनियोजन गरिएको जानकारी दिए । सरकारले आँधी प्रभावित तीन सयभन्दा बढी नगरपालिकालाई अनुदानको रूपमा उक्त रकम वितरण गर्न लागेको हो ।

प्रधानमन्त्री आबेले जनजीवन जतिसक्दो चाँडो सामान्य बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरेका छन् । बुधबार बिहानसम्म १० हजारभन्दा बढी घरपरिवारमा विद्युत सेवा उपलब्ध हुन सकेको छैन भने एक लाख १० हजारभन्दा बढी घरमा खानेपानीको अभाव छ ।

सरकारका प्रवक्ता योशिहिदे सुगाले आँधी प्रभावित इलाकामा खोज तथा उद्धारका कार्यलाई युद्धस्तरमा सञ्चालन गरिरहेको जानकारी दिए । निकै भारी वर्षा भएका कारण नदीहरूमा पानीको सतह बढेको र देखिएको जमिनमा पनि हिलो जमेको उनले बताए । प्रवक्ता योशिहिदेले स्थानीयलाई पहिरो आउन सक्ने खतराबारे सचेत रहन सूचना गरिएको बताए । आँधीबाट खासगरी देशको उत्तरपूर्वी भेग नराम्रोसँग प्रभावित भएको छ । फुकुसीमा क्षेत्रमा मात्र २६ जनाको ज्यान गएको थियो ।