गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड

गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड


सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरिएको छ । अस्पतालका चिकित्सकहरू समयमै आफ्नो ड्युटीमा नबसेको भन्दै बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । तोडफोडबाट बिरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी विशेषज्ञ डा ज्ञानेन्द्र झा र डा प्रनेश यादव समयमा अस्पताल नआएपछि आक्रोशित बन्न पुगेका बिरामीका आफन्तले तोडफोड गरेको अस्पतालसम्बद्ध सुत्रको भनाई छ ।

अस्पताल प्रशासनले डा. झा बिदामा रहेको र अर्का डा यादव आपत्कालीन कक्षमा बिरामीको उपचार गरिरहेका बेला तोडफोड भएको भन्दै प्रष्टिकरण दिएको छ ।

तोडफोडमा संलग्न भएको आरोपमा राजविराज नगरपालिका–१ का २२ वर्षीय गुञ्जन झालाई पक्राउ गरेको स्थानीय प्रहरीले जनाएको छ ।