सतर्कताको प्रभाव : बडादशैंँमा गण्डकी प्रदेशमा सडक दुर्घटनामा कमी

सतर्कताको प्रभाव : बडादशैंँमा गण्डकी प्रदेशमा सडक दुर्घटनामा कमी


■ सनत आचार्य

गण्डकी प्रदेशमा यस वर्षको बडादशैंँमा सवारी दुर्घटनामा कमी आएको छ । बडादशैंँको क्रममा यात्रुहरूको आवागमनको चापलाई मध्यनजर गर्दै अपनाइएको सजगताका कारण सडक दुर्घटना न्यून रहेको हो । यसपालाको बडादशैं अवधीभर यस प्रदेशमा जम्मा ३० वटा सवारी दुर्घटना भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।

ट्राफिक प्रहरीको सतर्कताका कारण तुलनात्मक रूपले गत वर्षको दशैँभन्दा यस वर्ष गण्डकी प्रदेशमा सवारी दुर्घटनाको संख्यामा कमी आएको हो । गत वर्ष यस प्रदेशमा कुल ४५ वटा सवारी दुर्घटना भएकोमा यस वर्ष ३० वटा मात्र सडक दुर्घटना भए । यसैगरी, गतवर्ष यस अवधिमा १८ जनाले ज्यान गुमाएका थिए भने यो वर्ष १५ जनाले । गत वर्ष १ सय २१ जना घाइते भएका थिए भने यस वर्ष ३१ जना मात्र ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार यो दशैँमा सबैभन्दा बढी सवारी दुर्घटना नवलपरासी पूर्वमा भएको छ । उक्त जिल्लामा १५ सडक दुर्घटनामा ५ जनाले ज्यान गुमाएको र २३ जना घाइते भएका छन् । त्यस्तै, कास्कीमा ६ वटा दुर्घटनामा ६ जनाको मृत्य र २ जना घाइते भएका छन् । तनहुँमा ४ वटा दुर्घटनामा ३ जनाको मृत्यु र २ जना घाइते, पर्वतमा २ दुर्घटनामा २ जना घाइते, स्याङ्जामा एक दुर्घटनामा एक जनाको मृत्यु र गोरखा र लमजुङमा एक एक दुर्घटनामा एक एक जना घाइते भएका छन् । गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा मनाङ, मुस्ताङ, बागलुङ र म्याग्दीमा भने यो अवधीमा कुनै पनि सवारी दुर्घटना भएनन् ।

प्रमुख घिमिरेले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीद्वारा विभिन्न जिल्लाहरूमा गरिएका नागरिक सचेतना तथा सवारी चालकहरूलाई गरिएको सजगताका कारण यसपालीको दशैँमा दुर्घटना न्यून भएको बताउनु भयो । प्रदेशको नाकाहरूमा गरिएको चेकिङको व्यवस्था, २ सय ५० किलोमिटर भन्दा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनहरूमा दुई जना चालकको व्यवस्था भए नभएको अनुगमन गरिएको पनि वहाँले बताउनुभयो । वहाँले गण्डकी प्रदेशमा भएको सीमित मानवीय र भौतिक श्रोतसाधनका बाबजुद सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएका प्रयासहरूले नै दुर्घटनामा कमी भएको बताउनुभयो । प्रमुख घिमिरका अनुसार ट्राफिक प्रहरीलाई आवश्यक श्रोत र साधनहरू उपलब्ध भए दुर्घटनाको संख्या अझै घटाउन सकिने बताउनुभयो ।

सवारी दुर्घटना कम गर्नका लागि यसवर्ष गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानहरूमा चेक प्वाइन्ट स्थापना, मापसे चेकजाँचमा कडाइ, सवारी साधनको अवस्थाको चेकजाँच र सवारी चालक तथा यात्रुवर्गहरूमा सचेतना जस्ता कार्यक्रम आयोजना गरिएको हुँदा त्यसको प्रभाव स्वरुप पनि सवारी दुर्घटनामा कमी आएको वहाँले बताउनुभयो ।

प्रमुख घिमिरेले सवारी दुर्घटनाको प्रमुख कारणका रुपमा चालकको लापरवाही रहेको बताउनुभयो । त्यस्तै अन्य कारणहरूमा यात्रुहरूमा पनि सडक सुरक्षासम्बन्धी चेतनाको कमी, सडकको अवस्था, बदलिँदो मौसमलगायत कारणले सवारी दुर्घटना हुने गरेको उहाँको भनाई छ ।

धेरै भाडा असुल्नेलाई पनि कारवाही

बडादशैंँमा कानुनविपरीत गर्ने सत्तरीवटा मिटर ट्याक्सीलाई पनि कारवाही गरिएको छ । यात्रुसँग तोकिएको भाडा दर भन्दा बढि रकम असुल्ने, गन्तव्यसम्म मिटरमा जान नमान्ने र यात्रुसँग मोलमोलाई गर्ने गरिएकोले कारवाही गरिएको हो ।

यस्तै, दशै अवधिभर कास्कीमा मादक पदार्थ सेवन गरेका १ सय ८ जनालाई सवारी चालकहरूलाई कारवाही गरिएको गरिएको जनाइएको छ ।