पूर्वकप्तान सौरभ गांगुली बीसीसीआई अध्यक्ष बन्दै

पूर्वकप्तान सौरभ गांगुली बीसीसीआई अध्यक्ष बन्दै


भारतीय राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सौरभ गांगुली बीसीसीआई अध्यक्ष बन्ने सम्भावना बढेको छ । अध्यक्ष पदको लागि नामाङ्कन भर्न गांगुली मुम्बई पुगेपछि यस्तो अडकल काटिएको हो । विभिन्न समीकरणहरुलाई मध्यनजर गर्दा यतिबेला गांगुली अध्यक्ष बन्ने नै देखिएको सम्बद्ध क्षेत्रमा चर्चा छ ।

वर्तमान अवस्थामा सौरभ गांगुली बंगाल क्रिकेट संघका अध्यक्ष छन् । उनी हालै यो पदमा दोश्रोपटक चुनिएका हुन् । गांगुली पुनः बंगाल क्रिकेट संघको अध्यक्षमा चुनिएपछि बीसीसीआईको अध्यक्षमा बृजेश पटेलको नाम अग्रपङ्क्तिमा आएको थियो । तर अन्तिम समयमा आपसी समझदारी भएपछि गांगुलीको नाममा सहमति भएको थियो ।

आफु निर्विरोध बीसीसीआईको अध्यक्ष बन्ने भएपछि गांगुलीले खुशी व्यक्त गर्दै सर्वप्रथम आफुले प्रथम श्रेणीको क्रिकेटलाई विशेष प्राथमिकतामा राख्ने बताएका छन् । साथै पछिल्लो तीन वर्ष बोर्डको कार्यसम्पादन उत्साहजनक नरहेको र आफुलाई यसलाई राम्रो बनाउन अवसर प्राप्त भएको पनि उनले बताएका छन् ।

गांगुली बीसीसीआई अध्यक्ष बनेमा भारतीय क्रिकेट टीमका प्रमुख प्रशिक्षक रवि शास्त्रीको भविष्य के होला, यो अहिले चर्चाको विषय बनेको छ । भारतीय क्रिकेटमा गांगुली र शास्त्रीको सम्बन्ध राम्रो छैन ।

गांगुली सल्लाहकार समितिको सदस्य हुँदा रविको विकल्पमा अनिल कुम्बलेलाई गांगुलीले प्रशिक्षकको लागि सिफारिस गरेका थिए । यो घटनापछि दुईबीच सम्बन्ध बिग्रिएको थियो । त्यसपछि एकले अर्काको उछितो काड्दै आएका छन् । केही समयपहिले शास्त्रीले गांगुलीको विरुद्धमा बक्तव्यवाजीसमेत गरेका थिए ।

अहिले भारतीय क्रिकेटमा कप्तान विराट कोहली र रवि शास्त्रीको सम्बन्ध एकदमै राम्रो छ । यदि गांगुली बीसीसीआईको अध्यक्ष बने कोहली र शास्त्रीको सम्बन्धले निरन्तरता पाउला कि सम्बन्धमा पूर्णविराम लाग्ला– प्रतीक्षाको विषय बनेको छ ।