विश्व च्याम्पियन उसुमा नेपाली खेलाडी प्रतिस्पर्धा गर्ने

विश्व च्याम्पियन उसुमा नेपाली खेलाडी प्रतिस्पर्धा गर्ने


मित्रराष्ट्र चीनको संघाई शहरमा आयोजना हुने १५औँ विश्व च्याम्पियन उसु प्रतियोगिता नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । असोज ३० देखि कार्तिक ७ गतेसम्म संचालन हुने विश्व च्याम्पियनसिपमा नेपालका ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् ।

११ खेलाडी सहित ५ जना अफिसियलले सहभागिता जनाउने उक्त १६ जना टोलीको नेतृत्व नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले गरेका छन् । नेपाली टोली असोज ३० गते बिहीबार त्यसतर्फ उड्ने कार्यक्रम रहेको छ । टोली नेता अध्यक्ष तामाङले विश्व च्याम्पियनसिपमा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गर्ने र त्यसको अनुभव नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा देखाउने बताए ।

गैरीधारा रेष्टुरेन्टमा आयोजित विदाई कार्यक्रममा विश्व च्याम्यियन उसु प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरुको हौसला बढाउन उसु महासंघले खेलाडीहरुलाई एक एक सेट ‘केल्मी ट्रयाकसुट’ प्रदान गरेको थियो । उक्त ट्रयाकसुट महासचिव लामाले खेलाडीलाई हस्तान्तरण गरेका थिए ।

खेलाडीहरुलाई ट्रयाकसुट प्रदान गर्न अध्यक्ष वीरवहादुर तामाङले ४० हजार, उपाध्यक्ष नानीबाबु तामाङले २५ हजार र महासचिव ल्हाकपा छिरिङ लामाले २५ हजार सहयोग गरेका थिए । विदाई कार्यक्रमा महासचिव लामाले सहभागि खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्ने कुरामा विश्वास प्रकट गर्दै सफलताको शुभकामना दिए ।

सो अवसरमा उसुका मुख्य प्रशिक्षक अमरकुमार सिंह र टेक्नीकल डाइरेक्टर गणेश अर्याल र महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।