थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज अब नेपालमै

थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज अब नेपालमै


मानव शरीरलाई घात गर्ने तत्व (एन्टिबडी) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया अब नेपालमै सम्भव भएको छ । नेपाल मेडिसिटी अस्पतालले मिर्गौला, मुटु र फोक्सोमा समस्या देखिएका एक ३३ वर्षीय पुरुष बिरामीको सफल उपचार गरेपछि यो उपचार प्रक्रिया सम्भव देखिएको हो ।

रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करीब दुई घण्टा लागेको बताइन्छ । मिर्गौला, छाती, मस्तिष्क, नशा, फोक्सो, सेप्सिस, इन्डोक्राइनका बिरामी केही हदसम्म अब यो आधुनिक पद्धतिबाट लाभान्वित हुने सो अस्पतालका सघन उपचारकक्ष विभाग प्रमुख डा. दिप्तेश अर्यालले जनाएका छन् ।

डा. अर्यालका अनुसार नवीनतम उपकरणको सहायताबाट मानव शरीरलाई नचाहिने रगतलाई छानेर बाहिर निकालिनेछ । त्यसबाट बिरामीले छिटो र सुलभ उपचार सेवा प्राप्त गर्नेछन् । यो प्रविधिको प्रयोगबाट उपचार गरिँदा औषधिको तुलनामा निकै कम खर्चिलो र बिरामीका लागि निकै लाभदायक हुने उनको भनाई छ ।

बताइएनुसार उक्त अस्पतालमा सफल भएको थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज कम्तीमा तीनदेखि पाँचपटकसम्म गर्नुपर्ने हुन्छ । औषधिको प्रयोगभन्दा यो प्रविधिबाट उपचार गराउँदा बिरामीलाई लाग्दै आएको आर्थिक भारमा आधा कम हुने पनि डा अर्यालले जानकारी दिए ।