ओमानमा प्रदर्शन हुँदै ‘ए मेरो हजूर ३’

ओमानमा प्रदर्शन हुँदै ‘ए मेरो हजूर ३’


■ आरके श्रीवास्तव, ओमान

झरना थापाको निर्देशन, सुनिल थापाद्वारा निर्मित र सुहाना इन्टरटेनमेन्टको प्रस्तुति ‘ए मेरो हजूर ३’ ओमानमा भव्य प्रदर्शन हुन गइरहेको छ । नम्रता झा र राजकुमार न्यौपानेको व्यवस्थापन मा आउँदो अक्टोबर १८ तारिक सन २०१९ शुक्रबारका दिन राजधानी मस्कटस्थित लुनार सिनेमा हल अल कुरूममा उक्त चलचित्र प्रदर्शनको तयारी गरिएको हो।

चलचित्र प्रदर्शनको अवसरमा ‘ए मेरो हजूर ३’ का कलाकारहरू निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा, सुहाना थापा तथा अन्य सेलिब्रेटीहरू पनि उपस्थित रहने र दर्शकहरुसँग प्रत्यक्ष भलाकुसारी गर्ने बुझिएको छ ।

सिनेमा प्रदर्शन कार्यक्रममा प्रमुख अतिथिको रुपमा चाहिँ ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाललाई आमन्त्रण गरिएको कार्यक्रम व्यवस्थापक नम्रता झाले जानकारी दिइन्। नेपाली कलाकारहरुको साथमा फिल्म हेर्ने अवसर नछुटाउन उनले ओमनवासी नेपाली सबैलाई आग्रह गरेकी छन् ।

सो चलचित्रमा मेगा स्टार अनमोल केसी, अर्पण थापा, सालोन बस्नेत, रबिन्द्र झा, रूपा घिसिङ, रक्षा गौतमसहित अन्य कलाकारहरूले अभिनय गरेका छन्। १८ अक्टोबर २०१९ का दिन दिउँसो २ बजे चलचित्र प्रदर्शन हुनुभन्दा अगाडि फिल्मका कलाकारहरुका साथमा मिट एण्ड ग्रिट कार्यक्रम रहेको अर्का व्यवस्थापक न्यौपानेले बताए ।

उनका अनुसार इच्छुक नेपाली चलचलचित्रप्रेमी दर्शकका लागि टिकट बुकिङ सुरू गरिएको छ । चलचित्र प्रदर्शन भव्य रूपमा सफल पारिदिन सम्बद्ध व्यवस्थापकहरुले अनुरोधसहित चुल्है निम्तो दिएका छन् ।