महरालाई थप तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

महरालाई थप तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको एकल इजलासले उनलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

मंगलबार प्रहरीले महरालाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएपछि अदालतमा पेस गरिएको थियो ।

अदालतमा महराका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए भने सरकारी वकिलका तर्फबाट अधिवक्ता उमाकान्त पौडेलले बहस गरेका थिए । पौडेलले महरालाई १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको माग गरेका थिए ।

आफूमाथि असोज १२ गते आफ्नै डेरामा आएर सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार गरेको भन्दै संसद सचिवालयमै कार्यरत रोशनी शाहीले असोज १८ गते किटानी जाहेरी दिएपछि महरा १९ असोजमा पक्राउ परेका थिए ।

पक्राउपछि प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महरालाई स्वास्थ्यमा समस्या देखिएपछि गत बिहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनलाई अस्पतालबाट सीधै सरकारी वकिलको कार्यालय लगिएको थियो । सरकारी वहिलको कार्यालयबाट उनलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको थियो ।