सञ्चारमाध्यममा प्रयुक्त भाषाप्रति प्रधानमन्त्रीको असन्तुष्टि

सञ्चारमाध्यममा प्रयुक्त भाषाप्रति प्रधानमन्त्रीको असन्तुष्टि


प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममा प्रयोग गरिने भाषाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उदघाटन समारोहमा प्रधानमन्त्री ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो भाषा र संस्कृति नबिर्सन सुझाव दिँदै विकसित देशको संस्कृति देखासिकी गर्दा नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्संदै गएको गुनासो पनि गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘सभ्यताका पर्खाल बागमतीमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् । किनभने अंग्रेजीको ‘यु’ को लोभमा पत्रकार परेका छन् । अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभमा पर्दा बालाई तपाईं भन्न गाह्रो लाग्यो । किनभने पैसावाला, डलरवाला, ‘यु’ वालाहरू ‘यु’ले काम चलाउँछन् । त्यसैले उनीहरूमा सभ्यता त त्यो रहेछ भन्ने भ्रम परेको छ । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ ।’

प्रधानमन्त्री ओलीले यसअघि पनि पटकपटक सञ्चारमाध्यममा प्रयुक्त भाषाप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।