भोलेन्टियर प्रशिक्षकका कारण कराते खेलाडीको बिचल्ली

भोलेन्टियर प्रशिक्षकका कारण कराते खेलाडीको बिचल्ली



■ श्रीविक्रम भण्डारी

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को बन्द प्रशिक्षणमा रहेका कराते खेलाडीहरूको बिचल्ली भएको छ । बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू बिचल्लीमा पर्नुको कारण करातेका भोलेन्टियर प्रशिक्षक राधिका देउला र गोपाल महर्जन रहेको स्रोत बताउँछ । यी दुवै प्रशिक्षकका कारण अहिले करातेमा विवाद चर्किएको छ भने बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू सातदोवाटोबाट गोकर्णेश्वर पुगेका छन् । बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूको यस्तो बिचल्ली हुँदा समेत राष्ट्रिय खेलकुद परिषदले ‘चुँ’ समेत गरेको छैन ।

भोलेन्टियर प्रशिक्षक देउला र महर्जनलाई १३औँ सागको प्रशिक्षकमा राख्न करातेका मुख्य प्रशिक्षक मदन उपे्रती र कराते महासंघका पदाधिकारीको गोप्य साँठगाँठका कारण करातेको प्रशिक्षणमा अवरोध उत्पन्न भएको हो । महासंघका केही पदाधिकारीले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न राखेपका प्रशिक्षक हुँदाहुँदै भोलेन्टियर प्रशिक्षकलाई राख्नुपर्ने दबाब राखेपलाई दिएपछि करातेको विवाद चुलिएको हो । केही महिनादेखि शान्त देखिएको करातेलाई पुनः अशान्त बनाउनमा महासंघका वरिष्ठ उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे र मुख्य प्रशिक्षक मदन उप्रेतीले विशेष भूमिका निभाएको स्रोतले बताएको छ ।

राष्ट्रिय खेलकुद परिषदले सात जना कराते प्रशिक्षकलाई योग्यता र अनुभवको आधारमा प्रशिक्षणको जिम्मेवारी दिएको हो । तर महासंघका पदाधिकारीले आफुसँग कुनै समन्वय नै नगरी राखेपले एकलौटी निर्णय गरेको भन्दै देउला र महर्जनलाई प्रशिक्षकमा राख्नुपर्ने दबाब राखेपलाई दिँदै आएको छ । साथै जबसम्म यी दुईजनालाई प्रशिक्षकमा राखिँदैन तबसम्म सातदोबाटोमा प्रशिक्षण गर्न नदिने धम्किसमेत दिएको स्रोतले बताउको छ । प्राप्त जानकारीअनुसार राखेपले यी दुई भोलन्टियर प्रशिक्षकलाई राख्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै निर्णय नगरेको थाहा भएको छ ।

अहिले सातदोबाटोको कराते हलमा प्रशिक्षण गरिरहेका कराते खेलाडीहरू गोकर्णेश्वरस्थित भगवती युवा क्लबको कराते हलमा प्रशिक्षण गर्न पुगेका छन् । सातदोबाटोमा कराते खेलाडीलाई प्रशिक्षण गर्न महासंघका सदस्य ध्वजमान मोक्तान र रवि महर्जनले असोज २७ गते रोक लगाए थिए । प्राप्त जानकारीअनुसार करातेको प्रशिक्षण रोकिए कराते खेलाडीहरूमा नकारात्मक सन्देश जाने निस्कर्ष निकाल्दै महासंघले विवाद समाधान नभएसम्म गोकर्णेश्वरमै नियमित रुपमा कराते खेलाडीको प्रशिक्षण गरिने स्रोतले बताएको छ ।

असोज २८ गते सोमबारदेखि विहान ८ देखि १० र बेलुकी ४ देखि ६ बजेसम्म गोकर्णेश्वरमा कराते खेलाडीहरूले प्रशिक्षण गरिरहेका छन् । २२ जना कराते खेलाडीलाई करातेका मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र तारा गुरुङले प्रशिक्षण गराइरहेका छन् ।

कराते महासंघले गोकर्णेश्वरमा करातेको बन्द प्रशिक्षण गराइरहे पनि यसको जानकारी राष्ट्रिय टीम तयारी समिति गराएको छैन । यो घटनाको बारेमा समितिले अनविज्ञता प्रकट गर्दै यदि खेलाडीलाई केही भयो भने त्यसको जिम्मेवारी कस्ले लिने, उल्टै प्रश्न गरेका छन् । राखेपले तोकेको ठाउँमा मात्र प्रशिक्षण गर्नुपर्ने भन्दै समितिले आफुखुशी कसैले पनि गर्न नपाउने बताए ।

त्यस्तै यो घटनाको बारेमा करातेका मुख्य प्रशिक्षक मदन उप्रेतीसँग सम्पर्क गर्दा उनले महासंघका पदाधिकारीको बचाउ गर्दै सामान्य घटनालाई ठूलो पारिएको बताए । साथै भोलेन्टियर प्रशिक्षकले राष्ट्रिय कराते टीमका खेलाडीलाई नियमित प्रशिक्षण गराइरहेको बताउँदै उनीहरूलाई प्रशिक्षकको टीममा राख्न राखेपसँग छलफल भैरहेको बताए ।

साथै कराते खेलाडीलाई प्रशिक्षणको लागि गोकर्णेश्वर लगिएको सम्बन्धमा प्रश्न गर्दा उप्रेतीले खेलाडीलाई एकै ठाउँमा प्रशिक्षण गर्दा बोर हुने भएकोले फ्रेस हुन गोकर्ण लगिएको बताए । साथै केही समयपश्चात सातदोबाटोस्थित कराते हलको रङरोगन र मर्मत शुरु हुने र एक महिनाको लागि हल बन्द हुने भएकोले नयाँ वाताबरणको लागि गोकर्णेश्वर चुनिएको उप्रेतीले बताए ।

यसबारेमा सम्बन्धित निकाय राखेपका कर्मचारीसँग सम्पर्क गर्दा त्यस्तो किसिमको कुनै कारण नभएको बताए । ‘कराते हलमा रंगरोगन लगाउनु पर्दैन, केही समय पहिले मात्रै लगाइएको हो, फल्स सिलिङ हाल्ने भए एक महिनाको समय लाग्ने कुरा चलेको हो, तर अहिलेसम्म यो बारेमा राखेपले कुनै कुरो नै गरेको छैन, हल छोड्नुपर्ने कारण राखेप होइन्, यो उनीहरूको आफ्नै कारण हो’– ती कर्मचारीले बताए ।