शीतल निवासमा राष्ट्रपतिद्वयबीच भेटवार्ता

शीतल निवासमा राष्ट्रपतिद्वयबीच भेटवार्ता


राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता प्रारम्भ भएको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भइरहेको छ ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा यहाँ आइपुग्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको द्विदिवसीय भ्रमणमा रहनुभएका राष्ट्रपति सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो ।

आज अपराह्न विशेष विमानबाट काठमाडौं अवतरण गर्नुभएका राष्ट्रपति सीको स्वागत तथा सम्मानमा नेपालका विभिन्न जातजाति तथा संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। उहाँको सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष, सिनामङ्गल, तीनकुने, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोडलगायत स्थानमा झाँकी प्रदर्शन गरिएको थियो ।

यसैगरी राष्ट्रपति सीको सम्मानमा होटल सोल्टीमा विशेष सांस्कतिक प्रस्तुति तथा नेपाली र चिनियाँ नृत्य प्रस्तुत गरिने कार्यक्रम छ । उक्त सांस्कृतिक प्रस्तुतिमा २५ कलाकारको सहभागिता रहने राससले जनाएको छ ।

विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको थियो । विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका सर्वसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए । विशेषगरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि राष्ट्रपतिको आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिँगारिएको थियो । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।

चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले आजै साँझ राजकीय भोजको आयोजना गर्दै हुनुहुन्छ । तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो ।

pict:rss