नेकपाको शुभकामना आदानप्रदान तथा चियापन भोलि

नेकपाको शुभकामना आदानप्रदान तथा चियापन भोलि


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार (असोज २९ गते) शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको नेकपाले जनाएको छ ।

पार्टीका महासचिव विष्णु पौडेलले मंगलबार (आज) जारी गरेको विज्ञप्तिमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आमजनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको उल्लेख छ ।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सदभाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषता अनि लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने पनि विज्ञप्तिमा जनाइएको छ ।
रासस