‘भूपरिवेष्ठित’ नेपाललाई ‘भूजडित’ बनाउन चीनले सघाउने राष्ट्रपति सीको प्रतिबद्धता

‘भूपरिवेष्ठित’ नेपाललाई ‘भूजडित’ बनाउन चीनले सघाउने राष्ट्रपति सीको प्रतिबद्धता


नेपालको दुई दिवसीय भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरूलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताउनुभएको छ । उहाँको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ होटल सोल्टीमा आयोजना गर्नुभएको राजकीय भोजमा उहाँले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको अभिव्यक्ति दिनुभयो । नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उहाँले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गर्नुभयो ।

‘हामीबीचको आधा शताब्दीभन्दा बढीको सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ’, राष्ट्रपति सीले भन्नुभयो । चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारी र आफू विकासका चुनौतीलाई सामना गर्दै अघि बढिरहेको उल्लेख गर्दै भन्नुभयो, ‘भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ । बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ । भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि हुनेछ ।’

शैक्षिक क्षेत्रमा लगानी बढाउने, बढीभन्दा बढी चिनियाँलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने र जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले हाम्रो साझा गृह पृथ्वीको रक्षा र सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्न पनि सघाइने दृढता व्यक्त गर्नुभयो । विकास निर्माणका निम्ति हामीले तयार पारेका योजना र खाकालाई कार्यान्वयन गरेरै छाड्ने दृढता उहाँले व्यक्त गर्नुभयो । आइतबार आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पारस्परिक हित र साझा चासोका विषयहरूमा विचार आदानप्रदान गर्ने पनि उहाँले जानकारी दिनुभयो ।


pict:rss