हागीबिसले सिजुओखा क्षेत्रलाई तुल्यायो अस्तव्यस्त

हागीबिसले सिजुओखा क्षेत्रलाई तुल्यायो अस्तव्यस्त


■ श्याम क्षेत्री, टोकियो (जापान)

जापानमा दशकौँयताको ठूलो बिनासकारी ताईफु हागीबिसले सिजुओखा क्षेत्रलाई अस्तव्यस्त बनाएको छ।

जापानी समयअनुसार शनिबार साँझ ६ बजेर ४५ मिनेटसम्ममा चिबा प्रिफेक्चरमा एकजनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । गुन्मा र शिजुओखा प्रिफेक्चरमा गरेर ४ जना सम्पर्कविहीन बनेका छन् ।

शिजुओखा, गुन्मा लगायत क्षेत्रमा गरेर ५० बढी व्यक्ति घाइते भएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जापानी समाचार संस्था एनएचके टेलिभिजनले उल्लेख गरेको छ ।

जापानी समयअनुसार साँझ ६ बजेपछि गुन्मा, शिजुओखा क्षेत्रबाट बिनासकारी ताईफुले टोकियो क्षेत्रमा असर थालेको छ ।
७ बजे भारी वर्षासहित तीव्र गतिको हावा चल्न सुरु गरेको टोकियो, साईतामा, गुन्मा, यामानासी र नागानो क्षेत्रमा उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न मौसम अधिकारीहरुले सूचना जारी गरेका छन् ।

अधिकारीहरुले खतराको उच्च स्तरमध्ये सबैभन्दा बढी पाँचको स्तरमा खतरा रहेको बताउँदै भारी वर्षाका कारण बाढी र पहिरो सुरु भएको बताएका छन् ।

खोला तथा समुन्द्र किनारसहित पोखरी र तलाउ भएका क्षेत्रमा पानी खतराको स्तरमा पुगेकाले बस्ती क्षेत्रमा पस्न सुरु गरेको बताउँदै मौसम अधिकारीहरुले अत्यावश्यक वस्तु साथमा राखेर सुरक्षित स्थानमा रहन भनेका छन् ।

गुन्मा, चिबा, सिजुओखा क्षेत्रको अधिकांश ठाउँमा आपतकालीन सुरक्षित ठाउँमा जान स्थानीय वासिन्दालाई सूचना जारी गरिएको छ ।

ताईफु हागीबिस अघि बढ्दै गरेको क्षेत्रमा आइतबार अपरान्हसम्म प्रत्यक्ष असर पर्ने र त्यसको प्रभावले भोली दिनभरजसो सबै क्षेत्र प्रभावित हुने भएकाले कम्तीमा ४८ घण्टाको तयारी गरेर अत्यावश्यक वस्तुहरु तयारी अवस्थामा राख्न सरकारी अधिकारीहरुले अनुरोध गरेका छन् ।

फुकुसीमा, गुन्मा, साईतामा, चिबा, टोकियो, कानागावा, यामानासी, नागानो, सिजुओखा र माए गरी १० वटा प्रिफेक्चरमा गरेर ६ लाख १९ हजार घरहरु हागीबिस ताईफुले निम्त्याउने बाढी, पहिरोलगायत असरको उच्च खतरामा रहेको अधिकारीहरुले बताएका छन् ।

सम्भावित जोखिमका क्षेत्रमा माइकिङ गरेर सुरक्षित आश्रय स्थलमा गएर बस्न अनुरोध भइरहेको र चिबा, गुन्माकेनसहित सिजुओखामा दर्जन बढी घरहरुमा ताईफुले क्षति पारिसकेको विवरण जापानी टेलिभिजनहरुले प्रशारण गरिरहेका छन् ।

करिव १ लाख घरहरुमा विद्युत् आपुर्ति अवरोध भइसकेको र यो संख्या बढ्दो क्रममा रहेकाले विद्युतीय सामग्रीहरु चार्ज गरेर राख्न सूचनामार्फत अधिकारीहरुले आग्रह गरेका छन् । कान्तो क्षेत्रमा मात्रै शनिबार साँझ ६ बजेसम्ममा ३० हजार घर विद्युतविहीन बनेका छन् ।

खोला तथा समुन्द्र किनार क्षेत्रमा बाढी पस्न सुरु भएको र अन्य स्थानमा लगातारको वर्षाले जलमग्न हुन थालेको भन्दै जोखिमका क्षेत्रमा तल्लो तलामा रहेका वासिन्दालाई आफ्ना महत्वपूर्ण सामान माथिल्लो तल्लामा लैजान भनिएको छ ।

ताईफुको चपेटाकै बीच चिबा र टोकियो क्षेत्रलाई हल्लाउँदै शनिबार साँझ भूकम्प गएको छ ।

५.७ रेक्टर स्केलको भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भएपनि ताईफुबाट जोगिएर घरभित्र रहेकाहरु भूकम्पको त्रासमा परेका थिए ।