हागिबिसका कारण जापानमा १९ को मृत्यु, १६ बेपत्ता, सयौँ घाइते

हागिबिसका कारण जापानमा १९ को मृत्यु, १६ बेपत्ता, सयौँ घाइते


■ श्याम क्षेत्री,टोकियो

जापानमा आएको शक्तिशाली ताइफु हागिबिसका कारण ज्यान गुमाउनेहरुको संख्या १९ पुगेको छ । ताइफुकै कारण १६ जना बेपत्ता भएका छन् भने देशभर १०० जना भन्दा धेरै घाइते भएको उद्धारकर्ता र आधिकारिक निकायहरुलाई उद्धृत गर्दै समाचार संस्था क्योदोले बताएको छ ।

ताइफुसँगै आएको भारी वर्षाले गर्दा नदिहरुमा पानीको बहाव बढेसँगै धेरै क्षेत्रहरु डुबानमा परेका छन् । बाढी र पहिरोको चपेटामा परेका मध्य, पूर्वी र उत्तरपश्चिम क्षेत्रमा उद्धार कार्य भइरहेको छ ।

चिकुमा नदीको किनार भत्किँदा मध्यजापानको शहर नागानो सबैभन्दा धेरै प्रभावित भएको छ । नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँको केही स्थान भने बाढीको पानीले ५ मिटरसम्म डुबेको बताइएको छ।

भू, पूर्वाधार, यातायात तथा पयर्टन मन्त्रालयका अनुसार नौ प्रिफेक्चरमा कम्तिमा पनि ३३ ओटा पहिरो र भूस्खलन भएको छ । विभिन्न स्थानमा गरेर ६० लाखभन्दा बढि मानिसहरुलाई सुरक्षित स्थानमा जान सुझाव दिइएको थियो ।

टोकियो, गुन्मा, साइतामा, कानागावा, यामानाशी, नागानो, शिजुओका, निगाता, फुकुशिमा, तोचिगी, इबाराकी, मियागी र इवाटे पिफेक्चरमा जापानको मौसम विभागले ५ स्केलमध्ये उच्चतम् चेतावनी जारी गरेको थियो ।

ताइफुले सबैभन्दा धेरै क्षति पुऱ्याएको इचिहारा, चिबा प्रिफेक्चरका केही स्थानमा १२ घरहरु क्षतविक्षत भएका छन् भने ७० भन्दा धेरै घरमा आंशिक क्षति पुगेको छ ।

सरकारले राहत तथा उद्दारका लागि सबै संयन्त्रहरु खटाएको छ । प्रभावित सबै क्षेत्रहरुमा विहानैदेखि उद्दारकार्य जारी छ ।