किर्ते नियुक्तिविरुद्ध विद्यालयमा ताला

किर्ते नियुक्तिविरुद्ध विद्यालयमा ताला


विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ स्थित माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् ।

विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कागजी किर्ते गरी लेखापालमा सिरहाको भगवानपुर गाउँपालिका– २ नहरारिगौल निवासी जागेश्वर सिंहलाई नियुक्ति गरेको आरोप लगाउँदै असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सोमबार विद्यालयमा तालाबन्दी गरेका हुन् ।

उमेर हद नाघे पनि सिंहलाई नियुक्ति दिएको भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय नथुनी साह र नारायण यादवको नेतृत्वमा स्थानीयले विद्यालयमा तालाबन्दी गरेको स्थानीयले बताएका छन् । विद्यालयको प्रशासन शाखामा गरिएको तालाबन्दीका कारण विद्यालयको प्रशासनिक कामकाज प्रभावित भएको छ ।

यता विद्यालयका प्राधानाध्यापक घुरन यादवले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार पछिल्लो १५ वर्षदेखि विद्यालयमा कार्यरत सिंहलाई काममा राखिएको बताए ।