राजपा सांसद साह प्रहरी नियन्त्रणमा

राजपा सांसद साह प्रहरी नियन्त्रणमा


जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा नेपालका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

सांसद साहले सोमबार जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टरमा विमान निर्धारित समयमा नआएको भन्दै तोडफोड गरेका थिए । नेपाल नागरिक उडड्यन प्राधिकरण जनकपुरले उनीविरुद्ध किटानी उजुरी दिएको थियो ।

सांसद साहलाई पक्राउ गर्न जिल्ला अदालत धनुषाबाट अनुमति लिई काठमाडौंमा पक्राउ पुर्जी पठाइएपछि उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

सांसद साहले सोमबार जनकपुर विमानस्थलमा विमान ढिलो आएको भन्दै बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए जुन कुरा उनी आफैँले पनि स्वीकार गरेका छन् ।

सांसद साहलाई मंगलबार प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिअन्तर्गत अनुगमन उपसमितिको टोलीमा सहभागी भई ओखलढुंगा जान लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।