अन्तरराष्ट्रिय क्रस कन्ट्री दौडमा २७ टोलीको सहभागिता

अन्तरराष्ट्रिय क्रस कन्ट्री दौडमा २७ टोलीको सहभागिता


पोखरामा यही असोज २९ गते (९अक्टोबर १६) मा हुने अन्तरराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिताका लागि सबै तयारी पूरा गरिएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन (केएमइए)को संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा टिम इभेन्टमा नेपाल र चीनका गरी २७ टोलीको सहभागिता रहने छ ।

प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेका अनुसार टिम इभेन्टमा नेपालका तीन विभागीय टोली तथा काठमाडौं, सुदूरपश्चिम र पोखरासहित २५ टोली र तथा चीनबाट दुई टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगिताका लागि चीनका दुई टोली तथा नेपालका टोली पोखरा आइपुगेको र व्यवस्थापकीय, सुरक्षालगायत सम्पूर्ण तयारी सकिएको उनले जानकारी दिए।

व्यक्तिगत प्रतिष्पर्धामा भने चीनका ३० धावकको सहभागिता रहने छ भने टिम इभेन्टका लागि प्रत्येक टोलीमा तीन खेलाडी रहने छन् । एकसय पाँच खेलाडीको सहभागिता रहने सो प्रतियोगिताका लागि पोखरा महानगरपालिका र चीनको कुन्मिङ महानगरपालिकाले संरक्षकत्व प्रदान गरेका छन् भने विभिन्न सङ्घसंस्थाले सहकार्य गरेका छन् । दौड पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट बिहान ९ बजे शुरू हुने बताइएको छ । दौडको दूरी २२ किमी, साइक्लिङ १९ किमी र फेवातालमा एक दशमलव दुई किमी ‘बोटिङ’ रहेको प्रतियोगिताका प्राविधिक संयोजक यामबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार व्यक्तिगत प्रतिष्पर्धामा भने ४० किमीको दौडमात्र रहेको र दौडका क्रममा धावकहरु एक हजार ३०० मिटर उचाइको मट्टिखान तथा पुम्दीभुम्दीसम्म पुग्नेछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले ट्रफी र मेडल पाउनाका साथै चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउनेछन् । कार्यक्रमलाई चिनियाँ टेलिभिजन तथा पत्रपत्रिकामासमेत महत्वका साथ प्रचारप्रसार गराउने लक्ष्य रहेकाले यसबाट चिनियाँ बजारमा नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास आयोजकको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले हालै नेपाल भ्रमणको क्रममा यहाँको पर्यटन प्रवर्द्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेको सन्दर्भमा दौडले अझ ठूलो महत्व राख्ने पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारी बताउँछन् ।

नेपाल भ्रमण वर्ष २०२० तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक ल्याउने सरकारी योजनालाई सफल बनाउन प्रतियोगिताले मद्दत पुऱ्याउने र पर्यटकको बसाई लम्ब्याउन सहयोगी हुने उनको भनाइ थियो ।

प्रतियोगिता सम्पन्न गर्न रु ३४ लाख ६० हजार खर्च लाग्ने अनुमान आयोजकको छ ।