आजदेखि गैरआवासीय नेपाली सङ्घको विश्व सम्मेलन शुरु

आजदेखि गैरआवासीय नेपाली सङ्घको विश्व सम्मेलन शुरु


नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आज (२८ असोज, मङ्गलबार)देखि काठमाडौंमा शुरु हुँदैछ । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा विश्व सम्मेलन हुँदै छ ।

गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष कुमार पन्तले सम्मेलनको सबै तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । नेपालको विकास निर्माणमा सङ्घले खेल्ने भूमिकामा केन्द्रित रहने दाबी गरिएको सम्मेलन राजधानीको होटल ह््यातमा आयोजना हुँदैछ । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने कार्यक्रम छ ।

सम्मेलनमा सरकार, राजनीतिक दल, उद्यमी व्यवसायी र सङ्घलाई एकै ठाउँमा सहभागिता गराई मुलुकको आर्थिक विकासमा छलफल गरिनेसमेत बताइएको छ ।

नेपालको आर्थिक उन्नतिका लागि सङ्घका सदस्यले सिकेको ज्ञान, सीप र प्रविधिलाई भित्र्याउन सङ्घ प्रतिबद्ध रहेको धारणा उपाध्यक्ष पन्तले राखेका छन् भने सङ्घका अध्यक्ष भवन भट्टले सम्मेलनमा मुलुकको समृद्धिको यात्रामा दिशा निर्देशन हुने एजेण्डामा छलफल गरिने बताएका छन् ।

८१ मुलुकका करीब दुई हजार ५०० सहभागी उपस्थित हुने सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न ऊर्जा प्रदान गर्दै ‘नेपालका लागि नेपाल’ भन्ने मूल मन्त्रलाई सार्थक बनाउने विश्वास व्यक्त गरिएको छ ।

यही असोज ३० गतेसम्म सञ्चालन हुने सम्मेलनमा मुलुकको आर्थिक विकासमा सङ्घको भूमिकालगायत विभिन्न सात शीर्षकमा छलफलसमेत हुने बताइएको छ ।

सम्पन्न हुँदै गरेको महाधिवेशनले सङ्घको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने जनाएको छ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच तीव्र प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुने गर्दछ । कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुने जनाइएको छ ।