नेपाल प्रहरीमा थपियो हजारौँ दरबन्दी

नेपाल प्रहरीमा थपियो हजारौँ दरबन्दी


नेपाल प्रहरीमा तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित तीन हजार ५९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार दरबन्दी थप भएको र थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेसँगै पदपूर्ति कार्यान्वयनको चरणमा गएको नेपाल प्रहरीका प्रवक्ताले जानकारी दिएका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलका आनुसार बढुवा तथा नयाँ भर्ना प्रक्रियाद्वारा पदपूर्ति गरिने छ । नयाँ पदपूर्तिपछि स्थानीय तहको केन्द्रमा रहने गरी १८६ नयाँ प्रहरी एकाइ थपिने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरी एकाइ रहने छ ।

हाल नेपाल प्रहरीमा ७५ हजार ९२७ दरबन्दी रहेको छ । थपिएको दरबन्दीमा प्राविधिकसहित तीन प्रहरी वरिष्ठ उपरीक्षक, तीन प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ४७ प्रहरी निरीक्षक, ८६ प्रहरी नायब निरीक्षक, २९७ प्रहरी सहायक निरीक्षक, ६८३ प्रहरी हवल्दार, दुई हजार २१६ प्रहरी जवानलगायत छ । यसमा प्राविधिकतर्फ १२९ दरबन्दी थपिएको हो ।

सरकारी निर्णयअनुसार थपिएको दरबन्दी पदपूर्तिका लागि प्रक्रिया शुरु भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।